हामीलाई सिंगापुर चाहिएको कि कान्तिपुर?

-सरगम भट्टराई 

पठाउँछु भन्छन् चन्द्रमामा यानहरु
तर ज्यानहरु भोकले मर्दैछन्
रेलका सपनाहरु देखाउँछन्
तर भेलमा बगेर मान्छे मर्छन्
झाडा पखालाले प्राण त्याग्छन्
मान्छे सिटामोल नपाएर ठहर हुन्छन्
तर सिंगापुरमा ज्वरो जँचाउनेहरु
हाम्रै भोट वाला हुन्
उनीहरु नोट वाला भए
कुरा चिल्ला गर्छन्, हामीले पत्याउछौँ
खोट वाला देखे पछि जिल्ल पर्छौँ
उनका सपनामा फेरि टिल्ल पर्छौँ
टोपी फेरेर फेरि तिनै आउँछन्
हामीलाई आश्वाशन र सपनाले फकाउँछन्
तर फेरि भोट तिनैलाई हाल्ने?

अचेल त खेतमै धान काट्न पुग्छन्
बारीमै जोत्न पुग्छन्
घर लिप्न र पोत्न पनि पुग्छन्
जनता नै प्राण हुन् जस्तो गरी
झुक्छन्, ढोग्छन्, रुन्छन्, हाँस्छन्
फूल मालाले ढाकिन्छन्
मानौँ हाम्रा देउता उनै हुन्
हाम्रा भरोशा उनै हुन्
अब त पक्कै गर्छन् भन्छौँ,
अनि जिते पछि टाप कँस्छन्
हाम्रै भोटले जितेर
हामीलाई नै डस्छन्
अनि फेरि अर्को चुनाव सम्म चिन्दैनन्
त्यो बाटो कहिल्यै हिड्दैनन्
थाहा छ यिनीहरुले केही गर्दैनन्
तर फेरि उनैलाई भोट हाल्ने?


अब त आँखा खोलौँ, तौलौँ
हामीलाई अहिले यान चाहिएको छ कि ज्यान?
रेल चाहिएको छ कि तेल?
सिंगापुर चाहिएको कि कान्तिपुर?
मुखमा माष्क लगाएर
खाल्डामा लड्दै उठ्दै
जवान छोरो खाड़ी पुग्छ
किन थाहा छ?
युवाका लाशहरु रातो बाकसमा दिन दिनै आउँछन्
कोही अपाङ्ग भएर
कोही लुटिएर,ठगिएर, हेपिएर
किन थाहा छ?
हामीले हाम्रो भोट खोट भएकालाई बेच्यौँ
कतै पैसामा त कतै भावनामा
उनीहरु मोटाए
हामीहरु सकियौँ
राजनीति ब्यापार बन्दा पनि
हामी लाचार बन्यौँ
थाहा छ यिनीहरुले केहि गर्दैनन्
तर फेरि तिनैलाई भोट हाल्ने?

प्रकाशित मिति : २०७४ मंसिर १८,सोमबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu