राजा महेन्द्रलाई झुक्याउनेको जागिर यसरी चट् भयो !

-रेवतीरमण खनाल 

दरबारको विशेष जाहेरी विभागमा सरुवा भएँ, १ वैशाख ०२१ मा । त्यही वर्षको हिउँदमा राजा महेन्द्र चितवनको चारकोसे झाडीमा सिकार खेल्न जाने भए । सवारी मन्त्रीका साथै राजाका निजी चिकित्सक डा सुशीलचन्द्र हल्डर, मामा बाबुसाहेब र राजाकहाँ परेका बिन्तीपत्र सुनाउन भनेर न्यायाधीश पशुपतिप्रसाद कोइरालासहित म पनि उक्त टोलीमा परेको थिएँ ।

डा हल्डर र मामा बाबुसाहेब राजासँगै हेलिकप्टरमा गए भने हामी कर्मचारीका निम्ति एउटा मोटर रिजर्भ गरिएको थियो । भीमफेदीको बाटो हुँदै हामी वीरगन्ज पुग्यौँ । सिकार खेल्न चारकोसे झाडी जानुपूर्व त्यस भेगका जनताका गुनासा र समस्या सुन्ने भनेर वीरगन्जको श्रीपुरनजिकै राजाको क्याम्प बस्यो ।

चार–पाँच दिन त्यहीँ बसेर जनताका पिरमर्का सुन्ने र समस्या समाधानार्थ पहल गर्ने काम भयो । बेलुका क्याम्पमा बस्दा रमाइलो गफगाफ हुन्थ्यो । अनौपचारिक कुराकानी र रमाइला किस्सा त्यस्ता बसाइमा खुब चल्थे । राजा स्वयं पनि गफ गर्ने र रमाइलो गर्ने हुँदा त्यस्ता बसाइ त्यसै पनि रमाइला हुन्थे ।

भ्रमणमा राजपत्र अंकित, राजपत्र अनंकित र राजपरिवारका लागि बेग्लाबेग्लै भान्साको व्यवस्था थियो । भान्सा व्यवस्थापनको जिम्मेवारी सेनाको हुन्थ्यो । हामी वीरगन्ज पुगेको बेलुका खानाको तयारी भइरहेका बखत राजा महेन्द्र क्याम्प निरीक्षणका क्रममा भान्सामै पसेर के पाकेको छ, कसरी पकाइरहेका छन् भनेर हेर्दै त्यही खटिएकाहरूसँग कुरा गर्दै थिए । सेनाको जिम्मेवारीमा रहेकाले भान्सा सफासुग्घर त हुने भइहाल्यो । काम पनि सैनिक अनुशासनमा रहेर गर्ने भएकाले खोट लगाउने र कमी देखिने कुरै भएन ।

भान्सा एक फन्को लगाएपछि विभिन्न परिकारका साथै बेलुकाको खानामा पकाउन भनेर ठूलठूला माछाका टुक्रा मसलामा मोलेर तयारी अवस्थामा राखिएको ठाउँमा राजाको नजर परेछ । राजाबाट सोधनी भयो, ‘यी माछा कहाँबाट ल्याइएका हुन् ?’ एक कर्मचारीको जवाफ थियो, ‘परवानीपुर मत्स्य विकास केन्द्रका पोखरीका माछा ल्याइएका हुन् रे ! सरकारी पोखरीमा पालिएका ।’ बेलुकाको खानामा तिनै माछा तार्नुका अतिरिक्त झोल पनि बनाइएको थियो । माछाका परिकार स्वादिष्ट बनेकाले सबैले मीठो मानीमानी खाएका थिए ।

भोलिपल्ट बिहान त्यस्तै ८ बजेको हुँदो हो, राजा महेन्द्र यसो बाहिरफेर टहलिएपछि मनमा के कुरा खेलेछ, प्रमुख सैनिक सचिव शेरबहादुर मल्ललाई साथमा लिएर आफैँले ल्यान्डरोभर मोटर चलाएर परवानीपुर मत्स्यपालन केन्द्रतर्फ लागे । त्यहाँ पुग्दा एक जना जेटीए (कृषि प्राविधिक) भेटिए ।

एक्कासि राजाको सवारी भएको देखेर उनी पनि छक्क परे । राजाबाट माछा पोखरी देखाउन भनियो, उनी राजालाई पोखरीतर्फ लिएर गए । पोखरीमा त साना र भुरा माछा मात्रै थिए । त्यहाँ खान मिल्ने खालका कुनै माछा नदेखेपछि राजाबाट जेटीएलाई सोधनी भयो, ‘अरू पनि पोखरी छन् र ?’ जेटीएले अरू तीनवटा पोखरी पनि रहेको बताए । तर, अवलोकनपछि ती पोखरीको अवस्था पनि उस्तै भेटियो । जेटीएलाई ‘ठूला माछा छैनन् ?’ भनेर सोधनी हुँदा उनले जवाफ दिए, ‘यहाँ त यसभन्दा ठूला माछा नै छैनन् ।’ यो सुनेपछि राजा त्यहाँबाट फर्किए ।

मत्स्यपालन केन्द्रबाट फर्किएपछि दिउँसोको खाना भयो । त्यसपछि वीरगन्ज क्याम्पमा कार्यालयको काम सुरु भयो । राजाले ‘हिजो बेलुका खाएका माछा परवानीपुरका हुन् भनेर ढाँट्ने को हो ? किन त्यसरी ढाँटेको ?’ भनेर सोधे । अनि, तुरुन्तै सवारी मन्त्रीलाई आदेश दिए, ‘मलाई समेत यसरी झुक्याउनेले दुनियाँ (जनता)लाई बाँकी राख्छन् होला ? ती कर्मचारीसँग तुरुन्त स्पष्टीकरण माग गर्नू, सन्तोषजनक जवाफ आए पेस गर्नू, होइन भने जागिरबाट तुरुन्त झिकिदिनू ।’

भएको चाहिँ के रहेछ भने परवानीपुर मत्स्यपालन केन्द्रका कर्मचारीले राजाको सवारी हुने थाहा पाएपछि भारतबाट भुरा माछा झिकाएर पोखरीमा हाल्न लगाएका र ठूला माछा क्याम्पमा पठाएका रहेछन् । र, तिनै भारतबाट झिकाइएका माछालाई आफ्नै पोखरीमा पालेर हुर्काएका हुन् भनेर ढाँटेका रहेछन् । छानबिनबाट यस्तो खुलासा भएपछि परवानीपुर मत्स्यपालन केन्द्रका तत्कालीन हाकिमलाई ठाउँको ठाउँ कारबाही गरियो, उनको जागिरै चट् भयो ।

प्रस्तुति : ईश्वरी ज्ञवाली

साभार साप्ताहिक नेपाल

प्रकाशित मिति २०७४ भदौ २८ , बुधबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu