“किसान हुन् मेरा बा “

हिँडी रहेथेँ ‘बा’ का अादिम पाइलाहरु पछ्याँदै सडकका गल्ली गल्ली

बा को पातलो पछ्याैरा छेडेर
गोरुको काँध जस्तै कालो भएको
बा को काँध
मुसुक्क मुस्कुराइ रहेको देखेर
सडक छेवैको ठुलो घरको छतबाट
खिस्स हाँस्यो ठुलो साहु खिसीको भावमा
म फिस्स हाँसें ठुलो साहुको सानो बुद्धी देखेर

सोचें,,

मेरा बाहरुले
पैतालामा ताला लगाइदिन्थे भने
यी साहुहरुको मुखमा ताला लाग्ने थियो

मेरा बाहरुले
यो चिसो जाडोमा कठङ्ग्रीदै काउली ननिकाल्थे भने
यी सहरीयाहरुको भुंडी चाउरिने थियो

सोच्छु,,

मेरा बाहरुले
बाँझो बारी जोतेर
चट्टान जस्तै डल्ला फोरेर
चामल निकालेका थिए र पो
अाज यी साहुहरुले बिहान बिहान मल निकाल्ने सामर्थ्य राखेका छन्

मेरा बाहरुले
ज्योतिषीले भगटेको बोक्रा जस्तो बाक्लो चस्मा लगाउँदा पनि
ठम्याउनै नसक्ने गरेर हातका रेखाहरु मेटेका थिए र पो
अाज यी साहुहरुको
अाँखाले ठम्याउनै नसक्ने अग्ला अग्ला घर बनेका छन्

विष्णुलाइ भृगुले छात्तीमा लात्ती हान्दा
विष्णुले मुसुक्क मुस्काउँदै
” ऋषिवर कतै हजुरको पाउमा चोट त लागेन ? ” भनेर सोधे झैं
कमल फूल झैं मुस्कान छर्दै
मेरा बाहरु सोधिरहन्छन्
यी राहु जस्ता साहुहरुलाइ
” साहु जी कुशल मंगल हुनुहुन्छ ?”

सुन ए भ्यागुताको जस्तो अभिमान भएकाहरु
सुन ए कुम्भकर्णको जस्तो कान भएकाहरु

मेरा बाहरु गाउँले पाखे होइनन्
यो जगतको पालनहार हुन्
किनकी मेरा बाहरु किसान हुन् ।।

झलक मगर ‘खरमटारे’

प्रकाशित मिति १८ मङ्सिर २०७४ सोमबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu