३00 को लोभले लाखौ जाला है ! बेलैमा मृगौलाको ख्याल गरौ स्वस्थ रहौ

स्वास्थ्यप्रतिको हेल्चेक्राइले मृगौला रोगीहरुको संख्या बढ्दो

 

आधुनिक जीवनशैली, खानपान, व्यस्तता, तनाव आदिका कारण सृजना हुने विभिन्न ‘रिस्क फ्याक्टर’ले मृगौला फेल हुनेहरूको सख्या बढ्दै गएको पाइएको छ । यही कारण पछिल्ला दिनमा खाँडी राष्ट्रमा काम गर्न गएका नेपाली युवाहरू मृगौलाले काम गर्न छाडेर फर्किने क्रम पनि बढ्दो छ । तर चिकित्सकहरुका अनुसार दुई तीन सय रुपैयाँ खर्च गरेर वर्षको एकपटक स्वास्थ्य परीक्षण, पिसाब तथा रगतको परीक्षण गरेर हामीले हाम्रो किड्नी जोगाइराख्न सक्छौं ।

 नारायणप्रसाद शर्मा , पर्वत कुस्माबजार घर भएका यिनी अहिले राष्ट्रिय मृगौला उपचार केन्द्र धाउँदैछन् । सामान्य खर्च गरेर परीक्षण गर्न सकिने पिसाबमा प्रोटिन र रगतमा क्रियाटिनिनको जाँच र वर्षमा एकपटक भिडियो एक्सरे गराई समयमै मृगौला खराब हुन लागेको पहिचान गर्न सकेको भए अहिले यसरी दुख पाउँने थिइनँ भन्ने पछुतो छ उनलाई ।

नारायणप्रसादको यो भनाईले आफ्नो स्वास्थ्यप्रति सचेत नहुँने र बिरामी भएपछि मात्र अस्पताल जाने हाम्रो बानीले गर्दा शरीरको महत्वपूर्ण अंग किड्नी थाहै नपाई गुमाइरहेको तथ्यप्रति हामीलाई सचेत गराउँदछ । शरीरको महत्वपूर्ण अङ्ग मृगौलाले काम गर्न छोडेपछि उपचार जति महँगो र झन्झटिलो छ त्यो भन्दा धेरै गुणा सजिलो छ यसको पहिचान र समयमै उपचार ।

सामान्य परीक्षणले मृगौलाको अवस्था थाहा हुने र समयमै उपचार हुने भएपनि स्वास्थ्यप्रतिको हेलचेक्राइले गर्दा मृगौला रोगीको संख्या भने दिनानुदिन बढ्दो छ । चिकित्सकहरूका अनुसार आफूखुसी र जथाभावी रूपमा एन्टिबायोटिक र पेन किलर औषधिको प्रयोगले पनि मृगौला खराब हुने क्रम बढाउँदै लगेको छ । नियमित व्यायाम, खानपानमा बिशेष ध्यान, शरीरमा तौल र रक्तचापको नियन्त्रणले पनि मृगौला जोगाउन ठूलो भूमिका खेल्दछ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभर १० प्रतिशत मानिस मृगौला सम्बन्धी समस्याबाट ग्रस्त छन् । सोही आँकडालाई आधार मान्ने हो भने, नेपालमा पनि करिब २७ लाखलाई मृगौला सम्बन्धी कुनै न कुनै समस्या भएको अनुमान गर्न सकिन्छ । तीमध्ये १० प्रतिशत अर्थात् दुई लाख ७० हजारको मृगौला बिग्रिने गरेको छ भने प्रत्येक वर्ष दुई हजार सात सयको मृगौला पूर्ण रूपमा फेल हुने गरेको छ ।

मृगौलाले विकारहरूलाई पिसाबको माध्यमबाट फाल्छ भने, लवणहरू सोडियम, पोटासियम, क्याल्सियम, फोस्फोरस जस्ता तत्वलाई मिलाउने काम गर्दछ,जुन हाम्रो शरीरका प्रत्येक कोषका लागि महत्वपूर्ण छ । चिकित्सकहरूका अनुसार शरीरका दुईवटा मृगौलाले संयुक्त रूपमा दिनभरमा लगभग १८० लिटरभन्दा बढी रगत फिल्टर गर्ने काम गर्छन् । त्यसमध्ये डेढदेखि दुई लिटर मात्रै पिसाबका रूपमा बाहिर फाल्ने काम हुन्छ र बाँकी १७८ लिटर रगत तथा पानीले शरीरमै फैलाउँछ । यति धेरै काम गर्ने किड्नी स्वास्थ राख्न व्यक्ति आफैं सचेत बन्नुपर्ने राष्ट्रिय मृगौला उपचार सेन्टरका वरिष्ठ चिकित्सक ऋषिकुमार काफ्लेको सुझाव छ ।

चिकित्सकहरूका अनुसार वर्षमा एकपटक मृगौलाको जाँच गर्नु अनिवार्य छ । त्यसदेखि बाहेक मृगौलालाई चाहिने आवश्यक मात्रामा पानी पिउने गर्नुपर्दछ । एक व्यक्तिले सामान्यतः दैनिक अढाईदेखि तीन लिटरसम्म पिसाब हुनेगरी पानी पिउनु चिकित्सकहरुको सुझाव पर्छ । नेपालमा सामान्यतया मृगौला प्रत्यारोपणका लागि साढे तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुन्छ ।

तर, प्रत्यारोपणका लागि मृगौला दाता आफ्नो नजिककै नाताबाट हुनुपर्ने भएकोले यो त्यति सहज काम होइन । प्रत्यारोपण गरिसकेपछि खाने औषधि र प्रत्यारोपणअघिको डायलासिस गर्न सामान्य नेपालीको कमाइले धान्न सक्दैन । त्यसैले थोरै पैसा खर्च गरेर हुने स्वास्थ्य परीक्षणबाट आफ्नो शरीरको महत्पूर्ण अंग किड्नीबारे बेलैमा अपडेट भैरहनु बढी बुद्दिमता ठहरिन्छ ।
-रिया भण्डारी/न्युज24बाट

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu