पूराना पार्टीलाई भोट हाल्नु अगाडि सोच्नै पर्ने दश कुराहरु

-सुमन बराल

देशमा दर्जनौ पार्टी हुदा हुदै फेरि नेपालमा ‘अबको आशा, विवेकशील साझा: यो पटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व’ लगायतका नारा बोकेर ‘यो देश हाम्रै जीवनकालमा बनाउने’ अभियानमा भर्खरैको नयाँ पार्टी विवेकशील साझा पार्टी होमिएको छ।सामाजिक रुपमा प्रतिष्ठित, समाजसेवी, पत्रकार र लेखकहरुले सद्भाव राखेको यो पार्टी बारे मेरो पनि खबर्दारीपूर्ण सद्भाव छ।

कांग्रेस,एमाले,माओवादी लगायत सत्तामा पटक पटक लूट मच्चाएका दलहरुलाई आफ्नो अमूल्य मतदान गर्नु अघि कम्तिमा यी कुराहरु सम्झिनुहोस्, जसको प्रत्यक्ष-अप्रत्यक्ष भूमिका वा जिम्मेवारी उनीहरुले लिनै पर्छ:

१. करिब ५० लाख नागरिक विदेशमा:

अधिकांश अत्यन्त न्यून तलब सुबिधामा आधुनिक दासत्व स्विकार्न बाध्य अनि दैनिक ५-७ वटा लाश बाकसमा नेपाल भित्रिने हृदयबिदारक स्थिति। लूटाहा म्यानपावर र कन्सल्टेन्सीको ब्रह्मलुट, उनीहरु नियम कानून भन्दा सधै माथि ।
२. राष्ट्रको ढुकुटी, नेताहरुलाई मोज:
नेताहरु सामान्य रोगको उपचार गराउन विदेशमा अनि गोबिन्द के.सी.नागरिकको गुणस्तरीय स्वास्थ्यको ग्यारेन्टीका लागि १३ औँ पटक सत्याग्रहमा।महङ्गो रोग लागेका ग़रीब जनता मृत्यु कुरेर बस्न बाध्य।

३. ६४ सदस्यीय मन्त्रीमण्डल:
जुन सम्भवत: संसारकै सबै भन्दा ठूलो हो। बिशिष्ठ,पूर्व बिशिष्ठका नाममा पेन्सन लिने दलहरुको दाऊ । राजनीतिलाई समाज सेवा नभई “जोगी हुन राजनीति गरेको होइन” भन्दै अपारदर्शी, नैतिकहीन पेशा बनाईएको ।

४.वादको उन्माद काम शून्य:
समाजवाद,साम्यवाद,माओवाद,उदारवाद र लोकतन्त्रको नारा जप्ने दलहरुबाट लुटतन्त्र,माफियातन्त्र, भ्रष्टतन्त्रको नमूना र संसारकै एक ग़रीब देश बनाइएको नेपाल अनि महङ्गी र बेरोजगारीमा पिल्सिएका जनताहरु।

५. अपराधको राजनीतिकरण र राजनीतिको अपराधिकरण :
प्रमाणित भ्रष्ट,अपराधी र माफियाहरुको राजनैतिक संरक्षण अनि चुनावमा मसल्स र मनिको खेल। चरी,दिपक मनाङ्गे, खुम बहादुर खड्का,चक्रे मिलन आदिको संरक्षण र भूमिका । ठेक्का पट्टामा हुने गुण्डागर्दी र अनियमितताका कारण जनताले तिरेको करबाट बन्ने कमजोर र कमसल पूर्वाधार ।

६.जताततै भर्ति केन्द्र: सोर्स नभएका हिस्स
विद्यालय, विश्वविद्यालय, अस्पताल, कर्मचारीतन्त्र, प्रहरी, न्यायालय लगायतका सबै क्षत्र आफ्ना नाता गोता र कार्यकर्ता भर्ति केन्द्र र दलै पिच्छेका ट्रेड युनियनले सबै क्षेत्र लथालिंग । सरकारी कार्यालयमा खेप्नु परेको घुस, कमिसन र ढिलासुस्ती ।
७. दलीय कोटा,बाँडीचुडी धुत: दलको कोटामा न्यायाधीश,राजदूत,संबैधानिक अंगका प्रमुखहरुको नियुक्ति र बिभिन्न बिवादास्पद निर्णयहरु। यी सबै काम ठूला दलले मिलेर, बाँडीचुँडी गर्ने गरेको परिपाटी । दलहरुको झण्डा फरक भए पनि प्रवृर्ति एउटै भएको तितो यथार्थ ।

८. शास फेर्न समेत सोच्नपर्ने लाजधानी:
राजधानी लगायतका ठूला शहरहरुमा फोहोरलाई समेत मोहर बनाउन नसक्ने अनि सडक, ट्राफिक बत्ती, ट्राफिक चिन्ह जस्ता सामान्य पूर्वाधार समेत नबनाउने असक्षम दलहरु।

९. यातायातमा सिण्डिकेट,राष्ट्रवाद डुप्लीकेट:
राजधानी लगायत देशै भरि सार्वजनिक यातायातको कहालीलाग्दो अवस्था र सिण्डिकेट। गरीब देशका धनी नेताहरुको करोडौँको विलासी गाडी।

१०. जो चोर उसको ठूलो स्वर:
हामी जति भ्रष्ट,नालायक, अपराधी भए पनि जनताले जिताएका छन् भनेर गर्बका साथ भन्ने लाज पचेका नेताहरु ।

यति कुरा मनन गरेर पनि कांग्रेस, एमाले, माओवादी लगायतका पुराना दलको अहिलेको नेत्रृत्वबाट देशले निकास र बिकाश पाउला भनेर आश गर्नु हुन्छ र तिनैलाइ आफ्नो अमूल्य मत दिनु हुन्छ भने कम्तिमा हाम्रो जीवनकालमा यो मुलुक बन्दैन ।

यो पटक सकेसम्म बिकल्प भएको ठाउँमा विवेकशील साझा पार्टीका उमेद्द्वारलाई जिताउनुस, एउटा कठीन प्रण गरेर आएका रवीन्द्र मिश्र, उज्वल थापा लगायतका शिर्ष नेताले त जित्नै पर्छ अनि प्रत्यक्षमा राम्रो प्रभाव नभएको ठाउँमा समानुपातिकमा भने अवश्य हाल्नुस। केही समूहले यस पार्टीलाई डलरवादी पार्टी भन्ने गरेका छन्,तर दल वा अभियान नै कसैबाट परिचालित हुँदो हो त अरु दलले जस्तै आ-आफ्ना कार्यक्रममा गाउँ गाउँबाट बसका बस मान्छे उतार्ने सामर्थ्य उनीहरु संग हुने थियो, चुनाव जित्न पैसाको खोला बगाउने थिए, दैनिक पैसा दिएर खेताला कार्यकर्ता र समर्थकको हुल बनाउने थिए। प्रभावशाली युवा नेतृ रन्जु दर्शनाले सेल बेच्ने उद्दम गर्नु पर्दैनथ्यो होला। तसर्थ स्थापित दलहरु प्रमाणित डलरबादी,भारुबादी र यूरोवादी भएको अवस्थामा एक पल्ट विवेकशील साझा पार्टीलाई हाम्रो मत किन नदिने?

भबिष्यमा बिबेकशील साझा पार्टी पनि खराब निस्कियो, नेपाल र जनताको हित बिपरित काम गर्न छाडेर शक्तिकेन्द्रले चालेको गोटी प्रमाणित भयो, ठूलो बन्ने दाउमा भ्रष्ट, नैतिकहीनहरुलाई पार्टीमा ठाउँ दियो भने अर्को बिकल्प दिने दल खोज्नु वा अहिलेकै दल भित्र इमान्दार नेता जन्माउन भूमिका खेल्नु निर्विकल्प उपाय हुनेछ।तर अहिले नै बल्ल जन्मेकालाई किन शंका गर्ने?

(नोट: म कुनै दल संग आवद्ध छैन,अनि हुने मेरो चाहना पनि छैन तर काङ्ग्रेस,एमाले,माओवादीको बर्तमान नेतृत्वले कुनै पनि हालतमा देश बनाउन सक्दैनन भन्ने निस्कर्षमा भने पुगेको छु।
लेखक हाल स्वीडेनमा मानव अधिकार बिषयमा अध्यनरत छन्।

प्रकाशित मिति : २०७४ कार्तिक १,बुधबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu