कविता : विशेष मान्छे

-मणि भट्टराई 

 

हरेक रात पेन किलर विना सुत्न सक्दैन
हरेक विहान इनर्जी ड्रिंक विना उठ्न सक्दैन
पाइला पाइलामा सन्त्रास टेकेर हिंड्ने
आतंकित
ससंकित
यो अरू कोही नभएर
संसारको शक्तिशाली मुलुकको
एउटा शक्तिशाली मान्छे हो ।

मुखै कोक्याउने गरी
आमाको नाममा
ईश्वरको नाममा
विहानदेखि बेलुकासम्म अपशब्द बोलिरहन्छ
सासभरी रक्सी गन्हाएर हिंड्छ
शरीरभरी गाँजा गन्हाएर हिंड्छ
डरलाग्दो
घिनलाग्दो
यो अरू कोही नभएर
संसारको सभ्य मूलुकको
एउटा सभ्य मान्छे हो ।

ओछ्यानमा जुत्तासँगै पल्टिन्छ
तर
नांगै हिंडिदिन्छ सडकमा
निर्लज्ज
निसंकोच
यो अरू कोही नभएर
संसारको स्वतन्त्र मूलुकको
एउटा स्वतन्त्र मान्छे हो ।

बरू भोक भोकै हिंडिदिन सक्छ
तर उसलाई
शरीरभरी खोपेका ट्याटुहरू देखाउनु छ
शरीरभरी दुला पारेर झुन्ड्याएका मुन्द्राहरू देखाउनु छ
हिजो रंग्याएको कपाल
आज एकचोटी फेरी अर्कै रंग्याउनु छ
प्लास्टिक सर्जरी गरेर
वाटुला बनाएका स्तनहरू देखाउनु छ
गोला बनाएका नितम्बहरू देखाउनु छ
देखिन कै निम्ति –
च्यातिनलाई
पुरै च्यातिएर निस्कनु छ बाहिर हरेक दिन
नाङ्गो
उदांगो
यो अरू कोही नभएर
संसारको सम्पन्न मूलुकको
एउटा सम्पन्न मान्छे हो ।

अल्मलिनु पर्दैन
धेरै घोत्लिनु पनि पर्दैन
यो अरू कोही नभएर
विश्वकै एक विशेष मान्छे हो ।

 

प्रकाशित मिति : २०७४ कार्तिक ७,मंगलबार 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu