रामायण,महाभारतमा समेत लेखिएको रहस्यमयी जलपरीको साँच्चिकै अस्तित्व थियो ?

जलपरी या मत्स्य कन्या एक रहस्य बनेर रहेको छ।मत्स्यकन्या (मर्मेड) हुन्छ कि हुँदैन ? विश्वभर उठेको यो जिज्ञासा रहस्यमै रहेको छ । तर यसको कल्पना र अनुमान गर्नेहरू प्रशस्तै छन् ।

के संसारमा जलपरी अहिले पनि छन् ? यो प्रश्न चिन्ह रहेको छ। हरेक देशको पौराणिक कथामा जलपरीको कहानी पढ्न पाईन्छ।यदि जलपरिको अस्तित्व थिएन भने प्राचीनकाल देखी कसरी जलपरीको कल्पना गरियो ? यस्तो कसरी भयो होला जुन चिजको अस्तित्व नै थिएन त्यसको कथा कहानी कसरी लेखियो ?

कल्पना गरिएको जलपरीको शरीरको माथिल्लो भाग युवतीको र कम्मरमुनीको भाग भने माछाको जस्तो छ।

जलपरीको बारेमा यस्तो दन्त्यकथा छ:

पौराणिक कथाहरुका अनुसार जलपरी सुरिलो आवाजमा गित गाएर मानिसहरुलाई आफूतर्फ आकर्षित गर्ने गर्थिन्। जलपरीको सुरिलो आवाज सुनेर मानिसहरु समुन्द्रमा हाम्फाल्ने गर्थे।

हिन्दु पौराणिक कथा अनुसार महाभारत र रामायणमा समेत जलपरीको उल्लेख गरिएको छ। रामायणको थाई र कम्बोडियाको संस्करणमा रावणको छोरी सुवर्णामछा सुनको जलपरी थिइन्,त्यस्तै महाभारतमा अर्जुनको पत्नी उलूपी पनि जलपरी भएको लेखिएको छ। उनी नागकन्या थिइन् र पानीमा बस्थिन्।

त्यस्तै भगवान विष्णुको मत्स्य अवतारको बारेमा पनि धर्मशास्त्रमा उल्लेख छ। जसको शरिरको तल्लो भाग माछाको झैँ र माथिल्लो भाग मानव शरीर जस्तैं थियो।

ग्रीस कहानी अनुसार अलेक्जण्डर द ग्रेटको बहिनी थेसा लर्निक मृत्युपछि जलपरी बनेकि थिइन्। उनी जलपरीको रुपमा लामो समयसम्म जिउँदो रहेकी थिइन् र उनी बस्ने इलाकामा कुनै जहाज आएमा हरेक पल्ट महान् अलेक्जण्डर जिवित रहे नरहेको बारेमा सोध्ने गर्थिन्।मानिसहरुले उनलाई अलेक्जण्डर ज्युँदो रहेको र विश्वमा राज गरिरहेको बताएपछि खुशी हुँदै जहाजलाई जान बाटो छोडिदिने गर्थिन्।यदि कसैले उनको जवाफ नदिएमा पूरै जहाजलाई समुन्द्रमा डुबाईदिने गर्थिन्।

चिनियाँ दन्त्य कथाहरुका अनुसार जलपरी बिशेष हुन्थिन्।उनको आँसुबाट मोती झर्ने गर्थ्यो। उनलाई समाउन माझीहरुले अनेक प्रयत्न गर्थे तर उनी आफ्नो सुरिलो आवाजमा गित गाएर माझीहरुलाई नै समुन्द्र भित्र आउँन बाध्य पार्थिन् र उनीहरुको पानीमा डुबेर मृत्यु हुन्थ्यो।

आधुनिक विश्वमा जाभा,पाकिस्तान,बेलायत,कोलम्बिया र क्यानडामा जलपरी देखिएको दावी गरिएको थियो। तर वैज्ञानिकहरुका अनुसार जलपरीको अस्तित्व छैन। यो मानिसहरुले कल्पना मात्रै गरेका हुन्।

प्रकाशित मिति : २०७४ मंसिर १७,आइतबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu