भारतीय अण्डर-१९ टोलीलाई हराएर नेपालले भारतलाई तनाव दिएको भारतीय मिडियाहरुमा चर्चा

भारतीय मिडियामा नेपालको जीतले चर्चा पाएको छ। मलेसियामा जारी अण्डर-१९ एसिया कप क्रिकेटमा नेपालले आज भारतलाई १९ रनले हराएपछि भारतीय मिडियामा नेपाली क्रिकेटले स्थान पाएको हो।

भारतीय दैनिक पत्रिका हिन्दुस्तान टाइम्सले आफ्नो अनलाइन संस्करणमा राहुल द्रविडको कप्तानीमा रहेको भारतीय अण्डर-१९ टोलीलाई नेपालले स्तब्ध तुल्याएको लेखेको छ।

हिन्दुस्तान टाइम्सले पछिल्लो ६ पटक अण्डर-१९ उमेर समूहमा नेपाल र भारत भिडेकोमा पहिलो पटक नेपाल विजयी भएको उल्लेख गरेको छ। हिन्दुस्तान टाइम्सले जीतपछि नेपालको सोसल मिडियामा भारतलाई जिस्काइएको समेत लेखेको छ। ‘हारले भारतलाई पछाडि धकेलेको छ किनभने भारतले अब निकै उच्च प्रशंसा बटुलिरहेको बंगलादेशको सामना गर्नुपर्ने छ’, समाचारमा उल्लेख छ।

एबिपी न्यूजको अनलाइनले नेपालले एसिया कप अण्डर – १९ प्रतिष्पर्धामा उल्टोपाल्टो गरिदिएको जनाएको छ। ‘ग्रुप ए मा कमजोर मानिएको नेपालले पहिलोपटक भारतलाई हराउने सफलता प्राप्त गरेको छ’, एबिपी न्युजले लेखेको छ।

भारतकै स्पोर्टसकिडाको हिन्दी संस्करणमा नेपालले भारतलाई हराएर तनाव दिएको उल्लेख छ। स्पोर्टसकिडाले पाकिस्तानले आजै युएईलाई पराजीत गरेको विषय समेत हेडलाइनमा समावेश गरेको छ।

समाचारमा भनिएको छ – नेपालले भारतलाई १९ रनले पराजीत गरेर तहल्का मच्चाएको छ। यो हार भारतका लागि चिन्तापूर्ण छ भने नेपालका लागि उपलब्धिपूर्ण।

वान इण्डिया हिन्दीको अनलाइनले पनि नेपालले ठूलो उल्टोपाल्टो गरेको उल्लेख गरेको छ। समाचारमा भनिएको छ – भारतीय टीमलाई १९ रनले हराएर नेपालले कडा चुनौती दिएको छ।

भारतको जि न्यूजले अण्डर-१९ एसिया कपमा भारतीय युवा खेलाडीले नेपालसँग हताशापूर्ण १९ रनको हार बेहोरेको उल्लेख गरेको छ। जि न्यूजले नेपाल एउटा एशोशिएट राष्ट्र भएको समाचारमा लेखेको छ। साथै शनिबारको बर्षाले प्रभावित खेलमा नेपाल बंगलादेशसँग पराजीत भएको पनि उल्लेख छ।

नेपाल शनिबार बंगलादेशसँग २ विकेटले पराजित भएको थियो। नेपालले अब मंगलबार मलेसियासँग प्रतिष्पर्धा गर्नेछ।-सेतोपाटिबाट

प्रकाशित मिति : २०७४ कार्तिक २७,सोमबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu