व्यवसायी गौचनलाई गोली हानेर भागेपछि सुटरले बाटैमा आफ्नो हुलिया परिर्वतन गरेको थियो

काठमाडौंमा करिब एक महिना अघि हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ‘सुटर’ सहित ५ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

घटनाको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा महानगरीय प्रहरी आयुक्त चन्दले घटनाको पछाडि आर्थिक पाटो लुकेको बताए ।

“मनोज पुनले केही रकम मागेको देखियो, नदिएपछि उनको योजनावद्ध तरिकाले हत्या गरेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको छ,” उनले भने,“हत्याको योजना एकमहिनादेखिनै बनेको रहेछ । हत्याकै लागि हतियार र सवारी साधन भारतबाट ल्याइएको देखिएको छ ।”

गौचन हत्याको छानबिन गर्न बनेको समितिका अनुसार हत्याको योजना एक महिना अगाडिदेखि नै बनेको थियो ।

त्यहीअनुसार उनलाई एक महिनादेखि नियमित निगरानी गर्दै आइएको थियो । हत्यामा नेपालीहरुको मोटरसाईकल प्रयोग गर्दा छिट्टै पत्ता लाग्ने भएका कारण साईन ब्राण्डको मोटरसाईकल पनि भारतबाटै चोरी गरि ल्याइएको प्रहरीले अनुसन्धानपछि जानकारी दिएको छ ।

भारतीय नम्बर प्लेट फालेर नेपाली नम्बर प्लेट बा ३५ प २४६१ राखिएको थियो ।

त्यो मोटरसाईकल चोरीको भएका कारण शिवजी महतोले भारतको वेतियाबाट १८ हजारमा किनेर ल्याएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

महतोले नै भारतको वेतियाबाटै ५५ हजार रुपैयाँमा पेस्तोल खरिद गरेको पनि प्रहरीले जानकारी दियो । हतियार र मोटरसाइकल तयार भएपछि गौचनको पिछा गरिएको थियो ।

गौचनलाई गोली प्रहार गरी भागेलगत्तै सुटर स्याङ्तानले बाटोमै हुलिया परिर्वतन गरेको सीसीटीभी फुटेजबाट खुलेको छ । उनले गोली हानी सिनामंगल क्षेत्रमा पुगेर टोपी बाटोमा फाले र केही पर गएपछि ज्याकेटसमेत फालेर नुवाकोटतिर हानिएका थिए ।

यी सबै कुरा प्रहरीले विभिन्न स्थानमा कैद भएका सीसीटीभीको फुटेज र उनीहरुको बयानबाट पुष्टी भएको जानकारी दिएको छ । “उनीहरु बच्न यतिसम्म गरेको देखियो,” समितिका संयोजक केसीले भने, “घटनालगत्तै सबैजना आ–आफ्नो बाटो लागे । अन्तमा सुटरले गोली हान्दा भित्र जुन टिसर्ट लगाएका थिए प्रहरीले पनि त्यही टिसर्ट लगाएकै अवस्थामा पक्राउ गर्यो ।”-बाह्रखरीबाट

प्रकाशित मिति : २०७४ कार्तिक २८,मंगलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu