तोडियो गङनम स्टाइलको रेकर्ड, ‘सी यु अगेन’ युट्युबमा सबैभन्दै धेरै हेरिएको भिडियो बन्यो

असार २८ – पार्क जी साङ (पिएसवाइ)को गङनम स्टाइललाई पछि पार्दै विज खलिफा र चार्ली पथको ‘सी यु अगेन’ युट्युबमा सर्वाधिक हेरिने भिडियो भएको छ ।
सन् २०१५को अप्रिलमा अपलोड भएको यस भिडियोलाई २ अर्ब ९० करोड पटकभन्दा बढी हेरिएको छ । सन् २०१२ को नोभेम्बरमा जस्टिन बिबरको बेबीलाई उछिन्दै कोरियन पपस्टार साइको गीतले सर्वाधिक हेरिने गीतमा पाँच वर्ष राज गरेको थियो ।

गङनम स्टाइलले युट्युबमा रिलिज भएको पाँचौ वर्षगाँठ मनाउन एक दिन मात्र बाँकी भएको अवस्थामा ‘सी यु अगेन’ ले रेकर्ड तोडिदिएको हो । सी यु अगेन यो वर्षमात्रै हरेक दिन ३० लाखभन्दा बढी पटक हेरिएको छ । खलिफाले गीतले पाएको सफलताबारे प्रतिक्रिया दिँदै आफू निकै नै उत्साहित भएको बताए ।

चार्ली पथले सबैभन्दा बढी हेरिने गीतको हिस्सा हुन पाउँदा निकै खुशी लागेको बताउँदै भनेका छन्, ‘मैले सन् २००७ मा युट्युबमा गीत अपलोड गर्दा जम्मा १० हजारले हेरुन भनेर लक्ष्य राखेको थिएँ ।’

सी यु अगेन फ्युरियस सेभेन चलचित्रको एण्ड् क्रेडिटको लागि तयार गरिएको थियो । चलचित्रका कलाकार पल वाकरको चलचित्र रिलिज हुनुभन्दा पहिले नै कार दुर्घटनामा परेर निधन भएपछि उनको श्रदाञ्जलीस्वरुप यो गीत तयार पारिएको थियो ।

यस्तो छ भिडियो 

प्रकाशित मिति :असार २८ बुधबार-२०७४

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu