पृथ्वीनारायण नै नेपाल एकीकरण अभियान थालनी गर्ने निर्विवाद अभियन्ता हुन

-महेश्वर श्रेष्ठ

पृथ्वीनारायण शाह र नेपालको एकीकरण

इतिहासमा घटेका विशेष परिघटनालाई आफू अनुकुल भएमा भए नभएका फूलबुट्टा भरेर स्तुती प्रसस्ती गाउनु, आफू प्रतिकुल भएमा भए नभएको लान्छना लगाएर विरोध मात्र गर्नु दुबै अतिवादी सोच हो। यस्तो अतरिवादी सोच देश र समाजका लागि घातक हुन्छ। यस्तो अतिवादी घातक सोच र प्रवृत्तिले इतिहासको सहि बुझाई र व्याख्या हुन सक्दैन। इतिहासको गलत बुझाई र व्याख्याले भावी सन्ततीलाई सहि मार्गदर्शन गर्नुको सट्टा गलत बाटो तिर डोर्‍याउने काम गर्छ।

उनले थालेको अभियानको फल स्वरुप आज संसारलाई म नेपाली हुँ भनेर चिनाउन पाएको छु, मेची-महाकालीलाई मेरा सिमाना नदी हुन् भन्न पाएको छु, विश्वको सर्वोच्च शीखर सगरमाथा मेरो हो भन्न पाएको छु, बुद्ध र सीतालाई नेपालमा जन्मेको भनेर गर्व गर्न पाएको छु । आफ्नै गोरखा राज्यलाई समेत गाभेर वृहत्तर नेपाल निर्माणको थालनी गर्ने राजा पृथ्वीनारायण नै हुन् | नेपाल राष्ट्रको निर्माता को हुन् भनी स्वदेशी-विदेशीले सोधे भने हामीले बिना हिचकिचाहट सर्वप्रथम पृथ्वीनारायण नै हुन् भन्नुपर्ने कुरा इतिहासले बताएको छ |

पृथ्विनारायण शाहले आफ्नो जीवनकालमा कहिं, कतै, कहिल्यै नेपाल एकीकरण गर्ने भनेको कुरा इतिहासमा भेटिंदैन। उनको देहान्त पछि संकलित दिव्योपदेशमा पनि नेपालको एकीकरण गर्ने भन्ने बारे कहिं कतै केहि उल्लेख गरिएको पाइंदैन। उनको मुल उद्देश्य गोरखा राज्यको सिमा विस्तार गर्दै त्यस बेलाको धनधान्यले पूर्ण समृद्ध नेपाल समेतको राजा बन्ने र आफूले जितेका भूभागलाई “असली हिन्दुस्तान” बनाउने भन्ने नै थियो जुन इतिहासका पानामा ठाउं ठाउंमा उल्लेख छ।

तर सर्वसाधारण जनताको जीवन यापन दुरुह पारेर संधै कुकुर विरालो जस्तै आपसमा लडिरहने भुरे-टाकुरे ऐयासी युद्ध सरदार रजौटाहरुलाई हराई उनीहरुको राज्य हडपेर पृथ्वीनारायण शाहले गरेको गोरखा राज्यको सिमा विस्तार अभियानले प्रकारान्तरमा नेपालको भौगोलिक एकीकरणको रुप लिन पुगेको कुरा घामको उज्यालो जतिकै निर्विवाद सत्य हो।

सत्य यो पनि हो कि पृथ्वीनारायण शाहले गरेको गोरखा राज्य विस्तार हिंसाबाटै गरेका थिए अर्थात अरु राज्यका शासक एवं सेनालाई मारेर तथा तिनका राज्य हडपेरै गरेका थिए। उनको त्यो कार्यलाई अरु शव्दमा व्यक्त गर्नै मिल्दैन, सकिंदैन। तर एकातर्फ सम्पूर्ण एसिया महादेशकै हजारौं साना ठूला भुरे-टाकुरे रजौटाहरु आपसमा लडाईं लडेर एक अर्काको राज्य हडप्ने लुछाचुंडीको संस्कार उत्कर्षमा पुगिरहेको अवस्था र अर्को तर्फ युरोपियन शक्तिहरुले उनीहरुलाई आपसमा लडाई आआफ्नो उपनिवेश कायम र विस्तार गरिरहेको विषम परिस्थितिमा कुनै एक शासकले अर्को कुनै शासकलाई अनुनय विनय ज्ञानअर्ति सहित प्रस्ताव गरेर राज्य विस्तार वा एकीकरण गर्न सकिने अवस्था नै थिएन। [highlight]त्यसैले युद्धबाटै कुनै पनि कुराको अन्तिम छिनोफानो हुने त्यस बेलाको विश्वकै महौललाई मध्ये नजर राख्दा विजयको उन्मादमा गोरखाली सेनाले कतिपय विजित राज्यका शासक, सेना र सर्वसाधारण उपर समेत गरेको केहि अमानवीय ज्यादती बाहेक राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहबाट भएको हिंसाको प्रयोगलाई अस्वाभाविक भन्न मिल्दैन। त्यसैले जुनसुकै तरिकाले भए पनि अन्तत: नेपालको भौगोलिक एकीकरण भएको छ र यो नै सर्वाधिक महत्वको विषय हो। [/highlight] पृथ्वीनारायण शाह र उनका सन्ततीले आफूले जितेका भूभागलाई कहिल्यै गोरखा अधिनस्थ भनेनन। गोरखा लगायत आफूले जितेका सबै भूभागलाई नेपाल नै भने, नेपालकै अभिन्न अंग माने। यस अर्थमा पनि उनीहरुको राज्यसिमा विस्तारलाई नेपालकै भौगोलिक एकीकरण र सिमाना विस्तार मान्नु पर्छ र पृथ्वीनारायण शाहलाई नेपालको भौगोलिक एकीकरण अभियान थालनी गर्ने निर्विवाद अभियन्ता मान्नु पर्छ।

हो, नेपालको भौगोलिक एकीकरण भएको छ तर नेपाललाई पृथ्वीनारायण शाह स्वयमले चार वर्ण छत्तिस जातको सुन्दर फूलबारी भनेर गए तापनि उनी पछिका शासकहरुको विभेदकारी नीतिका कारणं आजसम्म पनि नेपालका सबै जातजाति समुदायका सम्पूर्ण नेपालीहरु बिच भावनात्मक एकीकरण हुन सकेको छैन। यसले उनीहरुको राष्ट्रिय एकताको भावनालाई कमजोर बनाउने र देशलाई आर्थिक अधोगति तर्फ धकेल्ने काम गरिरहेको अवस्था छ। तसर्थ राज्य पुन:संरचनाको प्रकिया चलिरहेको अहिलेको अवस्थामा कति वटा र कत्रो प्रदेश बनाउने भनेर सिमांकन बारे बहस र विवाद गरिरहनु भन्दा सुन्दर फूलबारी रुपी नेपालमा सबै प्रकारका फूलहरुलाई यथोचित मलजल र स्याहार सहित फल्न फूल्न पाउने अवसर कसरी प्रदान गर्ने अर्थात बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश नेपालका सबै जातजाति समुदायलाई राज्यसत्तामा सहज पहुंच र उनीहरुको पहिचान रक्षाको ग्यारेन्टी हुने राज्य व्यवस्था कसरि गर्ने भन्ने तर्फ नेपालका सबै राजनीतिक शक्ति र सचेत नागरिकहरु जिम्मेवारीका साथ लाग्नु पर्ने अत्यन्त जरुरी भएको छ।

यसका लागि प्रत्यक्ष निर्वाचित गैरभौगोलिक अर्थात गैरप्रादेशिक जातीय संघियता र स्वशासन नै एक मात्र अचूक उपाय हो भन्ने पंक्तिकारको विश्वास छ जसले देश माथि सबै जातजाति समुदायको साझा स्वामित्व कायम गर्छ, सबैमा सिंगो देश मेरै हो हाम्रै हो भन्ने सच्चा अपनत्व जगाउंछ, सबै जातजाति समुदाय बिच भातृत्वभाव विकास भई आपसी मनमुटाव र वैमनष्य अन्त्य हुन्छ, सामाजिक सदभाव र राष्ट्रिय एकताको भावना मजबुत हुन्छ। तब मात्र नेपालको एकीकरण अभियानले सांचो अर्थमा पूर्णता पाएको ठहरिने छ र उक्त पूर्णता प्राप्त गर्ने अभियानमा लाग्न सक्नु नै नेपालको भौगोलिक एकीकरण अभियानका शुरुआतकर्ता पृथ्वीनारायण शाह प्रति सच्चा श्रद्धाञ्जली हुनेछ। यस्तो भावना सबैमा जागोस भन्ने कामना सहित आज २०७३ साल पौष २७ गते उनको २९४ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको पुनित अवसरमा उनी प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

-ललितपुर
२७ पुष २०७३

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu