अब चोरी खाने हैन गरी खाने नेता चुनौँ !

-सरगम भट्टराई

लोकतन्त्रको ब्युटिनेश भनेको चुनाव,लोकतन्त्रको मेरुदण्ड चुनाव तर यो चुनावमा हुन्ने अदृश्य साँठगाँठको बारेमा धेरै मान्छेलाई थाहा नै छैन। अर्थात दृश्य अदृष्य शक्ति बिचको सहकार्य बिच हुने चुनावले जन्मिने प्रतिनिधि झट्ट हेर्दा जनताको तर भित्री रुपमा केहि स्वार्थ समूहको प्रतिनिधि हो भन्ने कुरा कसैबाट लुकेको छैन।

गाउँ तिर मेरा एक आफन्त छन्: असाध्यै सात्विक,असाध्यै निष्ठावान्, असाध्यै जनप्रेमी। उनको चरित्रलाई कुनै युगपुरूष या नारीसंग तुलना गरे फरक पर्दैन। उनले राजनीतिलाई कहिल्यै पेशा बनाएनन् समाजसेवा नै गरिरहे, कसै संग आफ्नो फाईदाको लागि भनेर हात पसारेनन्, आफ्नो पार्टीका दिवंगत हरुलाई अहिले पनि आदर्श मानेर उनी हिडिरहेका छन्।अमुक पार्टीको राजनीति बाबुको पाला देखि नै गर्दै आएका उनी त्यो क्षेत्रका जनताले अत्यन्तै मन पराएका मान्छे हुन्।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन त पक्का हुने नै भयो तर पार्टीले केन्द्रमा पठाएको उमेदवारको सिफ़ारिशमा उनी परेनन्। उनले मन अमिलो गराएर पार्टीको निर्णय माने।तर पार्टीमा नव प्रवेशी फलानो बाबुले टिकट हात पारे। जसले हिजो पनि अमुक पार्टीमा प्रवेश गरेरै उनले चुनाव जितेका थिए, उनी संग चुनावमा खर्च गर्ने मनग्गे पैसा छ।तर यस पाली उनको पुरानो दल कमज़ोर भए पछि उनले केन्द्रीय नेताहरुको अगाडि भाषण गर्दै मुठ्ठी कँसेर अभिवादन गरे र बडो क्रान्तिकारी देखिदै देश र जनताको हितमा लाग्ने प्रण गरे,अर्को दिन उनै नव प्रवेशीले टिकट पाए । उनी संग अथाह पैसा छ त्यसैले जुन कुनै हालतमा उनले चुनाव जित्नेछन्।

नाम किन उल्लेख गरी रहनू: मेरा आफन्त, पार्टीका वफादार सिपाही, जनआन्दोलनका योद्दा, जिउँदो शहिदले यो सब देख्छन् अनि कारवाही हुने डरले चुप लाग्छन्। कहिल्यै राजनीति नगरेकाहरु सांसद मन्त्री बन्ने लोभमा अमुक पार्टी प्रवेश गर्छन्, त्यस पछि करोड़ौ चढाउँछन् र सांसदको टिकट हात पार्छन्। बर्षौँ देखि चप्पल फटालेर रुट लेभलमा राजनीति गरेको अमुक कार्यकर्ता हेरेको हेर्यै हुन्छ।

ती नव प्रवेशी मध्ये धेरै जसोले चुनाव जित्छन् किनकी तिनीहरु संग पैसा हुन्छ, आम मतदाताहरु ग़रीबी र अज्ञानतामा तिनैलाई भोट हाल्छन् अनि हिजोको ख़र्च उठाउन तिनै सांसद, मन्त्रीहरुले गुण्डागर्दी, दवाव, काग़ज़ मिलान गर्छन, ठेक्का पट्टा हात पार्छन र चुनाव खर्च उठाउँछन्, निर्वाचन आयोग हेरेको हेर्यै हुन्छ। वफ़ादार कार्यकर्ता पनि हेरेको हेर्यै ! अर्थात राजनीतिको मियोँ कि त डनवाला संग छ कि त धनवाला संग।

ताज़ा उदाहरण गुण्डा नाईके दिपक मनाङ्गे नै छन्। कांग्रेस प्रवेश गरेका अभिशेख प्रताप शाह नै छन्। एमाले प्रवेश गरेका बृजेश गुप्ता पनि छन्।चुनावको समयमा पार्टी प्रवेशको होड़को पर्दा भित्र ठूलो पैसाको चलखेल हुन्छ भन्ने कुरा कमैलाई थाहा छ। जित्ने अभिमानमा भित्रने र भित्र्याउनेहरुले निम्नतम राजनैतिक धर्म निभाउँदैनन्। निभाएका छैनन्।

अहिले एमाले सहितको बाम गठबन्धन र कांग्रेस सहितको लोकतान्त्रिक गठवन्धनको चर्चा छ । आफू आफूलाई परस्पर बिरोधी ठान्दै आएका एमाले र माओवादी बिचको यो गठबन्धन पनि निष्ठाको गठबन्धन नभई सत्ता कब्जाको गठबन्धन मात्र हो। भोलि मिलीजुली सरकार र राज्यकोषको दुरुपयोग गर्ने गठबन्धन हो। आचरणगत रुपमा ख़राब ईतिहाँस बोकेका ब्यक्तिहरु एक आपसमा मिलेर लोककल्याणकारी काम गर्छन् भनेर सोच्नु भूल हो। त्यसै गरी बिगत अठ्ठाईस बर्ष देखि सबै भन्दा बढि समय सत्तामा बसेका कांग्रेस, राप्रपा र मधेश केन्द्रित दलहरुको गठबन्धन मध्ये कुन चाहिँ पवित्र गठबन्धन हो भन्ने कुरा समयले बताउला। तर यो पङ्तिकारको ठहर के हो भने यी गठबन्धनहरु केवल ठगबन्धन मात्र हुन्।

हो, पक्कै पनि चुनाव लोकतन्त्रको मेरुदण्ड हो। यसले जनताबाट प्रत्यक्ष रुपमा प्रतिनिधि निर्वाचित गर्छ र तिनै प्रतिनिधिहरुले देश र जनताको हितमा काम गर्छन्। तर हाम्रो सन्दर्भमा यो सिनारियो पूरै परिवर्तन भईसकेको छ। पार्टीहरु प्राय: नैतिक रुपमा पतन या बिघटनको संघारमा छन्।

सिफारिश या टिकट प्राप्ती:

गत स्थानीय चुनावमा मात्र ठूला दलको प्रमुख पदमा उमेदवारी सिफ़ारिश हुँदा मात्रै पनि बीस देखि पचास लाख सम्म पार्टीलाई बुझाएर उमेदवार बनेको चर्चा सेलाएको छैन। अब हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावमा यो भन्दा पनि ख़राब अभ्यासहरु भईरहेको हामीले सुनेकै छौ। यो बेला एउटा दल परिवर्तन गर्दै अर्को दलमा भित्रिनेहरुको भित्री रुप भनेको पैसाको खेल हो भनिरहनु पर्दैन।बवन सिंह जस्ता डनले चुनाव जितेको पनि हाम्रै देश हो।

चुनाव खर्च:
अनेक जाल झेल र तिकडम गरेर प्राप्त गरेको उमेदवारीमा प्रचार प्रसार देखि लिएर कार्यकर्तालाई खुवाउने कुरा त सामान्य भए, बिभिन्न पिछडिएको ठाउँमा बिशेष गरि ठूला ठूला रात्रि भोज आयोजना गर्ने गरेको प्रमाण दिईरहनु पर्दैन। त्यसै गरि आफ्नो बलियो बिरोधीको बिरुद्दमा डमी उमेदवार उठाएर उसको भोट कटाउने र उसलाई आकर्षक रक़म लगानी गर्ने कुरा बिचरा निर्वाचन आयोगलाई के थाहा? चुनावको अघिल्लो रात हुने रक्सी र मासुको छेलो खेलोले अर्को दिन कसैको जीत सुनिश्चित गर्छ भन्ने कुरा निर्वाचन आयोगले रोक्न कसरी सकोस् र?

चुनावमा परिचालन गर्ने प्रचार समूह:
अचेल चुनावमा चुल्ठे मुन्द्रे र डनहरु परिचालन नगरे संबन्धित निर्वाचन क्षेत्रमा छिर्न पनि गाह्रो छ। सुरक्षा निकायले मोस्ट वान्टेड भनेका दिपक मनांगे त ने. क. पा. एमालेबाट उमेदवार सिफ़ारिश समेत भईसकेका थिए चौतर्फी बिरोध पछि उनको नाम अन्तिम सूचिमा त समाबेश भएन तर एमालेकै समर्थनमा उनी जागेका छन् अर्थात तिनै डन साहेब एमालेको आधिकारिक हुन् भन्ने समाचार पनि सुनिएकै छन्।त्यस्तै कुख्यात डन गणेश लामा पनि कांग्रेसबाट उमेदवार बनेका छन्। यस्ता डनहरुले जितेर देश र जनताको लागि केहि गर्छन् भन्ने कसरी पत्याउनु?

बिजयी पश्चात बिभिन्न स्वार्थ समूह संगको सम्बद्दता:
चुनाव जित्न पार्टीको केन्द्र देखि स्थानीय गुट, ब्यापारी, कर्मचारी, गुण्डा,ठेकेदार, पेशागत समूह आदि सबैको सहयोग लिनुपर्छ। चुनाव जिते पछि उनीहरुको स्वार्थ अनुरुपको काम नगरी सुखै छैन। ब्यापारीहरुले त्यसै लगानी गर्दैनन्, ठेकेदारलाई नयाँ नयाँ ठेक्का ज़रूरी हुन्छ, कर्मचारीहरुलाई आकर्षक स्थान चाहिन्छ, जितेपछि ती सबैको चित्त बुझाउँदा पाईला पाईलामा भ्रष्टाचार भईरहन्छ।अहिलेको ६४ जनाको ऐतिहासिक जम्बो मन्त्रीमण्डल यहि सत्ताकै चुम्माचाटको पछिल्लो अध्याय हो।

आफ्नो लगानीको सुनिश्चितता:

पहिलो कुरा नेपालमा राजनैतिक स्थिरता छैन, निर्वाचित पदहरु जस्तै मन्त्री, सांसद समेत कति बेला बिघटन हुने हो भन्ने डर छ। छ छ महिनामा दलीय भागवण्डा नमिल्दा मन्त्रीमण्डल परिवर्तन हुने हुनाले कति बेला पद खुस्किन्छ भन्ने भय भईरहन्छ। त्यसैले नीति मिचेर या स्वार्थ अनुरुप नयाँ बनाएर सकेको भ्रष्टाचार गरी आफ्नो लगानी उठाउनु, बिदेश भ्रमण गर्नु आदि सामान्य जस्तै भएको छ। मेडिकल शिक्षामा चरम बिसंगती बिरुद्द डा. गोविन्द के.सी. ले तेह्र पटक सम्म सत्याग्रह गर्दा पनि उनको माँग नसुनी सिंगल सिंगल भिडौँ भन्ने सभासदहरु पनि यहिँ छन्।

सत्ता र शक्तिमा आएपछि सार्वजनिक स्रोतको दुरुपयोग गर्दै मोबाईल किन्ने, केहि बर्ष अघिका गाड़ी पनि मर्मत नगरी महंगो गाड़ी किन्ने जस्ता सुबिधाभोगी कामहरु गरेको तर जनताको चासोलाई वेवास्ता गरेको उदाहरण ताजै छ।

घोषणापत्र हैन शोषणपत्र :
पुराना पार्टीहरुका घोषणापत्र हेर्दा यस्तो लाग्छ उनीहरुमा देश बदल्ने जादू नै छ। यत्रो बर्ष सम्म केहि नगर्ने तर जनताको आँखामा छारो हाल्न रेल देखि जहाज़ सम्मका लम्बेतान गफ दिने, राम्ररी शास फेर्न समेत नसकिने शहरलाई स्मार्ट सिटी बनाउँछु भन्ने, भ्रष्टाचारकै आरोप लागेर जेल बिताएकाहरु टिकट बाँड्ने प्रमुख हुने र तिनैले भ्रष्टाचारको बिरोध गर्ने कुरालाई पत्याएर फेरि पनि ती अघोषित शोषण पत्रमा बिश्वास गरेर तिनीहरुलाई नै भोट दिने हो भने देशमा परिवर्तन कहिल्यै हुने छैन।

बिकल्प के?

राजनैतिक संस्कार गतिलो नहुनाले हामीले संसारकै राम्रो मध्येको ब्यवस्था लोकतन्त्रको राम्रो संग अनुभूति गर्न पाएका छैनौँ।सिमित बर्ग र स्वार्थ समूहले राज्य संयन्त्र चलाईरहेको छ। यसैले यस्तो स्वार्थ समूहलाई ईमान र नैतिकताले हस्तक्षेप गर्नै पर्ने बेला आएको छ। आचरणगत रुपमा सहि र शिक्षित ब्यक्तिहरु राजनीतिमा आउने क्रम बढेको छ, खबरदारी गर्नेहरुको संख्या उल्लेख्य छ।उदाउँदो आशा लाग्दो शक्तिको रुपमा विवेकशील साझा पार्टी देखिएको छ।

बिशेष गरी उमेदवार छनोटमा खुला आवेदन प्रणाली लागु गर्ने, लोकप्रियताको आधारमा उमेदवार छनोट गर्ने,उमेदवारका खर्चहरु कड़ा रुपमा अनुगमन गर्ने छुट्टै संयन्त्र बनाई कड़ाई गर्ने तथा सबैभन्दा महत्वपूर्ण योग्यता प्रणालीलाई अंगिकार गरी कानूनको शासन कडाईपूर्वक लागू गर्नु हो। भनसुन र चम्चागिरीको राजनीति रहेसम्म जुन सुकै तहमा भ्रष्टाचार हुनबाट रोक्न गाह्रो पर्छ। यसको लागि नियत सहि भएका मान्छे हरुलाई चुन्नै पर्छ जसले राम्रो नीति बनाउने छन्।

आदरणीय मतदाताज्यूहरु बेलैमा सोचौँ है। अब चोरी खाने हैन गरी खाने नेता चुनौँ, विवेकी बनौँ। यस पटक समृद्धि हाम्रै जीवनकालमा भनेर होमिएका राम्रा मान्छेहरुलाई भोट दिऊँ।

प्रकाशित मिति : २०७४ कार्तिक २८,मंगलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu