स्वर्गको संसार: विश्वका पाँचौं उत्कृष्ट गन्तव्यमा नेपालको ‘पुनहिल’ समाबेश (भिडियो)

पुनहिलमा दैनिक पाँचसय पर्यटक

म्याग्दीको प्रसिद्ध पर्यटकीय क्षेत्र घोडेपानीको पुनहिलमा पर्यटकको ओइरो लागेको छ । सरद ऋतुको आगमन सँगै यहाँको भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । आन्तरिक र बाह्य गरी दैनिक करिब पाँच सय पर्यटकले घोडेपानी र पुनहिलको भ्रमण गर्ने गरेको व्यवसायी बताउँछन् ।

दसैँ तिहार बिदाका समयमा चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको दृश्य अवलोकन गर्न पर्यटकको भिड लाग्ने गरेको हो । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा दैनिक ५०० जनाको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको घोडेपानीका होटल व्यवसायी टेकसर बुदुजा पुनले बताउनुभयो । पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि घोडेपानीमा रहेका होटल भरिभराउ भएका छन् ।

दैनिक २५० जना बाह्य र त्यतिकै सङ्ख्यामा आन्तरिक पर्यटक भ्रमणमा आउने गरेको घोडेपानी पर्यटक प्रहरी चौकीका प्रमुख वीरेन्द्र महतोले बताउनुभयो । कार्यालयका अनुसार, वि.स. २०७४ वैशाखदेखि भदौसम्म १४ हजार २३४ जना विदेशी पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका छन् ।

असोज महिनाको अन्तिमसम्म छ हजार विदेशी पर्यटक घोडेपानी क्षेत्रमा भित्रिएका छन् । तथ्याङ्क नराखिए पनि काठमाडौँ, चितवन, पोखरा लगायत देशका विभिन्न ठाउँबाट भ्रमणमा आउने आन्तरिक पर्यटकको चापसमेत बढेको घोडेपानीका होटल व्यवसायी पुनले बताउनुभयो । नेपालीमा घुम्ने संस्कारको विकास, यस क्षेत्रको प्रचार प्रसारले आन्तरिक पर्यटक बढ्ने क्रम जारी छ, बुद्धजाले भन्नुभयो ।

कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको भुरुङ–तातोपानी, मोहरेडाँडा भएर घोडेपानी पुग्न सकिन्छ । घोडेपानीमा बास बस्ने पर्यटक सूर्योदय र हिमशृङ्खलाको सौन्दर्यमा रमाउन एकाबिहानै करिब एक घण्टा पैदल हिँडेर पुनहिल पुग्दछन् । पर्यटकको आवास सुविधाको लागि घोडेपानीमा दैनिक सात सय जना क्षमताको २२ वटा होटल सञ्चालनमा छन् ।

”विश्वको प्रख्यात पर्यटन गाइड लोन्ली प्लानेटले नेपालमा घुम्नुपर्ने १० वटा गन्तव्यमा पहिलोपटक म्याग्दीको पर्यटकीयस्थल पुनहिल समावेश गरेको छ। सन् २०१७ मा घुम्नु पर्ने विश्वका पाँचौं उत्कृष्ट गन्तव्यमा नेपाल परेपछि नेपालभित्रका १० वटा गन्तव्यमा घार गाविसअन्तर्गत पर्ने घोरेपानी तथा पुनहिलमा एकपटक पुग्नैपर्ने भनी व्याख्या गरिएको छ। दक्षिण एसियाबाट नेपाल मात्रै समावेश भएको विश्वको उत्कृष्ट गन्तव्यअन्तर्गत नेपालका चर्चित र प्रमुख पर्यटकीयस्थलका बारेमा गरिएको व्याख्यामा धौलागिरि अञ्चल, मुस्ताङ जिल्ला र म्याग्दीको घोरेपानीलाई उल्लेख गरिएको छ।”

पर्यटकको आगमन बढ्दै गएपछि परम्परागत होटललाई आधुनिकीकरण, सुविधा थप र क्षमता विस्तार भइरहेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष सुशिल पुनले बताउनुभयो । घोडेपानीमा बास बस्न दैनिक एक हजारदेखि एकहजार ५०० रुपियाँसम्म न्युनतम बजेट आवश्यक पर्छ ।

घना गुँरासे जङ्गलको बीचमा रहेको थुम्कोमा अवस्थित पुनहिलबाट सूर्योदयका साथै धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े, मनास्लु, गुर्जा, चुरेन, निलगिरि लगायतका १६ वटा हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ । नवलपरासीको गैडाकोटबाट कलेजका ६० जना साथीसँगै भ्रमणमा आएकी रजनी विश्वकर्माले पदयात्राको क्रममा भएको थकान र दुःखलाई पुनहिलको सौन्दर्यले भुलाएको अनुभव सुनाउनुभयो ।

सूर्योदय, पहाडी भूगोल, शान्त वातावरण र दर्जनौँ मनोरम हिमशृङ्खलालाई एकै ठाउँबाट अवलोकन गर्न पाउँदा आफू दङ्ग परेको थाईल्यान्डबाट आएकी मेरिनाले बताउनुभयो । असोज–कात्तिक र चैत–वैशाख यस क्षेत्रको मुख्य पर्यटक याम हो । पुस–माघमा हिउँ खेल्न र चैत–वैशाखमा पाखाभरी ढकमक्क फुल्ने गुराँस यस क्षेत्रको थप आकर्षण हो ।

पोखरादेखि नजिक र छोटो अवधिमा भ्रमण गर्न सकिने भएकाले घोडेपानी पुनहिल पर्यटकको रोजाइमा परेको पथप्रदर्शक अमृत सुवेदीले बताउनुभयो । पोखरादेखि नयाँपुल हुँदै तिखेढुङ्गासम्म सवारीसाधन र त्यहाँबाट पदयात्रा गरी एक दिनमा घोडेपानी पुगिन्छ । घोडेपानी घान्द्रुक भएर धेरैजसो पर्यटक अन्नपूर्ण बेसक्याम्पसम्म पुग्ने गरेका छन् ।

स्थानीयवासीले घोडेपानी हुँदै पुनहिल पुग्नको लागि पदमार्ग निर्माण गरेका छन् । पुनहिलका संस्थापक स्वर्गीय टेकबहादुर पुनको स्मृतिमा भ्युटावर निर्माण भएको छ । गाउँका विभिन्न नाकामा प्रवेशद्वार बनाएका छन् । पूर्ण सरसफाइयुक्त गाउँ घोषित घोडेपानीको आमा समूहले मासिक रूपमा पदमार्गलाई सरसफाई र मर्मत गर्छन् ।

भाग १

भाग २

पर्यटकलाई आकर्षित गर्न पुन मगरहरूको ऐतिहासिक र साँस्कृतिक पहिचान झल्काउने मगर सङ्ग्रहालय सञ्चालन गरिएको आमा समूहकी उपाध्यक्ष ललिता पुर्जाले बताउनुभयो ।

गोरखापत्रबाट

प्रकाशित मिति २०७४ कार्तिक ६ , सोमबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu