धानखेत र अलैंची बगानमा पुगेका उम्मेदवार भन्छन् :‘अलैंचीको भाउ बढाइदिन्छौं’

ताप्लेजुङ, कात्तिक २८ । मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार ताप्लेजुङमा पनि चुनावी अभियान लिएर गाउँ-गाउँ पुगिरहेका छन् ।

पूर्वाधार निर्माण र आर्थिक विकासलाई मुख्य एजेन्डा बनाएर चुनावी अभियानमा लागेका उम्मेदवारलाई ताप्लेजुङका मतदाताले भने अलैंची खेतीको विकास र भाउ सुनिश्चितताको ग्यारेटीसहितका एजेन्डा ल्याउन माग गरेका छन् ।

आगामी मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सबै दलका उम्मेदवार जिल्लाको विकासका लागि यस्तै एजेण्डा बोकेर भोट माग्न गाउँ गाउँ चहारी रहेका छन् ।

केहि दलका उम्मेदवारले गाउँ अभियानलाई जारी राख्दै केन्द्रिय नेता नै बोलाएर सदरमुकाममा विशाल आमसभा पनि गरिरहेका छन् ।

तर ताप्लेजुङको मुख्य नगदे बाली अलैंची टिप्ने र सुकाउने समय पनि यहि भएकाले अधिकांश स्थानीय अलैची बगानमा भेटिन्छन् ।

गाउँमा निश्चित केन्द्र बनाएर चुनावी सभा आयोजना गर्न हिडेका उम्मेदवार र दल सभामा मान्छे कम हुने हुँदा धानखेत र अलैची बगानमा नै पुगेर आफ्ना एजेण्डा सुनाउँदै भोट मागिरहेका छन् ।

उम्मेदवारले ठुला योजना भन्दा पनि अलैंचीको भाउ निरन्तर ओलारो लागिरहेको यो समयमा ताप्लेजुङको मुख्य नगदे बाली अलैचीको भविश्य र मुल्य बृद्धिका लागि योजना र लक्ष बनाउनुपर्ने स्थानीयको माग छ ।

दुई वर्ष अघिसम्म प्रति मन (४० किलो) को १ लाख १० हजारसम्म अलैंची बेचेका कृषकले भाउ बढ्ने आसामा धान खेति हुने जग्गानै मासेर अलैचि खेति लगाएका थिए ।

तर एक वर्ष अघिबाट अलैचिको भाउ ओरालो लागेपछि ताप्लेजुङका कृषक चिन्तित बनेका छन् ।

भाउ बढ्ने आसामा एक वर्ष देखि थन्क्याएको अलैचि पनि विक्री नगरी राख्दा अझै भाउ घटेर २५ हजारमा झर्दा पनि सरकारले मुल्य बृद्धिमा चासो नदिंदा विहान बेलुकाको छाक टार्ननै समस्या हुन लागेको उनीहरुको गुनासो छ ।

चुनावको समयमा आउने उम्मेदवारले स्थानीयलाई अलैंचीमा सिंचाइ, व्यवस्थापन र मुल्य बृद्धिका लागि पहल गर्ने आसा देखाए चुनाव जिते पनि आफुहरुलाई वेवास्था गर्ने गरेको गुनासो स्थानीयको छ ।

ताप्लेजुङको फक्ताङ्लुङ गाविसमा रहेको साविकको ओलाङ्चुङगोला गाविस बाहेक सबै स्थानमा अलैंची हुने गरेको छ । अलैचीको विक्रीबाट स्थानीयले पनि राम्रो आम्दानी गर्न सक्छन् ।

कृषकहरु खेति तर्फ आकर्षित भईरहेको यो समयमा नेतृत्व तह पुगि आर्थिक विकासको एजेण्डा बनाउने अहिलेका उम्मेदवारले कृषकको भावना बुझि अलैचिको गुणस्तर सुधार मुल्य बद्धि सँगै बजार व्यवस्थापनलाई पनि ध्यानमा राख्दै अगाडि बढे जिल्लाको आर्थिक विकासमा थप टेवा पुग्ने देखिन्छ ।रविन भट्टराइले लेखेका समाचार इमेजखबर बाट लिइएको हो ।

प्रकाशित मिति : २०७४ कार्तिक २८,मंगलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu