विश्वकप छनौट खेल :कोलम्बियाले रोक्यो ब्राजिललाई

काठमाडौं । रुसमा हुने विश्वकप फुटबलमा स्थान बनाइसकेको ब्राजिल विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी क्षेत्रको छनोटमा बराबरीमा रोकिएको छ । अर्को बर्ष रुसमा हुने विश्वकपको छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिल कोलम्बियासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

कोलम्बियाको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिएको हो । खेलको ४५ औं मिनेटमा विलियनले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको दोस्रो हाफमा घरेलु टोली खेलमा फर्कियो । ५६ औं मिनेटमा राडमेल फाल्काओले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।

यो बराबरीपछि दक्षिण अमेरिकी क्षेत्रको छनौटको शिर्ष स्थानमा रहेको ब्राजिलले १६ खेलबाट ३७ अंक जोडेको छ । ब्राजिलले विश्वकप २०१८ को छनौट अन्तर्गत अहिलेसम्म भएका १५ खेलमा १० खेल जितेको छ भने ४ खेलमा बराबरी र एक खेलमा पराजित भएको छ । यस क्षेत्रको छनोटमा कोलम्बिया दोस्रो स्थानमा रहेको छ ।

कोलम्बियाले २६ अंक जोडेको छ । यस क्षेत्रबाट शीर्ष चारमा पर्ने टिम विश्वकपका लागि सोझै छनौट हुनेछन् ।

प्रकाशित : भदौ २१ बुधबार -२०७४ 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu