गगनले स्वास्थ्यमन्त्रि हुदा गरेको निर्णयको प्रभाव: आजदेखि प्रहरी अस्पताल जनताको लागि खुला

निवर्तमान स्वास्थ्य मन्त्रि एवम नेपाली कांग्रेसका युवा नेता गगन थापाको पहलमा विसं २०७४ जेठ ४ गते मन्त्रिपरिषद्को बैठकले प्रहरी अस्पताल र सैनिक अस्पताल सर्वसाधारण नागरिकका लागि खुला गर्ने निर्णय गरेको थियो । जसको नतिजा स्वरूप सैनिक अस्पताल यसअघि नै नागरिकका लागि खुला गरिसकिएको छ र अस्पतालमा सबै प्रकार रोगको उपचार हुँदै आएको छ । गगन थापाको त्यही पहल स्वरूप महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आज आइतबारदेखि सर्वसाधारणका लागि पनि खुला गरिएको छ ।

सर्वसाधारणका लागि खुला भएको स्वास्थ्य सेवाको शुभारम्भ गर्दै आइजी अर्याल , बिचमा गगन थापाको फोटो

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आइतबार सर्वसाधारणका लागि खुला भएको स्वास्थ्य सेवाको शुभारम्भ गर्दै सविधानले सुनिश्चित गरेको जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकका रुपमा व्याख्या गरिएकाले प्रहरीले पनि नागरिकका लागि प्रहरी अस्पताल खुला गरेको स्पष्ट गरे । उनले भने, ‘सर्वसाधारणका शान्तिसुरक्षा कायम गर्नुका साथै नागरिकको स्वास्थ्य पनि हाम्रो जिम्मेवारी हो, यसले जनतासँगको सम्बन्ध अझ बढी मजबुत विश्वासिलो हुनेछ, अस्पतालबाट गरिने हेरचाह र व्यवहार यसको पृष्टि गर्नेछ ।’

नागरिकलाई सेवा दिन थालेपछि सेवा पाउँदै आएका नेपाल प्रहरीका बहालवाला कर्मचारी, सहिद परिवार, पूर्वप्रहरी र उनीहरुका आफन्त तथा आश्रित परिवारले पाउँदै आएको सेवामा कुनै असर पर्न नदिन अस्पतालले ध्यान दिने उनले बताए ।

अपराह्न १ देखि ३ बजेसम्म बहिरङ्ग सेवा सर्वसाधारणका लागि दिइने बताउँदै अन्य सरकारी अस्पतालले दिँदै आएको शुल्ककै वरपर रहेर प्रयोगशाला, शल्यक्रियालगायत सबै सेवा प्रदान गरिने जानकारी अस्पतालका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक दिनेशचन्द्र पोखरेलले दिए ।

तत्कालका लागि आकस्मिक बिरामीका लागि आठ शय्या, महिला पु्रुषका लागि १०/१० श्यया र शल्यक्रियापछि राख्नका लागि चार शैय्यया छुट्याइएको छ ।

अब १५० बिरामीले भर्ना भएर उपचार सेवा लिनेछन् । अस्पतालले भविष्यमा क्षेत्रीय प्रहरी अस्पतालमा पनि सर्वसाधारणका लागि उपचार सेवा दिने विषयमा छलफल गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति २०७४ कार्तिक २६ आइतवार

संबन्धित
सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu