इतिहासको त्यो ३० मिनेट जसले सिक्किमलाई भारतमा विलय गरायो !

-रेहान फजल 

६ अप्रिल १९७५ को बिहानी, सिक्किमका राजा चोग्यालले आफ्नो दरबारको गेट अगाडि भारतीय सैनिकका ट्रकको आवाज सुने। उनी दौडिए र झ्याल नजिक पुगे। उनको दरबार भारतीय सैनिकले चारैतर्फबाट घेरिरहेका थिए।

त्यतिवेला मेसिनगनको चलेको आवाज सुनियो, दरबारको गेटमा खटिएका बसन्तकुमार क्षेत्रीलाई गोली लाग्यो, उनी त्यहीं ढले। त्यहाँ पुगेका पाँच हजार भारतीय सैनिकले राजदरबारका २ सय ४३ वटा गाडीलाई आफ्नो कब्जामा लिन ३० मिनेटभन्दा बढीको समय पनि लागेन।

त्यही दिन १२ बजेट ४५ मिनेटसम्ममा सिक्किमले स्वतन्त्र देशको मान्यता गुमाइसकेको थियो। चोग्यालले यसको सूचना हैम रेडियोबाट पुरै विश्वलाई दिए। इग्ल्याण्डको एक गाउँमा रिटायर्ड डाक्टर र जापान तथा स्वीडेनका अन्य दुई व्याक्तिले चोग्यालको यो आपतकालीन सन्देश सुने।  त्यसपछि चोग्याललाई नजरबन्द गरियो।

घट्नाक्रम

दिल्ली नगरपालिकाका आयुक्त बीएस दास दिउँसोको खाना खाइरहेका थिए। उनलाई विदेश सचिव केवल सिंहले फोन गरे र भने, ‘मलाई तुरुन्त भेट्न आउनुस्।’ यो दिन थियो ७ अप्रिल १९७३।

दास विदेश मन्त्रालय पुगे। उनलाई त्यहाँ केवल सिंहले दह्रोसँग स्वागत गर्दै भने, ‘सिक्किम सरकारको जिम्मेवारी लिनुपर्‍यो, तपाईंलाई तुरुन्तै गान्तोक पठाउन लागिएको छ। तपाईंसँग तयारीका लागि जम्मा २४ घण्टाको समय मात्रै छ।’

जब दास भोलिपल्ट सिलीगुडीबाट हेलिकोप्टरमा गान्तोक पुगे। त्यहाँ उनलाई स्वागत गर्न चोग्यालका विरोधी काजी लेन्डुप दोर्जी आइपुगेका थिए। सिक्किमका मुख्य सचिव, प्रहरी आयुक्त र भारतीय सेनाका प्रतिनिधि पनि त्यहाँ उपस्थित थिए।

दासलाई जुलुस जस्तै गरी पैदलै उनको निवासस्थानमा लगियो। भोलिपल्ट दासले जब चोग्यालसँग भेट गर्नका लागि समय मागे तब उनले बहाना बनाए। उनले दासलाई भने, ‘म ज्योतिषसँग सल्लाह गरेर भेट्ने समय दिनेछु।’

दास भन्छन्, ‘यो त एउटा बहाना मात्रै थियो, खासमा चोग्याल दास वा दासको ओहोदालाई मान्यता नदिएको देखाउन चाहन्थे।’

सिक्किम गोवा होइन्

अघिल्लो दिन चोग्यालले दासलाई बोलाए। तर बैठक निक्कै असहज अवस्थामा सुरु भयो। चोग्यालको पहिलो वाक्य थियो, ‘मिस्टर दास यो सोंचमा नरहनुस कि सिक्किम गोवा हो।’

चोग्यालको पूरै कोसिस थियो कि उनलाई भुटान जस्तो दर्जा दिनुपर्छ। उनले भने,  ‘यो एउटा स्वतन्त्र, र सार्वभौमसत्ता सम्पन्न देश हो, तपाईँलाई हाम्रो संविधान अन्तर्गत काम गर्नुपर्नेछ। भारतले तपाईंको सेवा मेरो सरकारका लागि दिएको हो। यसबारेमा तपाईँ भ्रममा नरहनुस्। हामीलाई दवाउने कोसि पनि कहिल्यै नगर्नुस्।’

त्यसको भोलिपल्ट दास सिक्किममा खटिएका आफ्ना साथी शंकर बाजपेयीसँग भेट गर्न इण्डिया हाउस पुगे। तब उनलाई पहिलो प्रश्न थियो,’ केवल सिंहबाट उनका लागि के निर्देशन लिएर आएका छन्।’

दास सम्झिन्छन्,  ‘सिक्किमका जनताको आकांक्षा पूरा गर्नका लागि उनीहरुलाई सहयोग गर्नेबाहेक मसँग त्यस्तो कुनै स्पष्ट निर्देशन थिएन। सधैँजस्तो इन्दिरा गान्धीले कुनै पनि औपचारिक राजनीतिक प्रतिवद्धता केही गरेकी थिइनन्, उनले विलय शब्द त कहिल्यै प्रयोग पनि गरेकी थिइनन्।’

दासका अनुसार, उनीहरुलाई प्रयोग गरिरहेका केवल सिंहले पनि व्याक्तिगत कुराकानीमा पनि यो शब्दको कहिल्यै प्रयोग गरेका थिएनन्। दास भन्छन्, ‘तर केही नभने पनि मलाई तथा शंकर बाजपेयी दुवै जनालाई थाहा थियो, आफूहरुले के गर्नुपर्दछ भन्ने।’

१९६२ को चीन युद्ध

प्रख्यात राजनीतिक विश्लेषक इन्दर मल्होत्रा भन्छन्, ‘सिक्किमलाई भारतमा विलय गर्ने सोच सन् १९६२ मा भएको भारत–चीन युद्धपछि सुरु भएको थियो। चीनको चुबी घाँटीमा भारतको २१ मिलको गर्दन छ। जसलाई ‘सिलीगुडी नेक’ भनिन्छ।

चीनले चाह्यो भने एक झट्कामा त्यो गर्दन अलग गरेर उत्तरी भारतमा छिर्न सक्छ। चुबी घाँटीसँगै सिक्किम पनि जोडिएको छ।

सिक्किमका राजा चोग्यालले अमेरिकी युवती होप कुकसँग विवाह गरेका थिए। होपले नै चोग्याललाई उक्साउन सुरु गरिन्, यदि उनी सिक्किमलाई पूरै स्वतन्त्र देशका रुपमा माग गर्छन् भने अमेरिकाले समर्थन गर्नेछ। तर भारतलाई यो स्वीकार्य थिएन।

श्रीमतीले छोडिन साथ

चोग्यालकी श्रीमती होप कुकको व्याक्तित्व पूरै रहस्यमय थियो। चोग्याललाई भारतविरुद्ध भड्काउनमा उनको ठूलो भूमिका पनि। त्यही सिलसिलामा स्कुलको पाठ्यपुस्तक बदलिए। उनले युवा अफिसरलाई बोलाएर हरेक साता बैठक गर्न थालिन्।

जब उनी चोग्यालकी रानीको भूमिका निभाउँथिन्, तव उनी त्यहीँको स्थानीय भेषभुषा लगाएर निक्कै विनम्रतासँग मसिनो स्वरमा कुरा गर्थिन्। जब उनी दुखी हुन्थिन् तब सबै सन्तुलन गुमाउँथिन्।

आवश्यकताभन्दा बढी मदिरा खाने चोग्यालको बानीले उनी दिक्क थिइन्, यसै विषयमा दुवै जनाबीच महाभारत नै हुन्थ्यो। एक पटक चोग्याल रानीसँग यति धेरै रिसाए कि उनले रानीको रकेर्ड प्लेयर नै झ्यालबाट बाहिर फालिदिए।

अन्तिममा होप कुकले सिक्किम छोडिन् र उनी अमेरिका जाने फैसला गरिन्। चोग्यालले खराब समयमा साथ नछोड्न आग्रह पनि गरे, तर उनले स्वीकारिनन्।

दास होप कुकलाई छोड्न गए, उनको आखिरी शब्द थियो, ‘मिस्टर दास मेरा श्रीमानको ख्याल गर्नु, अब यहाँ मेरो कुनै भूमिका छैन्।’

दास भन्छन्, ‘उनलाई यो भन्न निक्कै लज्जा हुन्छ। जब उनलाई पत्तो भयो तबसम्म रानीले दरबारका महत्वपूर्ण र मूल्यवान कलाकृती, पेन्टिङ चोरी लुकाएर अमेरिका पुर्‍याइसकेकी थिइन्।’

जम्मा एक सिट

दास भन्छन्, ‘चोग्यालले आठ मेमा एउटा सम्झौतामा हस्ताक्षर गरे पनि उनको आत्माले त्यसलाई स्वीकारेको थिएन। उनले बाहिरका कयौं व्याक्तिसँग मद्दत मागे।

यो सम्झौता गलत छ भन्नका लागि उनले महिला वकिल पनि राखे। जब चुनावको घोषणा भयो, तव चोग्यालले दक्षिण सिक्किम जाने चाहना व्यक्त गरे। दासले उनलाई त्यस्तो नगर्न सल्लाह दिए।

पहिला जब उनी यो ठाउँमा जान्थे, तब लामाहरु सडकमा लाइन लागेर उनको स्वागत गर्दथे। तर यसपटक उनको चित्रमा जुत्ता झुण्ड्याइएको भेटे। चुनावमा चोग्यालको समर्थन गर्ने नेसनलिस्ट पार्टीले ३२ मा जम्मा एक सिट हासिल गर्‍यो। जति नयाँ सदस्य चुनिएर आए उनीहरुले चोग्यालको नाममा सपथ नलिने घोषणा गरे। यदी चोग्याल संसदमा आउँछन् भने उनीहरु संसदमा भाग लिन आउने छैनन्।

चोग्यालको नेपाल यात्रा

यहीबीच नेपालका राजाको राज्यभिषेकका लागि चोग्याल राजकीय अतिथिका रुपमा नेपाल गए। त्यहाँ उनले पाकिस्तानी राजदूत र चीनका उपप्रधानमन्त्री चीन सी लिउसँग भेट गरे। उनले आफ्नो दुःखमा साथ मागे।

बीएस दासले चोग्याललाई एउटा लिखित दस्तावेज दिएका थिए, त्यो दस्तावेजमा उनलाई बाहिरी सहयोग नलिन बताइएको थियो। यदि तपाईंको राजवंश राख्ने हो, छोरालाई उत्तराधिकारी राखिराख्ने हो भने ८ मेको सम्झौतालाई मान्नुपर्छ। तपाईं सुरक्षित पनि हुनुहुनेछ।

‘यो त मेरो स्वतन्त्र देश हो, यसलाई म छाड्ने छैन्’ भन्नेमा अडिक रहिरहे।

इन्दिरा गान्धीसँग अन्तिम भेट

इन्दिरा गान्धीलाई आफ्नो पक्षमा पार्नका लागि चोग्यालले अन्तिम कोसिस ३० जुन १९७४ मा गरे। इन्दिरा गान्धीका सचिव रहेका पीएन धरले आफ्नो पुस्तक ‘इन्दिरा गान्धी, द एर्मेजेन्सी एण्ड इण्डियन डेमोक्रेसी’मा लेखेका छन्, ‘जसरी चोग्यालले आफ्नो पूरा कुरा इन्दिरा गान्धीसँग राखे म, त्यसबाट निक्कै प्रभावित भएँ। भारत सिक्किमा जो राजनीतिज्ञ माथि दाउ लगाइरहेको छ, उनीहरु विश्वास गर्न लायक छैनन्।’

इन्दिराले भनिन्, ‘उनले जोसँग कुरा गरिरहेकी छन्, उनीहरु जनताले छानेका प्रतिनिधि हुन्।’ चोग्यालले अझ बढी केही कुरा गर्न खोजिरहेका थिए तब इन्दिरा चुप भइन्।

इन्दिरा गान्धी चुप हुनुलाई एउटा नकारात्मक टिप्पणीका रुपमा देखिन्थ्यो। यसमा उनलाई महारथ पनि प्राप्त थियो। गान्धी जुरुक्क उठिन्, रहस्यमय ढंगसँग मुस्कुराइन् र आफ्ना दुई हात जोडिन्। चोग्यालका लागि यो इशारा थियो, अब उनी जान सक्छन्।

चाखपूर्ण कुरा यो थियो कि, उनै चोग्याल १९५८ मा जब जवाहरलाल नेहरुका अतिथि बनेर दिल्ली आएका थिए त्यतिखेर उनी नेहरुकै निवासस्थान तीनमूर्ति भवनमा बसेका थिए। चोग्याल एक अनौठा व्याक्तिका धनी थिए, जसले कहिल्यै पनि सिक्किमको पृथक पहिचानमा सम्झौता गरेनन्।

दास भन्छन्, ‘चोग्यालले एक पटक मात्रै हार स्वीकार गरेको थियो। जब उनका छोरा र उत्तराधिकारी एक दुर्घटनामा मृत्यु भयो। तव उनले आत्महत्या गर्ने कोसिस गरे।’

यहीबीच चोग्यालकी पत्नी होप कुकले दुई बच्चलाई लिएर उनको साथ छोडेकी थिइन्। उनलाई यो स्वीकार गर्न निक्कै कठिन भएको थियो। १९८२ मा चोग्यालको क्यान्सरबाट मृत्यु भयो।

विलयको विरोध

जब सिक्किमलाई भारतमा विलय गर्ने योजनाको सुरु भयो, तब चीनले यसको तुलना १९६८ मा रुसले चेकोस्लोवाकियामाथि गरेको आक्रमणसँग तुलना गरेको थियो।

तब इन्दिरा गान्धीले चीनलाई उसले तिब्बतमाथि गरेको आक्रमण सम्झाइन्। भुटान भने यसबाट खुसी भयो, किनकि अबदेखि उसलाई सिक्किमसँग जोडेर हेरिने छैन्।

तर सबैभन्दा बढी विरोध नेपालमा भयो। जबकि सबैभन्दा बढी खुसी हुनुपर्दथ्यो। किनकि सिक्किमा सबैभन्दा बढी ७५ प्रतिशत जनसंख्या नेपालीमुलका थिए। भारतमा पनि केही ठाउँमा यसको विरोध भयो।

जर्ज बार्गिजले हिन्दुस्तान टाइम्समा ‘अ मर्जर इज अरेन्ज्ड’ शीर्षकमा सम्पादकीय लेखे, जनमत संग्रह यति धेरै हतारमा गरियो कि यो पूरै प्रक्रिया शंकाको घेरामा आयो। जनमतमा सोधियो, ‘के तपाईँ चोग्यालको पद समाप्त गर्न चाहनुहुन्छ र भारतको हिस्सा हुन चाहनुहुन्छ?

जबकि यी दुईवटा अलगअलग मुद्धा थिए, यसको एक आपसमा कोही पनि सम्बन्ध छैन। चकित पार्ने कुरा यो थियो, यो अन्त नभएर गान्धी र नेहरुको देशमा भएको थियो।

‘र’को भूमिका

सिक्किमलाई भारतमा विलय गर्ने मामिलामा राजनीतिज्ञसँगै भारतीय खुफिया एजेन्सी ‘र’को पनि महत्वपूर्ण भूमिका थियो।

दास भन्छन्, ‘त्यतिवेला ‘र’का अधिकारीहरुसँग पार्टीमा भेट हुने गर्दथ्यो। मैले उनीहरुलाई सोध्ने गर्थे, मलाई भन के भइरहेको छ? तर उनीहरु मलाई केही कुरा पनि बताउँदैनथे।

एक दिन ‘र’का अधिकारी मेरो घर आए र भने, ‘माफ गर्नुहोला सर, हामी तपाईंसँग केही कुरा गर्न सक्दैनौं, हामीलाई सिक्किममा भइरहेका घट्नाका विषयमा मुख्य कार्यकारी अधिकारीलाई नभन्नु भन्ने निर्देशन छ। किनकि ऊ चोग्यालका लागि काम गर्छन् तर कुनै दिन यो विषय उनलाई भनिदिने गल्ती गर्न सक्छन्।’

दास भन्छन्, ‘म तपाईंलाई इमान्दारीसाथ भन्छु, आखिरी दिनसम्म सिक्किममा के भइरहेको छ, यस विषयमा भारतको खुफिया एजेन्सीबाट मलाई केही पनि जानकारी प्राप्त भएन।’

सिक्किम विलयमा ‘र’ले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो तर उसलाई पनि राजनीतिक नेतृत्वबाट दिशानिर्देश मिलेको थियो भन्ने इन्दर मलहोत्राका बुझाइ छ।

इन्दिरा गान्धीले ‘र’ प्रमुख रामनाथ काव, पीएन हक्सर र पीएन धरलाई बैठकमा बोलाएकी थिइन्। जब कावसँग सोधियो, ‘यो मामिलामा सल्लाह दिनुस्।’ त्यतिखेर उनले जवाफ दिए, ‘मेरो काम सरकारको फैसला कार्यान्वयन गर्ने हो, सल्लाह दिने होइन।’

इन्दिरा गान्धीको भूमिका

दास भन्छन्, ‘हामीलाई लागेको थियो कि, यसबारे इन्दिरा गान्धीलाई लगातार जानकारी दिइएको छ। मैले गान्धीसँग ११ वर्ष काम गरेँ। उनको विशेषाता नै थियो जो उनीसँग निहुँ खोज्थ्यो उसलाई उनी कहिल्यै माफ गर्दिन थिइन्।’

चोग्यालका बारेमा पनि उनलाई लागेको थियो, अब उनलाई कहिल्यै बदल्न सकिँदैन्। गान्धी सिक्किम प्रकरणकी नायिका थिइन्। दास भन्छन्, ‘हामी त उनका प्यादा मात्रै थियौं।’

सिक्किमलाई भारतको २२ औं राज्य बनाउने संविधान संशोधन विधेयक २३ अप्रिल १९७५ मा लोकसभामा पेस भयो। त्यही दिन यो प्रक्रियालाई २ सय ९९ को विरुद्ध ११ मतबाट पारित गरियो।

राज्यसभामा यो बिल २६ अप्रिलका दिन पेश भयो। र १५ मई १९७५ मा राष्ट्रपति फखरुद्दीन अली अहमदले यो बिलमा हस्ताक्षर गरे। नामग्याल राजवंश त्यही दिन समाप्त भयो।

(बीबीसी हिन्दीमा आएको सामाग्रीको नेपाली भावानुवाद)

साभार पहिलोपोस्ट

१ साउन २०७४

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu