ललितपुरको लेलेबाट देवीचैर हुँदै देउराली पुगिने हाइकिङ रुट (फोटो फिचर)

घुमफिरका बहाना अनेक हुन्छन् । व्यस्त दिनचर्याबाट त्राण पाउने उद्देश्य हुन्छ, अधिकांशको । तर घुमफिर सधैं रमाइलोका लागि मात्र हुँदैन । कहिलेकाहीं कसैको दुःख देखेर जीवनको शिक्षा लिने उद्देश्यबाट पनि घुमफिरमा निस्कन सकिन्छ ।

यस्तै एउटा गन्तव्य हो, ललितपुरको लेलेबाट देवीचैर हुँदै देउराली पुगिने हाइकिङ रुट ।

यो छोटो हाइकिङमा विनासकारी भूकम्पले निम्त्याएको दुःखद अवस्था प्रत्यक्ष अनुभव हुनेछ । गाउँमा उपलब्ध काठपातबाट बनेका अस्थायी टहरा, जस्ता र त्रिपालभित्रको कष्टकर जीवनशैली आफैंले अनुभव गर्न पाइनेछ, यस गन्तव्यमा ।

गाउँले जीवनको बदलिँदो आयाम बुझ्न पनि उपयोगी हुनसक्छ, यो रुट । यो यात्रामा दुःख मात्र छैन, सुविधासम्पन्न र व्यवस्थित बस्तीहरु पनि देख्न पाइन्छ ।

गाउँ-गाउँमा सडक पुगेको छ । दुई या चार पांग्रे सवारी साधन पनि प्रयोग गर्न सक्छन्, यात्रुले ।

विपन्न तामाङ समुदायको बसोबास छ, उक्त क्षेत्रमा । उनीहरुको रहनसहन, भेषभुषा र संस्कृति बुझ्न यात्रा उपयोगी हुन सक्छ ।

लेले, टीकाभैरव, हनुमाठ, बुरुञ्चुली र देउरालीको यात्रामा पुरातात्विक महत्वका देवालयहरु प्रसस्त छन् । मनकामना, फुल्चोकी माई, तिलेश्वर, चम्पेश्वरी, टीकाभैरव, सिंगे ढडुप, साँगे चैत्य, दूधेश्वर महादेवजस्ता देवालयको दर्शन गर्दै अगाडि बढ्न सकिन्छ ।

अन्तिम विन्दु देउराली डाँडामा पुग्दा काठमाडौं उपत्यका छर्लंग देखिन्छ । पश्चिममा अन्नपूर्णदेखि पूर्वमा विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको महालंगुर हिमशृंखलाको मनोरम दृष्यले कसको मन नलोभ्याउला र !

महाभारत पर्वतमालासँग जोडिएको छ, देउरालीे जंगल । यात्राका क्रममा मृग, खरायो, जरायोलगायत वन्यजन्तु खेलिरहेका दृष्यहरुले मन तान्छन् ।

अनलाइनखबरबाट

प्रकाशित मिति ९ मङ्सिर २०७४ ,शनिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu