‘प्रोफेसर चार्ली बाबा’ आयरल्यान्डबाट नेपाल आएर व्यवसायिकरुपमा नै गाईपालन गर्दै (भिडियो)

देशमा काम नपाएको बहानामा दैनिक सरदर १५ सय नेपाली वैदेशिक रोजगारीका नाममा विदेशिने गरेका छन् । खाडी मुलुक पुग्ने र जोखिमपूर्ण ढंगले कम तलब लिएर जस्तोसुकै काम गर्न पछि पर्दैनन् उनीहरु । तर, युरोपेली मुलुक जर्मनमा जन्मेर आयरल्यान्डमा स्थायी बसोबास गर्ने एकजना विदेशी नागरिक भने करिब ४ वर्षदेखि नेपालमा व्यवसायिकरुपमा गाईपालन गरिरहेका छन् । पेशाले चार्ली प्रोफेसर  हुन , हेर्नुस  एक  भिडियो रिपोर्ट  ।

औतारी आइरिस सेफ, फोटोग्राफर, किसान र योगीको हुलियामा एक विदेशी अर्थात् ‘चार्ली बाबा’

बा १६प ५१६० नम्बरको रातो पल्सर मोटरबाइकमा दिनहुँ पनौती–काठमाडौँ गर्छन् प्याट कौबा, ३३ । १६ लटको पुरानो पल्सरका अगाडि, दाहिने र देब्रेतिर ६ वटासम्म दूधका डब्बा हुन्छन् । छातीसम्म आउने कैलो दाह्री अनि कम्मरसम्म झुन्डिने जटावाला यी आइरिस नागरिकलाई बाटोमा बोलाउने नाम थुप्रै छन्– विदेशी बाबा, दूध बाबा, चार्ली बाबा, लट्टे बाबा । प्रत्युत्तर दिइहाल्छन्, जय शम्भो ! हरि ओम !

पनौती (काभ्रे)बाट एक घन्टा पैदल दूरी भूमिडाँडामा रहेको कृषि फार्ममा प्याटका कति धेरै काम छन् भने केही दिनअघि आयरल्यान्ड जाने टिकटै क्यान्सिल गरे । मकै, काँक्रो, सयपत्रीको सिजन अनि डेरी हाउस, चिज फ्याक्ट्रीको काम छाडेर निस्कन सकेनन् । त्यसो त उनी मातृभूमि नगएकै करिब सात वर्ष भइसक्यो । कहिलेकाहीँ उनलाई लाग्छ, घर भने पनि नेपालै हो, करिअर भने पनि नेपालै हो ।

खासमा जर्मन बाबु र आइरिस आमाका सन्तान हुन्, प्याट । दुई वर्षको उमेरमा उनी जर्मनीबाट आयरल्यान्ड गए । एटलान्टिक महासागरको छेउमा रहेको कर्कमा बाल्यकाल गुजारे । टाइटानिक जहाज छुटेको आयरल्यान्डको दक्षिणी टापु कर्क उनलाई अहिले पनि राक्षसी सहरजस्तो लाग्छ । वेश्यावृत्ति, ‘टिन एज प्रेगनेन्सी’ अनि आत्महत्यामा त्यसले कुख्याति जो कमाएको छ ।

टापुका मान्छे प्याट समुद्र भनेपछि हुरुक्कै हुन्छन् । युवाकालमा आइरिस जलसैनिक बन्ने इच्छा थियो उनको । स्कुलको शनिबारे, आइतबारे छुट्टीमा उनी माछा मार्नका लागि सामुद्रिक डुंगा चढेर जान्थे । तर, कानले धोका दिएकाले मेडिकल फेल भए, जलसेनामा जान पाएनन् ।

सात वर्षको छँदा बाबुको निधन भयो । १४ वर्षको उमेरमा स्कुल लिभिङ सर्टिफिकेट (एसएलसी) लिए उनले । बुबा छैनन्, भाइबहिनी छैनन्, आमा काममा सधैँ बाहिर । त्यसपछि घरमा एक्लै के गरेर बस्ने ?

किन किन सेफको काम मन पर्‍यो उनलाई । त्यो काम किन मन पर्‍यो ? उनलाई अहिले पनि यकिन छैन । रहर हो कि कर ? कमिसेफ (सिकारु सेफ)का रूपमा किचन सम्हाले उनले । एकाबिहानै किचन छिर्‍यो । ब्रेकफास्टदेखि नै किचनमुनिको बोतल झिक्यो, मस्त खायो, पियो । साताको सय घन्टासम्म काम गरे, एक हजार युरोसम्म कमाए । जीवन कस्तो भयो भने खाने पनि किचनमै, पिउने पनि किचनमै, सुत्ने पनि किचनमै ।

६ वर्ष काम गर्दा ‘सेफ द पार्टी’ भइसकेका थिए प्याट । वरीयताका हिसाबले तेस्रा सेफ । सेफ र सुसेफ बन्नै बाँकी थियो । तर, उनी एकाएक झस्किए । सहरका नामी होटल, रेस्टुराँमा बूढा सेफ कोही छैन । भएका सेफ पनि ४० ननाघ्दै कोही ड्रगिस्ट, कोही अल्कोहलिक त कोही हर्ट एट्याक भएर भकाभक मरेका छन् ।

उनलाई लाग्यो, ४० वर्ष भएपछि मेरो नियति पनि त्यही त हो । म जीवनभरि सेफ हुन सक्दिनँ । अब केही त सोच्नैपर्छ । २१ वर्ष पनि नपुग्दै उनले सेफको काम छाडिदिए । एक वर्ष खाली खाली बसे । पूरै फकिर जीवन बिताए । साथीभाइ भेटे, मन लागेका ठाउँ घुमे, हरफनमौला भए ।

पछि गएर त्यो जीवन पनि ‘बोर’ भयो । आफूसँगै १४ वर्षमै किचन छिरेका साथीलाई उल्काए, अस्ट्रेलिया जान । त्यतिबेला युवा आइरिसहरूमा अस्ट्रेलिया लाहुर जाने लहर थियो । काम हुन्थ्यो, फलफूल टिप्ने, निर्माणका काम गर्ने अनि किचन सम्हाल्ने । उनी बुझाउँछन्, “त्यो समय अहिले खाडी जाने नेपाली लाहुरेको जस्तै हो ।”

अस्ट्रेलिया, पर्थको एक रेस्टुराँको किचन सम्हाल्नुपर्ने भयो उनले । लहड चल्यो, त्यसअघिको तीन महिना कुनै नयाँ ठाउँ गएर स्वयंसेवा किन नगर्ने ? उनले गुगल गरिहाले । भेटियो, नेपाल । त्यतिबेलासम्म उनलाई नेपालको नाम पनि थाहा थिएन, कोही नेपाली भेटेका पनि थिएनन् । गुगलबाटै थाहा भयो, नेपाल, गोर्खा, एभरेस्ट । गोदावरीमा वाटर म्यानेजमेन्टको काम छानेर २००४ अगस्ट १६ (१४ भदौ ०६१)मा काठमाडौँ उत्रिए ।

त्यसको दुई दिनपछि नै इराक काण्ड भयो । १३ नेपाली युवकको हत्या भएको विरोधमा काठमाडौँ पूरै आन्दोलित भयो । उनी पहिलो नेपाल–अनुभव बाँड्छन्, “मसहित २४ जनाको टोली स्वयम्भूमा थियो । त्यहाँबाट हेर्दा वायुमण्डलभरि धूवाँको मुस्लो, प्याटप्याट गोली चलेको आवाज अनि जहाज घुमेको घुम्यै । हामी छिटोछिटो ठमेलतिर दौडियौँ ।”

उनको टोलीले गोदावरीको संस्थालाई जनही सय डलर बुझाएको थियो । स्वयंसेवाबापत खाने, बस्ने व्यवस्था त भइगयो । पछि पाँच हजार रुपियाँ पनि दियो । तीन महिना त्यसै गरी बित्यो । अब उनलाई लाग्यो, एकपटक वाक्क भइसकेको काम गर्नलाई फेरि अस्ट्रेलिया किन जाने ?

थप ६ महिना नेपालै बसे प्याट । क्यामेरामा सोख थियो उनको । बीचको डेढ महिना भारततिर भौँतारिए, एक महिना तिब्बततिर । अलिअलि भएको ब्यालेन्स सकिएपछि आयरल्यान्ड नै फर्किए । सेन्ट जोन्स सेन्ट्रल कलेजमा फोटोग्राफी स्टडिजका लागि छात्रवृत्ति पाए । दुईवर्षे कोर्समा क्लास टपर भए । चारमहिने छुट्टीमा हंगेरी, रोमानिया, बुल्गेरिया, सिरिया, लेबनान, टर्की हुँदै इराकसम्म पुगे ।

त्यसबीचमा अमेरिकाको इन्डियाना युनिभर्सिटीमा उनकी केटी साथी स्नातकोत्तर गर्दै थिइन् । नेसनल जोग्राफिकका फोटो सम्पादक रहिसकेका फोटो जर्नालिजमका प्रोफेसर स्टिफन लरेन्स रेमरलाई फकाएर दुई वर्षमा तीनचोटि ‘गेस्ट स्टुडेन्ट’का रूपमा ‘मोरल एन्ड एथिक्स’ क्लास पनि लिन भ्याए ।
समाजवादी देश आयरल्यान्डको सरकारी प्रक्रिया पनि नेपालजस्तै कछुवा तालको रहेछ । पढाइ सकिएपछि एकैचोटि दुई हजार युरोको छात्रवृत्ति एकमुष्ट पाए उनले । त्यही पैसाले फोटोग्राफीमा पोर्टफोलियो बनाउने भूत सवार भयो उनमा । फेरि आइपुगे नेपाल ।

डकुमेन्ट्री फोटोग्राफीका नाममा उनी कहाँ पुगेनन् ? भोजपुर, हिले, सगरमाथा, लुम्बिनी, पोखरा, गोरखा आदि, इत्यादि । खल्ती रित्तिँदै गएका बेला जर्मनीमा बज्यै बितिन् । त्यता लागे । आयरल्यान्ड फर्केपछि उनले कामै पाएनन् । विश्वव्यापी आर्थिक मन्दीले विदेशी फ्याक्ट्री सबै बन्द थिए । साथी भेट्ने, कफी खाने पैसो पनि भएन । १० महिना घुमेको घुम्यै भए । उनले फेरि नेपालै सम्झिए ।
“नेपालमा त सय रुपियाँ भयो भने चिया आउँथ्यो, चुरोट आउँथ्यो, गाडी चढ्न पनि पाइन्थ्यो,” उनले आत्ममन्थन गरे, “आयरल्यान्डमा धेरै गाह्रो छ । असली जीवन त नेपालमै छ ।”

उनले ईसीएस नेपाल म्यागेजिनका सम्पादक डन मेस्सेरसेमेडिटलाई इमेल लेखे । पत्रिकामा असिस्टेन्ट एडिटर चाहिएको थियो । तर, उनलाई लेख्न मट्ठै आउँदैनथ्यो । बूढा अमेरिकी सम्पादकले सम्झाए, ‘चिन्ता नगर बाबु । म सिकाउँछु ।’ उनको नसा त फोटोग्राफीमै थियो । क्यामरा, कलम अनि नोटप्याड लिएर जुम्लादेखि बर्दियासम्म फनक्कै घुमे ।

एक वर्षलगत्तै उनले पर्यटन र संस्कृतिका विधामा स्वतन्त्र फोटोग्राफी थाले । नेसनल जोग्राफिक, एलए टाइम्स, कोन्डा नास्ट (अमेरिका), बुर्दा स्टाइल (जर्मनी), ट्रपिकल म्यागेजिन (थाइल्यान्ड)लगायत १४ मुलुकका पत्रिकाका निम्ति । पाँच वर्षको अनुभवपछि उनलाई लाग्यो, आफैँ फोटो किताब किन नबनाउने ?

उनले आइडिया निकाले, नेपालका गाउँगाउँमा बाटोघाटो खुलेका छन् । अब ती ठाउँ पुग्ने मोटरबाइक टुरिङ बुक बनाउने । त्यसका लागि उनले आयरल्यान्डकै साथीलाई बोलाए । ३५ वर्ष पुरानो नेपाल पुलिसको अनि २७ वर्ष पुरानो इन्डियन आर्मीेको बुलेट एनफिल्डको व्यवस्था मिलाए ।

उनको लक्ष्य थियो, चार सीमा नाका । काँकडभिट्टा, ताप्लेजुङ, मुस्ताङ र वनवासा । चार सातामा ३ हजार ५ सय किलोमिटर छिचोले । वनवासाका लागि नवलपरासी पुग्दा पुलिसवाला बाइक बिग्रियो, पुलिस चौकीमै थन्क्याए । डबल लोड गरी वनवासातिर हुइँकिए । गन्तव्य पुग्न ३५ किलोमिटर बाँकी छँदा दुर्घटनामा परे ।

त्यो घटना थियो, २०१२ मेको । ६.४ इन्चका प्याट अनि ६.८ इन्चका उनका साथीको त्यो हन्डरको कथा निकै लामो छ । भन्छन्, “त्यो यात्रामा मैले राम्रो र नराम्रो दुइटै नेपाल देखेँ ।” त्यो मोटरबाइक टुरिङ बुक अहिलेसम्म अधूरै छ । उनको फोटोग्राफीको कमाइ घरभाडा तिर्न र भात खानमै ठिक्क हुन्थ्यो । दुई–तीन वर्षभित्रै सपना पूरा हुने उनको विश्वास छ ।

त्यसबीचमा प्याट थापाथली मन्दिरस्थित उदासीन अखडाका महन्थ पुष्पराज दासका चेला भइसकेका थिए । र, नयाँ हुलिया पाइसकेका थिए, श्री निर्वाण बाबा चार्ली दास उदासीन । भन्छन्, “गुरुले अयोध्याका चार राजकुमार राम, लक्ष्मण, भरत र शत्रुघनबाट मेरो नाम जुराइदिए चार्ली ।” मन्दिरमा गुरु नानकले नेपाल आउँदा आफ्नो नाम खोपेको पुरानो ढुंगा छ । गुरु नानककै छोरा श्रीचन्द्र उदासीन त्यस अखडाका संस्थापक हुन् । उनी नौ वर्षअगाडि कश्मीरमा भेटिएका योगीमार्फत उदासीन अखडाको सम्पर्कमा पुगेका रहेछन् ।

त्यसअगावै उनले मांस, मदिरा र महिलाका सबै लत छाडिसकेका थिए र आफूलाई शुद्ध शाकाहारी र प्राकृतिक जीवनशैलीमा ढाल्न चाहन्थे । उनको मनसुवा बुझेका गुरुले साढे तीन वर्ष पहिले भने, ‘चार्ली † ३८ किलोमिटर टाढा रोशी खोलापारि भूमिडाँडामा केही रोपनी जग्गा छ । केही आइडिया छ भने त्यहाँ गएर काम गर ।’

नभन्दै उनी त्यहाँ गए । उनमा विचार आयो, गौमाताको सेवा किन नगरुँ ? उनले गोठ बनाए । एउटी बूढी गाई र अर्को कोरली गाई कीलोमा बाँधे । बूढी गाईको नाम शान्ति राखे भने कोरलीको क्रान्ति । यसको कारण खुलाउँछन्, “बूढी गाई एकदमै ज्ञानी थिइन् भने कोरली कहिले लात्ती हान्ने, कहिले सिङले हान्ने ।”

त्यहाँ उनले घाँस काटे, गोबर सोहोरे, दूध दुहे । सयवटा फलफूलका बोट पनि रोपे । गोठ बढ्दै गयो । चौथो गाई थिइन्, उदासीन अखडाका महन्थकी पनि गुरुआमाको । राती गाई नवौँ इन्जेक्सनमा बल्ल गर्भवती भइन् । त्यसअघि गाउँलेले सम्झाएका थिए, ‘थारो गाई किन पाल्ने ? आङभरि मासु छ, बेचिदिनूस् ।’ उनले त्यसो गर्न सकेनन् । अन्तत: ब्यायो पनि । १७ लिटर दूध दिन थाल्यो छाकमै । दुईतिर बाल्टिन राखेर दुई जनाले दुहुनुपर्ने । एकातिर दुई थुन, अर्कातिर दुई थुन ।

कुनै बेला गाउँलेको पाइखाना बनेको डाँडो दुहुना गाई थपिँदै गएर बिस्तारै उदासीन गौशालाका रूपमा परिचित भयो । अहिले त गाउँलेहरू कुइरे टोल भन्दा रहेछन् । किनभने, एकपटकमा २० जनासम्म विदेशी आइपुग्छन् । टेन्ट टाँगेर बस्छन्, क्याम्प फायर गर्छन् ।

अहिलेसम्म ३० देशका डेढ सय मानिस आइसकेका छन् । ६ जना स्टाफका इन्चार्ज उनै हुन् । गौशालामा एक वर्षयता निघन्टु फार्म पनि जोडिएको छ । प्याट भन्छन्, “मैले चाहेको भए मन्दिरमै बस्न सक्थेँ । तर, कर्मयोग मेरो जीवनसूत्र हो । यसमा सेवाभाव मात्रै छ ।”

नेपाल सरकारलाई वर्षको एक हजार डलर तिरेर भिसा थप्दै बसिरहेका छन् प्याट । उनको प्राप्ति के हो भने आफूलाई चाहेकै जीवनपद्धतिमा ढाल्न पाएका छन् । क्याथोलिक परिवारमा जन्मे पनि उनी कहिल्यै चर्च गएनन् । अहिले त सनातन धर्म नै अंगीकार गरिसकेका छन् ।

कैलाश नामक कालो कुकुर पालेका यी बाबा हरेक वर्ष चैत नवरात्रमा नौ कन्याको पूजा गर्छन्, तीन घन्टा हवन गर्छन् । असोजको नवरात्रमा राक्षस शक्ति हावी हुने भएकाले चैत रोजेको उनको कथन छ । “म ढाँट्दिनँ, म गाई खाने देशको मान्छे हुँ । रेस्टुराँमा मैले कैयौँ गाई पकाएँ,” उनी सुनाउँछन्, “अहिले सृष्टि उल्टिएको छ, मैले गुरु, धर्म र बुद्धि पाएँ । एक गिलास दूध वा दही खाएपछि त्यसको ह्याङ जान्छ ।”

भन्दा/सुन्दा पनि लीलाजस्तो लाग्छ । ‘रिभर्स माइग्रेसन’का प्रतिनिधि पात्र हुन् प्याट । यहाँका रैथाने कामको खोजीमा विदेशतिर लाग्छन्, उनी विदेशबाट नेपालतिर आएका छन् । अरूले आफ्ना अभिभावकलाई विदेशतिर लैजान्छन्, उनी आफ्नी ५९ वर्षीया आमालाई दुई वर्षभित्र यतै ल्याउने विचारमा छन् । नौ वर्षअगाडि नेपाल आइसकेकी आयरल्यान्डकै कुनै होटलकी म्यानेजर आमा उनको गौसेवाको कथा सुनेर खुब हाँस्छिन् । प्याट भन्छन्, “श्रीमान् छैनन्, अर्को छोराछोरी पनि छैनन्, मेरो गुरुस्थान, धर्मस्थानमा नल्याएर के गरुँ ?”

व्यावसायिक काममा प्याट कौबा, धार्मिक काममा चार्ली (बाबा) दास उदासीनका रूपमा चिनिन चाहने उनलाई सुफीसूत्र एकदमै प्यारो लाग्छ, ‘सात दिनमा सात काम गर ।’ उनी त अझ विश्रामलाई पनि कामै मान्छन् । एकै खालको कामले डिप्रेसन ल्याउँछ । कामको माया पनि मर्दै जान्छ ।

त्यसो त एकथरी प्याटलाई आयरल्यान्डमा पनि पागल भन्छन्, नेपालमा पनि पागलै । उनले फरक कति देखेका छन् भने आयरल्यान्डमा भएको भए कि त जेल कि अस्पताल पुर्‍याइसक्थे । नेपालीमा कम्तीमा त्यो सहनशीलता छ । भन्छन्, “नेपालमा भद्रगोल छ, तर अलिकति भए पनि स्वतन्त्रता छ । यहाँ मलाई कसैले पुलिस बोलाउँदैन, डाक्टर बोलाउँदैन ।”

मेकानिकल, मेसिनाइज्ड र सुपरमार्केटको अपसंस्कृतिबाट वाक्कदिक्क प्याट कृषिमार्फत ज्ञान र प्रविधिको हस्तान्तरण गर्न चाहन्छन् । जीवनभरि गौसेवामा लाग्ने अठोट गरेका प्याटको उदासीन अखडामा घरजम वर्जित छैन रे ! भन्छन्, “राम्री पार्वती पाए किन नगर्ने ? नपाए किन गर्ने ?”

साभार -राजकुमार बानियाँ/ साप्ताहिक नेपाल

१ साउन २०७४

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu