जीवनमा एकपल्ट पुग्नै पर्ने तीर्थस्थल मुक्तिनाथको सम्पूर्ण बिवरणसहित भिडियो

-एकराज पाठक

विश्वका हिन्दु धर्मावलम्बीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको दर्शन बाटोको सुविधाका कारण दुई वर्षयतादेखि सहज र छिटो भएको छ । करिब चार हजार २०० मिटर उचाइको हिमाली क्षेत्रमा अवस्थित यस तीर्थस्थल धार्मिक एवम् पर्यटनका लागि पनि विश्वकै एक उत्कृष्ट गन्तव्यमा पर्दछ । सडक यातायातका कारण अहिले यो गन्तव्य धेरैका लागि नजिक भएको छ ।

तर अत्यन्त जोखिमपूर्ण एवम् अप्ठेरो सडकमार्गका कारण यहाँ आउने तीर्थालुहरूमा ठूलो त्रास भने रहने गर्दछ । अर्कातर्फ मन्दिर पुग्नका लागि कोरिएका अव्यवस्थित बाटोले यस क्षेत्रको आकर्षणमा कमी आउनुका साथै आधुनिककरणका नाममा यहाँको साँस्कृतिक महत्व र सम्पदाको संरक्षणमा नै आँच आउने होकि भन्ने चिन्ता पनि स्थानीय र पर्यटकहरूमा देखिन्छ ।

मुस्ताङ जिल्लाको मुक्तिनाथ देवस्थल सडक मार्गको भरपर्दो पहुँच पुगेको म्याग्दीको सदरमुकाम बेनी बजारबाट करिब एकसय किलोमिटर टाढा पर्दछ । सडक यातायातको पहूँच नपुग्दासम्म मुक्तिनाथ पुगेर बेनी फर्किनका लागि कम्तीमा पाँच दिन लाग्ने गर्दथ्यो । तर अहिले भने एकै दिनमा पुग्ने र भोलिपल्टै फर्किन सकिन्छ ।

तर बेनी बजारबाट एउटै सवारीसाधनमार्फत मुक्तिनाथ जान पाउने अवसर भने त्यहाँ जाने पर्यटक एवम् तीर्थालुहरूलाई प्राप्त छैन । उनीहरू बेनीबाट घाँसा, घाँसाबाट जोमसोम र जोमसोमबाट मुक्तिनाथ गरी तीनवटा सवारीसाधन फेरेर मात्र जान पाउँछन् । मुस्ताङ जिल्लाका यातायात व्यवसायीहरूको ‘सिन्डिकेट’ प्रथाका कारण पर्यटकले यो समस्या भोग्नु परेको छ । यो बीचका बाटोहरुको भाडादर पनि उनीहरु नै तिर्छन् र हाल कायम रहेको अत्यन्तै महँगो भाडादरबाट यात्रा गर्न तीर्थालु बाध्य छन् ।

सडक यातायातका कारण मुक्तिनाथ दर्शन एवम् मुस्ताङ यात्रा छोटो समयमै पूरा गर्न सम्भव भएको भन्दै तर यो यात्रा आन्तरिक पर्यटकका लागि भने अत्यन्तै महँगो रहेको मुक्तिनाथ दर्शनका लागि पुगेका कैलाश उप्रेती बताउनुहुन्छ । काठमाडौँको पदमकन्या क्याम्पसमा प्राध्यापन गर्नुहुने उप्रेतीले भन्नुभयो– सडक यातायात जबरजस्ती पु¥याइएको मात्र रहेछ तर यसलाई सबैको पहुँचयोग्य बनाई स्थानीयहरू पनि लाभान्वित हुने किसिमले सडकको स्तर वृद्धि गर्न आवश्यक छ ।

सडक पुगेका कारण नै आफू दर्शन गर्न आएको बताउने गुल्मीका ५७ वर्षीय निरञ्जन पोखरेलले पहरो कोपेर बनाइएको अति जोखिमपूर्ण बाटोको डरले गर्दा फर्कँदा भने हिँडेर जाने योजना रहेको सुनाउनुभयो । तर अधिकांश बृद्ध एवम् असक्त तीर्थालु भने सडकको मन्दिरसम्म नै पहुँचका कारण मुक्तिनाथ दर्शनमा उत्साहित भएको अनुभव पनि उहाँले सुनाउनुभयो । जथाभावी कोरिएका बाटोहरूले मुक्तिनाथ एवम् समग्र मुस्ताङकै अलौकिक सुन्दरतालाई बिगारीदिएको बताउनुहुन्छ झापा धाइजनका सागरमणि शिवाकोटी । मुक्तिनाथको सुन्दरता र आकर्षणका साथै मुस्ताङलाई विश्वका पर्यटकको प्रमुख गन्तव्यको रुपमा जोगाई राख्न कागबेनीबाटमाथि बाटो लान नहँुने सुझाव उहाँले दिनुभयो । वर्तमान मुस्ताङप्रति उहाँको धारणा छ – मुस्ताङ जिउँदैमा देख्न पाइने स्वर्ग हो, तर स्वर्गको बाटोलाई गाडीले बिगारिदिएका रहेछन् ।

बाटोका कारण मुस्ताङ्को स्याउले भने उचित मूल्य पाएको छ । स्थानीय डिन्ले शेर्पा भन्नुहुन्छ– दुई वर्षअघिसम्म प्रतिकिलो १० रुपैयाँमा मात्र बिक्रीहुने स्याउ अहिले बारीमै ४० रुपैयाँ पर्छ । तर त्यही स्याउ मार्फामा रहेको भण्डारण केन्द्रमा आइपुग्दा भने सत्तरी रुपैयाँमा विक्री हुन्छ । किसानले वास्तविक मूल्य पाउन नसकेको र स्थानीय एजेन्ट एवम् सवारी साधनवालाहरुले नै सो मुनाफा खाने गरेको अवस्था स्पष्टै देखिन्छ । आन्तरिक पर्यटक तथा तीर्थालुहरूले जोमसोमबाटमाथि लागेपछि सितिमिती बास पाउँदैनन् । होटलहरूले नेपालीका लागि बास दिन गाह्रो मान्छन् । विदेशी पर्यटकका लागि भने अहिले आकर्षक र निकै नै सुविधा सम्पन्न होटलहरु पनि बनेका छन् ।

बास खोज्दै होटलमा पुग्ने नेपालीसँग होटलका कर्मचारी बोल्न पनि पैसा पर्लाजस्तो गछन् । नेपालीले पर्यटकले जति रकम तिर्न सक्दैनन भनेर नै उनीहरू त्यसो गर्ने गर्दारहेछन् । कागबेनीमा रहेको स्वामी कमलनयनाचार्य च्यारिटेवल ट्रष्टद्वारा निर्मित धर्मशाला तीर्थालुहरूका लागि एक आश्थाको केन्द्र बनेको छ । सो धर्मशालामा निःशुल्क बस्ने सुविधा पाउछन् तिर्थालूहरु । सो धर्मशालाका व्यवस्थापक बालकृष्ण सुवेदी मुक्तिनाथ दर्शनमा आउने तीर्थालुका लागि यसले धेरै सहज बनाएको बताउनुहुन्छ ।

मुक्तिनाथमा विष्णु भगवानको पूजा हुन्छ । सो तीर्थस्थल बौद्धमार्गीहरुको पनि आश्थाको केन्द्र हो । हिन्दु धर्मका विशेष गरी वैष्णव परिवारका भक्तजन एवम् भारतीय तीर्थालुहरू बढी मात्रामा यहाँ आउने गर्दछन् । मुक्ति क्षेत्रका रुपमा रहेको सोही मन्दिरमा रहेको १०८ धाराबाट नै कालीगण्डकीको उत्पत्ति भएको छ । कालीगन्डकी विष्णु भगवानको एक अवतारका रुपमा रहेको शालिग्राम पाइने विश्वकै एकमात्र नदी पनि हो ।

यसका अतिरिक्त मुस्ताङ क्षेत्रमा साँस्कृतिक अतिक्रमण एवम् यहाँको अद्धितीय विशेषतामा आँच आउनसक्ने चिन्ता पनि यहाँका स्थानीय नागरिकमा छाएको छ । मुस्ताङको विविध पक्षको अनुसन्धानमा लागिपरेका स्थानीय मुखिया गुरुङ मुस्ताङमा बढ्दै गएको आधुनिककारणले यहाँको साँस्कृतिक सम्पदा नै अतिक्रमित हुनसक्ने खतरा रहेको बताउनुहुन्छ ।

मुस्ताङको पुरानो एवम् ऐतिहासिक कला र संस्कृिृत, यहाँको पूरातात्विक महत्व तथा प्राचीन सम्पदाहरू पनि आधुनिकताका नाममा फेरिँदै जाँदा लोप हुने अवस्था पनि आउने भन्दै गुरुङ भन्छन्– यदि अहिलेकै अवस्थाले निरन्तरता पायो भने भोलि विदेशीहरू के का लागि मुस्ताङ आउने भन्ने स्थिति पनि देखिनसक्छ । यो तर्कसँग बेलायती पर्यटक डेभिड अगस्टस पनि सहमत हुनुहुन्छ । उहाँ भन्नुहुन्छ– हामी मुस्ताङको खास संस्कार र विशेषता देख्न चाहान्छौ, तर यहाँभने सहरी जीवनको नक्कल तीव्र गतिमा भइरहेको रहेछ । आफूहरू मुस्ताङको स्थानीय खानाको चाहाना राखेपनि यहाँका होटलहरूमा सहर बजारका र पाँचतारे होटलको ‘मेन्यु’ दिइन्छ– उहाँले भन्नुभयो ।

पर्यटकलाई आकर्षित गर्ने कला, संस्कृतिको प्रर्वद्धन गरी पर्यटक पैदल मार्गहरूको निर्माणको सट्टा हिजोआज मुस्ताङमा गाडी गुड्ने धुलाम्मे बाटो बनाउने होड छ । त्यहाँको जनजीवनको इतिहास र कलालाई सहरी संस्कृतिक र निर्माणले प्रतिदिन उछिनिरहेको छ । अर्कै संसारको अलौकिक आनन्द प्राप्त गर्न यहाँ आइपुग्ने भक्तजन र पर्यटकहरूमा सडकले दिएको सुविधाका अतिरिक्त यी चिन्ता पनि थपिदिएको महसुश हुन्छ । यस्ता पक्षमा सम्बन्धित निकाय र स्थानीयहरुले समयमै ध्यानदिन सके मुस्ताङको सुन्दरतामा आँच आउने छैन ।

संबन्धित
सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu