महाकवि सिद्धिदास महाजु: मातृभाषीका आदर्श महाकवि

-हिमेश

भाषा म्वा:सा जाति म्वाइ ।’ अर्थात् भाषा बाँचे मात्र जाति रहन्छ । सिद्धिदास महाजुको महान् भनाइ हो यो । आफ्नो मातृभाषाप्रति असीमित प्रेम गर्ने यिनी नेपाल भाषाका महाकवि हुन् । उनको १ सय ५० औं जन्मजयन्ती हालै मनाइयो । प्रत्येक वर्ष उनको जन्मजयन्तीको अवसर पारेर विभिन्न कार्यक्रम हुने गर्छन् । उनको सम्झनाले प्रत्येक मातृभाषाप्रेमीलाई आफ्नो भाषामा कलम चलाउन प्रेरित गर्छ । सिद्धिदासको जीवनकथाले दिने प्रेरणा यही हो ।

भनिन्छ, सिद्धिदासको सपनामा पनि सुख आएन । आफ्ना छोरा सधैं नेपाल भाषा साहित्यका लागि समर्पित भएर अनवरत लागिरहेको देखेर बुवा लक्ष्मीनारायणले सोध्ने गर्थे, ‘तिम्रो मातृभाषाले के तिमीलाई खान दिन्छ ? मातृभाषा भनेर पागलजस्तै कराएर मात्र हुन्छ ?’ अझ उनलाई व्यंग्य गरिन्थ्यो, ‘यसरी आफ्नो मातृभाषा–मातृभाषा भनेर यत्तिको कराइरहने कोही छैन होला । घरमा चुल्हो रोइरहेको छ, के यो नेपाल भाषाले चुल्हो बाल्छ त ?’ तर सिद्धिदासको चासो चुलो बाल्नुमा भन्दा बढी मातृभाषाको दियो जलाउनुमा थियो ।

सिद्धिदासको जन्म काठमाडौं केलटोलको क्वाछेँ ननीमा भएको थियो, नेपाल संवत् ९८७ मा । निम्नवर्गीय परिवारमा जन्मेको हुनाले उनले सुरुदेखि दु:खी जीवन बिताउनुपरेको थियो । सानो उमेरदेखि अध्ययनमा रुचि भए पनि त्यसै कारणले पूरा हुन सकेन । अरूको सेवा गर्ने क्रममै सिद्धिदासले चाणक्य नीति, हितोपदेश, भारस्वती, महूर्तचिन्तामणि अध्ययनको अवसर पाए । परिवारकै करकापले किशोर उमेरमै उनी थापाथली दरबारमा जागिरे भए ।

रणोद्दीप सिंहको हत्यासँगै सिद्धिदासले त्यो जागिर पनि गुमाए र परिवारमा थप आर्थिक समस्या भयो । यी सबै समस्याका बाबजुद पनि उनमा मातृभाषाप्रति ठूलो प्रेम थियो । उनी नेपाल भाषामा उच्चकोटीको साहित्य सिर्जना हुनुपर्छ भन्ने मान्यता पनि राख्थे । उनी नेपाल भाषाका सपूत थिए नै, उत्तिकै बहुमुखी प्रतिभा भएका लेखक पनि । उनले आफ्नो पूरा जीवन नेपाल भाषाको अर्पण गरे ।

सिद्धिदासले पद्य साहित्यमा ‘गणपति गणनाथ’, ‘नाम काई हरिया गुम्हेसें’, ‘संसार चक्र’, ‘मां भाषं च्वे’, ‘जिगु प्रतिज्ञा’ जस्ता कविता अतिरिक्त ‘सज्जन हृदयाभरण’ जस्तो न्याय नीतिले भरिएको पुस्तक पनि लेखे । यस्तै संस्कार र संस्कृतिले भरिएको खण्ड काव्य ‘संवाद’ पनि रचे । अर्को अर्थमा भन्ने हो भने उनले नेपाल साहित्यलाई धनी पार्ने काम गरे । यसै कामले नेपाल भाषा साहित्य अझ विस्तृत र विशाल हुन सम्भव भएको हो ।

सिद्धिदासले केलटोलमा कपडाको व्यापार पनि गरे । यस क्रममा उनले स्वेदशी कपडा उद्योग खोल्ने प्रयास पनि गरे । तर सफल भएनन् र थप आर्थिक संकटमा फसे । उनी ठूलो नोक्सानीबाट गुज्रे । त्यसै कारणले केही समयका लागि वीरगन्ज पलायन भए । वीरगन्ज बसाइकै क्रममा उनको मातृभाषाप्रतिको प्रेम अझ झांगियो । त्यति बेला नै वीरगन्जका धेरै नेवारले आफ्नो मातृभाषा बोल्न छाडिसकेका थिए । यसले उनको मन रोएको थियो ।

त्यसैले उनले विचार गरे, ‘आफ्नो मातृभाषाले साहित्य लेखेर मात्र हुन्न, यसलाई किताबको आकार दिएर छाप्नु पनि पर्छ । अनि प्रचार–प्रसार पनि गर्नुपर्छ । यस्तो भए मात्र मातृभाषाको महत्त्व सबैले बुझ्नेछन् ।’ त्यसैले वीरगन्ज बसाइमा कमाएको केही रकम लिएर उनी भारतको बेतिया पुगे र

छापे, ‘सज्जन हृदयाभरण’ । उनले वीरगन्जबाट कोलकाता जाने अवसर पनि पाए र त्यहाँ बंगाली भाषाप्रतिको प्रेम र त्यसक्रममा विकास भइरहेको साहित्य पनि देखे ।

उनको समय देशमा राणाकाल थियो । तानाशाही राणाहरूलाई प्रगतिशील विचारधारा मन पर्दैन थियो । तर पनि यसै समय भानुभक्तले नेपालीमा भाषामा रामायण लेखे । यसले सिद्धिदासमा ठूलो प्रभाव पर्‍यो र यसैबाट प्रेरणा लिएर उनले नेपाल भाषा साहित्यमा क्रान्तिजस्तै ल्याउने काम गरे, नेपाल भाषामा सात काण्डको रामायण लेखेर । यही रामायण सिद्धिदास रामायण नामले प्रख्यात छ र यो नेपाल भाषाको अमूल्य कृति हो ।

सिद्धिदासका समकालीन लेखकमा पण्डित निष्ठानन्द वज्राचार्य, राहु योगवीरसिंह, मास्टर जगतसुन्दर मल्ल, खरिदार मानबहादुर जोशी, लप्टन लोकमान सिंह आदि पर्छन् । सिद्धिदासको ख्याति र प्रतिभा नेपाल भाषामा मात्र सीमित थिएन । उनले नेपालीमा पनि कलम चलाए । तर उनले नेपालीमा कति साहित्यको रचना गरे र ती कहाँ छन् भन्ने अझै अनुसन्धानको विषय छ ।

नेपाली साहित्यका पण्डित चक्रपाणि चालिसेसँग उनको नजिकको सम्बन्ध थियो । यस्तै उनले पण्डितद्वय लेखनाथ र दीपकेश्वरनाप संगतको अवसर पनि पाए ।

सिद्धिदासले राणाकालमा त्यसको विरुद्ध आफ्ना केही साहित्यकार साथीहरूसँग मिलेर साहित्य समिति पनि स्थापना गरे । यो तत्कालीन एकतन्त्रीय हुकुमी शासनविरुद्ध चुनौती थियो र यस क्रममा धेरै क्रान्तिकारी साहित्य पनि रचना भयो ।

सिद्धिदासका धेरै क्रान्तिकारी रचना तत्कालीन ‘सुन्दरी पत्रिका’ तथा कोलकाताबाट धर्मादित्य धर्माचार्यले सम्पादन गरेर प्रकाशित गर्ने ‘बौद्ध धर्म व नेपाल भाषा’ पत्रिकामा पनि प्रकाशित भयो । नेपाल संवत् १०५० मा उनी निकै बिरामी परे र ६३ वर्षमा मृत्यु आत्मसात् गरे । सिद्धिदास आफ्नो मातृभाषा र नेपालीमा साहित्य रचनाको कर्तव्य पूरा गरेर अमर बने । मातृभाषा प्रेमीका लागि उनी चिरकालसम्म प्रेरणाका स्रोतका रूपमा रहनेछन् ।

कान्तिपुर  (भाद्र ३१, २०७४) बाट

प्रकाशित मिति २०७४ कार्तिक १७ ,शुक्रवार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu