अहिलेसम्म उपचार पत्ता नलागेको एउटा ‘खतरनाक’ रोग जुन वैज्ञानिकहरुको टाउको दुखाइ बन्दैछ

बालकोटकी ५५ वर्षकी सीता थापामा अचम्मको स्वाभाव देखिन थालेको छ। उनलाई आफ्नो नाम याद छैन। आफ्नै आफन्तहरुलाई समेत चिन्दिनन्। दैनिक सामान हराउँछिन्। पैसाको कारोबार बिर्सिन्छिन्। अनावश्यक भड्किने स्वाभावको कारण दिनहुँ जसो झगडा पर्छ।

तर, आफूमा समस्या भएको उनलाई थाहा छैन। कसैले भन्दियो भने त्यसैसँग झगडा गर्न पुग्छिन्।

उनको परिवार चिन्तित छ। धेरै अस्पताल धाएपछि बल्ल रोग पत्ता लाग्यो, डिमेन्सिया अर्थात् बिर्सने रोग। यो रोगको न कुनै उपचार छ, न कुनै औषधि नै बनेको छ।

यकिन तथ्यांक नभएपनि सीता जस्तो नेपालमा एक लाखभन्दा बढीलाई यस्तो बिर्सने रोग भएको मनोविश्लेषक बासु आचार्य बताउँछन्। विशेषगरी ५० वर्षभन्दा माथि उमेर समूहको मानिसलाई यस्तो रोग लाग्ने आचार्य सुनाउँछन्।

विश्व स्वास्थ्य संघको तथ्यांकअनुसार ६० वर्षमाथिका हरेक १० जनामध्ये एकजना कुनै न कुनै किसिमको बिर्सने रोगबाट पीडित छन्। विश्वभर ४७ मिलियन मानिसमा डिमेन्सियाको कारण पागलपन देखिएको छ। तर, यो मष्तिश्कको रोग हो, पागलपन भने हैन।

प्रत्येक ६८ सेकेण्डमा १ जनामा डिमेन्सियाको समस्या देखिन्छ भने सन् २०५० सम्ममा प्रत्येक ३३ सेकेण्डमा एक जनामा डिमेन्सिया देखिने विश्व स्वास्थ्य संघले बताएको छ। एक वर्षमा १० लाख नयाँ मानिसहरुमा यो रोग लाग्ने देखिएको छ।

विश्व स्वास्थ्य संघको तथ्यांक हेर्दा प्रष्ट हुन्छ यो रोगबाट विश्वभरका मानिसहरु पीडित छ्न्।

के हो त डिमेन्सिया ?

मनोविश्लेषक आचार्यका अनुसार डिमेन्सिया एक प्रकारको बिर्सने रोग हो, जुन दिमागसित सम्बन्धित हुन्छ। यसले स्मरण शक्ति, सोच्ने क्षमता लगायत मानिसको व्यवहारलाई असर पार्छ। शारीरिक, मानसिक, सामाजिक, आर्थिक र भविष्यमा परिवार र समाजलाई नै यो रोगले तहसनहस गर्छ।

‘यो बुढेसकालमा देखिने लक्षण मात्र हैन, मष्तिश्कमा लाग्ने रोग नै हो,’ आचार्य भन्छन्, ‘यो रोगले प्रत्येक ६८ सेकेन्डमा आफ्नो प्रभाव देखाउँछ।’

कसरी हुन्छ ?

आचार्यका अनुसार उमेर बढ्दै गएपछि मष्तिष्कमा रसहरु उत्पन्न गर्ने स्नायुकोषहरु हराउँदै जान्छन् भने मष्तिश्कका स्नायुकोषहरु मर्दै जान्छ। मष्तिश्क फाट्ने सम्भावना समेत हुन्छ। डिमेन्सिया हुने मुख्य कारण यही हो।

‘करिब ७० प्रतिशत डिमेन्सिया अलजाइमर रोगका कारणले हुन्छ। अत्यधिक मदिरा सेवन, एचआइभी एड्स, र मष्तिस्कमा रक्तसञ्चार राम्रो हुन नसक्दा मल्टी इनफ्रक्ट डिमेन्सिया हुन्छ,’ आचार्य भन्छन्, ‘प्रायः डिमेन्सिया रोग ५० वर्ष उमेरपछिका मानिसहरुमा धेरै देखिन्छ। र ७०, ८० वा ९० वर्षका मानिसहरुमा डिमेन्सिया हुने सम्भावना बढ्दै जान्छ।’

यो रोग लागेको पत्ता लगाउन सजिलो भएको आचार्य बताउँछन्। आफ्ना आफन्त र आफ्नै नाम पटक पटक बिर्सने र सामानहरु हराउने जस्ता लक्षणहरु बारम्बार देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्ने आचार्य सुनाउँछन्। यो डिमेन्सियाको पहिलो चरणको लक्षण अर्थात् अलजाइमर हो।

लुगा लगाउन गाह्रो पर्ने, नजिकको मानिस चिन्न नसक्ने र सामान्य परिस्थितिको सामना गर्न नसक्ने भयो भने दोस्रो चरणको डिमेन्सिया सुरु भएको बुझ्नुपर्ने आचार्य बताउँछन्। भन्छन्, ‘यो रोग सहनु बाहेक अन्य विकल्प पनि छैन।’

शरीरको तौल घट्ने, छालामा संक्रमण देखिने र बोल्नमै समस्या देखापर्ने डिमेन्सियाको अन्तिम लक्षण भएको आचार्य बताउँछन्।

विश्व स्वास्थ्य संघका अनुसार यो रोगको उपचार तथा रोकथामको लागि विश्वभर अध्ययन अनुसन्धान भएको छ। तर, अझै पनि कुनै सफलता हात लागेको छैन। यो रोग विश्वभरका मेडिकल साइन्टिस्हरुको लागि चुनौति बनेको छ।

पूरै उपचार हुन नसकेपनि यो रोग लाग्न नदिन अगाडि नै सजग हुन सकिने आचार्य बताउँछन्।

रोग लाग्न नदिन के गर्ने ?

भिटामिन बी र थाइराइडको कमीले डिमेन्सिया हुन्छ। भिटामिन बी नियमित सेवन गरे रोग लाग्नुपूर्व बच्न सकिन्छ।

डिप्रेसन, धेरै मानसिक तनाव, निद्राको समस्या, लागू औषधीको प्रयोग र धेरै मदिरापानको कारण डिमेन्सिया हुने खतरा बढ्ने आचार्य सुनाउँछन्। यस्ता कुलत समयमै छोड्न सकेपनि डिमेन्सियाबाट बच्न सक्ने आचार्यको कथन छ।

उच्च रक्तचापको उचित उपचार, शरीरको तौल नियन्त्रण, नियमित शारीरिक व्यायाम, खानपिनमा ध्यान र पोषण तत्वहरुको कमी हुन नदिने हो भने डिमेन्सिया हुने सम्भावना निकै कम हुने गरेको विश्व स्वास्थ्य संघले जनाएको छ।

आचार्यका अनुसार यो रोगको उपचार नै नभएपनि यही रोगबाट मानिस मर्दैन। दैनिक क्रियाकलाप गर्न असहज हुने र बिर्सने समस्याको कारण अन्य खतरा आउने भएकाले यो रोगले मानिसलाई जीवनभर छोड्दैन।

यस्तो रोग लागेको मानिससँग नरिसाउने, नझर्किने सधैं एकजना मानिस साथमा रहेर हेरचाह र माया गर्नुपर्ने आचार्य सुनाउँछन्। भन्छन्, ‘यो रोगलागेपछि माया र हेरचाह बाहेक अन्य विकल्प नै छैन। यो रोग विश्वभरको समस्या हो।’

डिमेन्सिया पीडितहरु व्यक्तिगत सरसफाई र खानपिन समेत गर्न नसक्ने हुँदा समस्या पर्ने आचार्य सुनाउँछन्।

‘घर बाहिर गए भने बिरामी फर्कन नसक्ने भएकाले घरको ढोका, गेट राम्रोसँग बन्द गर्नुपर्छ,’ आचार्य भन्छन्, ‘बिरामीको खल्तीमा घरको नाम, ठेगाना, फोन नम्बर भएको कार्ड राखिदिन सक्यो भने हराएमा खोज्न सजिलो हुन्छ।’

सागर बुढाथोकी/पहिलोपोस्ट

२०७४ मङ्सिर  १

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu