जिम्मा दिए राजदरबार हत्याकाण्डको रहस्य नेपाल प्रहरीले नै पत्ता लगाउन सक्छ

नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी अपराध अनुसन्धानमा अब्बल मानिन्छन् । लागूऔषध नियन्त्रण ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), अपराध महाशाखाको नेतृत्व सम्हाल्ने क्रममा उनले रानीबारी हत्याकाण्ड, न्यायाधीश रणबहादुर बम हत्याकाण्डलगायत थुपै्र गम्भीर र जटिल किसिमका अपराधको अनुसन्धान गरेका थिए । १० महिनाअघि प्रहरी सेवाबाट निवृत्त भएर नागरिक जीवन बिताइरहेका तिनै पूर्वप्रहरी अधिकारी मल्लसँग नेपालले नेपाल प्रहरीको अनुसन्धान पद्धति, प्रवृत्ति र क्षमताबारे लामो कुराकानी गरे, त्यसैको सम्पादित अंश :

सेवा निवृत्त जीवन कसरी बिताइरहनुभएको छ ?
केही काम गर्ने नयाँ द्वारहरू हेरिरहेको छु । कुनै व्यवसाय सुरु गर्छु होला । इन्भेस्टमेन्टसम्बन्धी एउटा कम्पनी पनि खोलेका छौँ । जन्मथलो कैलालीतिर पनि केही गरौँ भनेर विचार गरिरहेको छु ।

तपाईंको अनुभवका आधारमा अपराध अनुसन्धान के हो ?
अनुसन्धान भनेको मानिसमा जन्मैदेखि आएको हुने रहेछ । अहिले पनि अनुसन्धान भन्नासाथै केही प्रहरी अधिकृतहरूको मात्र नाम आउँछ । ७२ हजार जनाको फौज भएको प्रहरीमा अनुसन्धान अधिकारीको नाम लिनुपर्दा १०/१५ जना मात्रै छन् । अनुसन्धान खुबी तालिम दिएर भन्दा पनि जन्मजात गुण हो । यस्तो क्षमतालाई थोरै बाटो देखाइदिए त्यसमा निखार आउने रहेछ ।

यति थोरै जनशक्ति मात्रै अनुसन्धानमा पोख्त रहेछ, यो त गम्भीर कुरा होइन ?
गम्भीर नै हो । यस्तो जनशक्ति तयार गर्न अनुसन्धान गर्न सक्ने खुबी भएकालाई चिन्न सक्नुपर्छ । यो पहिचान ‘सुपरभाइजर’ले गर्ने हो । अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्ने हो भने यस्तो जनशक्ति तयार गर्न सकिन्छ ।

अपराध अनुसन्धानको जनशक्ति कम हुनुको कारण के देख्नुहुन्छ, तपाईं ?
प्रहरीको जागिर भनेको कस्तो भने पोसाक लगाएपछि रवाफ देखाउन सकिन्छ भन्ने मनोविज्ञान छ । तर, बिनाबर्दी निरन्तर खटिएर गरिने अनुसन्धानले यस्तो रवाफ पाउँदैन । नयाँ भर्ना हुनेहरूले बर्दी लगाएर आफू ठूलो भएको महसुस गर्न र गराउन चाहन्छन् । अनि, कहाँ उनीहरू यस्तो अनुसन्धान गर्ने काममा मन लगाउँछन् त ? केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), अपराध महाशाखामा त एक/एक वर्षमै अधिकारीहरू आउने/जाने भइरहन्छ । उनीहरू अडिँदैनन् । यस्तो अवस्थामा अनुसन्धान गर्ने टिम कसरी तयार गर्न सकिन्छ ?
अनुसन्धानप्रति विकर्षण हो यो ?
अनुसन्धान गर्दा पनि ‘करिअर’ छ भन्ने कुरा संगठनले देखाइदिन सक्नुपर्छ । म १३ वर्ष लगातार एकै ठाउँ लागूऔषध अनुसन्धानमा बसेँ । तीनपटक त्यहीँ बढुवा भएँ । मेरो करिअरमा त त्यसले राम्रै गर्‍यो । त्यसैले बिनाबर्दी बस्नुपर्दा ‘एक्सपोजर’ हुँदैन भन्ने मनोविज्ञान चिर्नुपर्छ ।

गम्भीर र जटिल प्रकृतिका घटनाको सफल अनुसन्धान गर्‍यो भने त त्यसले दिने एक्सपोजर धेरै बढी हुन्छ नि बर्दीको तुलनामा, होइन ?
हो । तर, त्यो धैर्य कसलाई छ र ? तुरुन्तै परिणाम खोज्ने प्रवृत्ति छ । अनुसन्धान त धेरै समय लाग्छ । निरन्तर खटिरहनुपर्छ । जबकि, फास्टफुडको जमाना छ अहिले ।

हाम्रो अनुसन्धानको कमजोर पक्ष के हो ?
बयानमुखी अनुसन्धान । बयानमा जे बोल्यो, त्यही अन्तिम बनाउँछ प्रहरीले । अभियोगी कसैले पनि अदालतमा आफ्नो अपराध कबोल गर्दैन । प्रहरीले जबरजस्ती बयान लिएको भन्छ । त्यसैले प्रहरीले अभियोग पुष्टि गर्ने अन्य प्रमाणहरू जुटाउनेतिर अनुसन्धान केन्द्रित गर्नुपर्ने हो । तब न अभियोग बलियो हुन्छ । प्रमाण नै जुटाउँदैन । त्यही भएर अदालतमा मुद्दा दायर भएपछि दोषी छुट्छन् ।

किन यस्तो भएको ?
मिहिनेत गर्ने चलन छैन हामीकहाँ । सजिलो बाटो खोज्छौँ । प्रमाण संकलन गर्ने फुर्सदै छैन । बरू बयान गरायो, पठायो, टन्टै साफ । प्रमाण जुटाएर अभियोग बलियो नबनाउने अनि रुवाबासी गर्ने– पैसा खाएर छोड्यो भन्दै । हाम्रो काम अनुसन्धान गर्नेभन्दा पनि प्रक्रियामा लैजाने र झन्झट सार्ने मात्रै भइरहेछ ।

भनेपछि त हामी अनुसन्धानमा निकै नै कमजोर रहेछौँ, होइन ?
साँच्चै भन्नुपर्दा कमजोर नै छौँ । प्रहरीका केही युनिटहरूले गरेका काम राम्रा पनि छन् । जस्तै : सीआईबी, अपराध महाशाखा, लागूऔषध ब्युरो, विशेष ब्युरो आदि । तर, यी मात्रै त प्रहरी युनिट होइनन् । ७५ जिल्लामै मुद्दा चलाउने युनिटहरू छन् । समग्रमा, अनुसन्धान कमजोर छ ।

कतै प्रहरीको ‘सेलिब्रिटी’ बन्ने रहरले यस्तो भएको त होइन ?
प्रहरी सेलिब्रिटी बन्ने चलनले पनि बिगारिरहेको छ । हुन त समाजमा सेलिब्रिटी बन्ने प्रवृत्ति प्रहरीमा मात्रै छैन । अहिले मन्त्रीहरू नै सेलिब्रिटी भइरहेका छन् । काठमाडौँको दरबार मार्गमा मन्त्री आफैँ पुगेर पसल सिल गरे । धनगढीमा मन्त्री आफैँ टाँचा लगाउँदै हिँडे । सञ्चारमन्त्री टेलिफोनको तार काट्न तैनाथ भए । मन्त्रीहरूले नै यस्तो काम गर्दै हिँडेपछि कर्मचारीले के गर्ने ? भोलिदेखि गृहमन्त्री खानतलासी, छापा मार्न हिँड्न थाले भने प्रहरीले चाहिँ के गर्ने ? अनुसन्धान गर्ने निकाय मिडियाबाजीमा लागेपछि मूल कामबाट टाढा हुनु स्वाभाविक हो ।

तपाईंको अनुभवमा लागूऔषधको कारोबारमा कस्ता व्यक्तिहरू संलग्न हुँदा रहेछन् ?
पञ्चायतकालमा त ठूला व्यक्तिहरूको हात हुन्छ भनिन्थ्यो । मैले अनुसन्धानका क्रममा त्यस्तो पाइनँ । तर, यो एकदमै संगठित अपराध भएकाले यसको सञ्जाल अन्तर्राष्ट्रिय हुन्छ । संगठित अपराधको ‘चेन’को एउटा ‘सिक्वेन्स’ गायब भयो भने त्यहाँबाट अगाडि पनि बढ्न सकिन्न, पछाडि हट्न पनि सकिन्न ।
संगठित अपराधको सम्पूर्ण ‘सिन्डीकेट’ तोडेको मेरो जीवनमा एकदमै कम छ । त्यसमध्येको हो, डान्स बारमार्फत युवतीहरूलाई विभिन्न मुलुकमा पुर्‍याएर बेच्ने धन्दा । सीआईबीमा हुँदा यो अप्रेसन भएको थियो ।
संगठित तवरले हुने धन्दामा कहीँ न कहीँ पहुँचवालाहरूको संलग्नता हुन्छ भनिन्छ । यसले पनि अनुसन्धान टुंगोमा पुग्न नसकेको त होइन ?
संगठित अपराधलाई पनि हामीले अलग–अलग हिसाबले हेर्नुपर्छ । लागूऔषधमा प्रभावशाली मानिसहरूको प्रत्यक्ष संलग्न हुने ‘चान्स’ मचाहिँ देख्दिनँ, यदाकदा भए मात्र । डलर, सुनको धन्दामा पटक–पटक पहुँचवालाहरूको संलग्नता खुलेकै छ । कुनै समय राज्य संयन्त्र नै लागेर सुन तस्करी भएकै हो । त्यसैले सुुन, डलर काण्डमा ठूला मानिसहरूको संलग्नता नहोला भन्न सकिन्न ।

तपाईंलाई अनुसन्धानका क्रममा कुनै दबाब आयो कि आएन ?
आइहाल्छ नि † उदाहरणका लागि सञ्जय साह (टकला)को घटना लिन सकिन्छ । धेरै प्रभावशाली व्यक्तिहरूले दबाब दिएका थिए । नाम नभनौँ । दबाब दिने, भन्ने उनीहरूको काम हो, अनुसन्धान गर्ने हाम्रो कर्तव्य । त्यसैले हामी रोकिएनौँ र उनी अहिले जेलमा छन् ।

अनि, प्रलोभन नि ?
लागूऔषधमा हुँदा ठूलो प्रलोभन आएको थियो । अपराध महाशाखामा बस्दा पनि आयो । कसले, कुन केसमा भनेर नभनौँ । आउँछ, प्रलोभनमा पर्ने/नपर्ने तपाईंको इच्छा ।
अनुसन्धानका क्रममा प्रहरीलाई अन्य सरकारी निकायको पनि सहयोग चाहिन्छ । के उनीहरूको व्यवहार सहयोगी हुने गरेको छ ?
एकदमै हुँदैन । सबैले आ–आफ्नो फलामे गेट बनाएका छन् । सबैमा ‘मै ठूलो’ भन्ने इगो छ । प्रहरीको केन्द्रीकृत प्रणालीले मात्रै अनुसन्धान धानेको हो । संघीयतामा संविधानले परिकल्पना गरेजस्तो प्रान्तैपिच्छे स्वतन्त्र प्रहरी हुने हो भने प्रहरीको यो बल पनि कमजोर हुनेछ ।

कसरी ?
भारतमा प्रान्तीय प्रहरीलाई स्वायत्त छाड्दा त्यहाँ ‘चेन अफ कमान्ड’मा समस्या देखिइसकेको छ । त्यहाँ प्रान्त–प्रान्तका प्रहरीबीच खटपट छ । त्यही भएर केन्द्रीय स्तरमा नयाँ–नयाँ एजेन्सीहरू खुलिरहेका छन् । यही अवस्था नेपालमा आउन सक्छ । त्यसैले केन्द्रीय हेडक्वार्टर राखेर केन्द्रीकृत प्रणालीमै जानुपर्छ । नत्र, त्यसले अनुसन्धानमा असर पर्छ ।
स्रोत–साधन हुने हो भने नेपाल प्रहरीको हैसियत कस्तो परिकल्पना गर्नुहुन्छ तपाईं ?
मलाई आउने सूचनाले कहिलेकाहीँ त हामी विश्वकै उत्कृष्ट प्रहरी हौँजस्तो लाग्थ्यो । हामीसँग प्रविधिमा आधारितभन्दा पनि ‘ह्युमन इन्टेलिजेन्स’मा आधारित सूचना हुन्थ्यो र त्यो ठ्याक्कै मिल्थ्यो । विदेशीहरू छक्क पर्थे । हामीसँग प्रविधिलगायतका स्रोत–साधन हुने भए साँच्चै उत्कृष्ट कार्य सम्पादन गर्न सक्थ्यौँ ।
अबचाहिँ गाह्रो छ । किनभने, अहिलेको इन्टेलिजेन्स भनेको ‘कमोडिटी’ (वस्तु) हो । कमोडिटी नकिनी पाइन्छ ? विकसित देशहरूले सूचना खरिद गर्न थालेका छन् । हामी त्यो स्तरमा कहिले पुग्ने, थाहा छैन । पैसा नभई कसैले पनि सूचना दिँदैन, अहिलेको जमानामा ।

तपाईंले धेरै जटिल र लामो समयदेखि रहस्यमा रहेका हत्याकाण्डको अनुसन्धान गर्नुभयो । राजदरबार हत्याकाण्डको रहस्य पत्ता लगाउन सक्दैन प्रहरीले ?
राजदरबार हत्याकाण्डको रहस्य नेपाल प्रहरीले नै पत्ता लगाउन सक्छ । त्यो क्षमता र हैसियत राख्ने अधिकृत प्रहरीमा अझै छन् ।
त्यसो भए अहिलेसम्म किन अनुसन्धान नगरेको त ?

तत्कालीन अवस्थामा दरबारमा भएका घटनाको अनुसन्धान प्रहरीले गर्न सक्दैनथ्यो । राजनीतिक प्रकृतिको आयोग बन्यो र त्यसले प्रतिवेदन दिने किसिमले मात्र छानबिन गर्‍यो । अपराधी पत्ता लगाउने किसिमले वास्तविक अनुसन्धान भएकै छैन । अझै पनि प्रहरीलाई जिम्मा दिने हो भने रहस्य पत्ता लाग्छ ।

(मानबहादुर बस्नेतले गरेको कुराकानी कान्तिपुर साप्ताहिक बाट  लिइएको )

प्रकाशित मिति : २०७४ कार्तिक १,बुधबार

 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu