देश र जनताको लागि पुराना शासकबाट नयाँ शासकले सिक्नु पर्ने कुराहरु यस्ता छन्

-ज्ञानमणि नेपाल, इतिहासकार 

हालै नागरिक दैनिकमा रविन सायमिकोे एक व्यंग्यचित्र छापिएको छ । ठूलो भिडमा नेताले चुनावी भाषण गरिरहेका छन् । तर भाषणमा कसैले खासै ध्यान दिएका छैनन् । यता नेताको सोचाइ छ– जनता भनेका भेडाहरूको बथान हो, मैले जे बोले पनि हुन्छ, यिनीहरू कान थापेर सुन्छन् ।

यो व्यंग्यचित्रले मलाई बीसौँ शताब्दीको प्रथम चरणमा साधारण सुवेदारबाट शासन सत्ताको शिखरमा प्राइममिनिस्टरसम्म आफ्नै बलबुताले र बुद्धि चातुर्यले हुन पुगेका जंगबहादुरका अर्ति र कार्यको सम्झना गरायो । इतिहासमा जनतालाई भेडा बाख्रासरह व्यवहार गर्ने शासक थुप्रै शासक भए । तर तिनीहरूको न त कीर्ति रहेको छ, न त नाम नै । जंगबहादुर भने जनतालाई भेडासरह व्यवहार हँुदैन भन्ने कुराका प्रबल पक्षधर थिए । यो कुरा उनका व्यवहार र कार्यले देखाउँछ। मुलुकमा आम चुनावको माध्यमबाट नयाँ नयाँ नेतृत्व स्थापित हुन गइरहेको यस घडिमा हाम्रा वर्तमान र भविष्यका नेतृत्ववर्गले मनन् गर्नुपर्ने जंगबहादुरसँग सम्बन्धित राज्य प्रशासन सञ्चालनका केही ऐतिहासिक प्रसंग उल्लेख गरी यो लेख तयार गरेको छु ।

जंगबहादुरले पढ्नु त परै जाओस् बाह्रखरी पनि राम्ररी छिचोलेका थिएनन् । तर राजनीतिशास्त्रका कुरा गर्नुप¥यो, अर्ति दिनुप¥यो भने नीतिशास्त्र, अर्थशास्त्र जानेका चाणक्यनीति, विदुरनीति, शुक्रनीति छिचोलेकाले पनि उनलाई भेट्न सक्तैनथे । जंगबहादुरको मुख्य उपदेश थियो, मुख्तियार वा प्राइममिनिस्टर हुन चाहने अथवा उच्च शासकले लोभ गर्नु हँुदै हँुदैन, लोभ भनेको ठूलो पाप हो, लोभ गर्नेको मोह बढ्छ, मोहबाट सम्झने शक्ति नाश हुन्छ, सम्झने शक्ति अर्थात् विवेक हराएपछि अनि बुद्धि भ्रष्ट हुन्छ । बुद्धि भ्रष्ट भएपछि सर्वनाश हुन्छ र आफैँ नष्ट हुन्छ । गीतामा यही अर्ति कृष्णले आफ्ना फुपूका छोरा भाइ अर्जुनलाई दिएका थिए ।

त्यही कुरा जंगबहादुरले आफ्ना भाइलाई भनी सम्झाउने प्रयास गरेका छन् । उनी बेलायत भ्रमणमा गएका बखत नेपालमा कार्यवाहक प्राइममिनिस्टर चलाइरहेका भाइ बमबहादुरलाई लेखेका पत्रमा उनले जस्ता अर्ति र उपदेश लेखेका छन् ती विषय गीतामा कृष्णले अर्जुनलाई दिएका उपदेश भन्दा फरक छैनन् । यसै कारणले उनले गरेका प्रशासनिक आदेश, राज्यका प्रशासकहरूले गर्नुपर्ने कर्तव्यसम्बन्धी लिखत पत्रहरू तथा आदेशहरूको संकलनलाई ‘जंग गीता’का नाममा कमलमणि दीक्षितले सम्पादन गरी प्रकाशनसमेत गरेका छन् ।

जंगबहादुरले आफूभन्दा पहिलेका मुख्तियारहरूले लोभले जनता चिढाएकाले आफु पनि नाश भएका धेरै उदाहरण दिएर भाइलाई सम्झाउने प्रयास गरेका छन्– मेरा मावली वा जर्नेल भीमसेन थापाले धनको लोभले भेडाका बथानमा बाघ छोडिदिए । बाघले भेडाको रगत चुसेको चुस्यै ग¥यो । अर्थात् भेडाजस्ता सोझा जनतामा बाघरूपी सुब्बा कुलानन्द झा जस्ता चुसाहा शोषक प्रशासकलाई दिए । तिनले बाघले भेडाको रगत चुसेजस्तै जनतालाई सोस्नुसम्म सोसेर धन सोहोरेर सताएर कंगाल पारेकाले जनताले आशीर्वाद दिएनन् । ईश्वरले पनि सहेनन् र भीमसेन थापाले थुनिनुप¥यो र अन्त्यमा आफैँ सेरिएर मर्नुप¥यो ।

त्यस्तै उनीभन्दा पछि भएका मुख्तियार– प्राइममिनिस्टरसम्म भएका मामा माथवरसिंहले पनि भेडाजस्ता जनताउपर बाघरूपी शोषक सुब्बा हीरालाल झा जस्ता प्रशासकलाई दिएर दुनियाँ सताउँदा ईश्वरले पनि सहेनन्, दुनियाँले पनि रुचाएनन्, र माथवरसिंह आफँै मारिए । काजी अभिमानसिंहले पनि भेडाजस्ता रैतीमाथि बाघरूपी रत्नमान र लक्ष्मीपति जस्ता शोषक प्रशासक छाडिदिए । काजी अभिमानसिंहलाई पनि ईश्वरले सहेनन्, जनताले हेरेनन् र मारिए । जनरल गगनसिंह खवासले पनि भेडा जस्ता रैतीमाथि बाघरूपी शोषक सिद्धिमानसिंहलाई प्रशासक कारोबारी तुल्याई छाडिदिएका थिए ।

गगनसिंह खवासलाई पनि ईश्वरले सहेनन्, जनताले पनि चाहेनन् र ऊ पनि मारिए । मैले भने सयजना मान्छे मारे पनि भेडारूपी जनतामा बाघरूपी प्रशासकलाई दिइन् । बरू बाघलाई खोरमा हालेर मासु खान दिएर थुनेर राखेँ । यसोभन्दा जंगबहादुरले कोतपर्वमा ३१ जना भारदार मारेका, अलौपर्व र भण्डारखाल पर्वमा धेरै मानिस मारेका र उनका उपर दगा गर्नेलाई पनि मारेका हँुदा यहाँ सय जना मान्छे मारेँ भनेका होलान् । त्यति मान्छे मार्दा पनि बाघलाई खोरमा थुनेर मासु खुवाएर राखेको हुनाले मलाई ईश्वरले पनि सहे, जनताले पनि आशीर्वाद दिए, त्यसो हुँदा मेरो यो ऐश्वर्य भएको हो अर्थात् औलाधौला भएको हो भनेका थिए । यहाँ बाघलाई खोरमा हालेर मासु खुवाएर राखेँ भनेको राजा राजेन्द्रलाई लक्ष्य गरेका हुन् ।

हुन पनि राजा राजेन्द्र र कान्छी रानी राज्यलक्ष्मीकै कारण पाँडे पर्व, कोत पर्व, भण्डारखाल पर्व तथा अलौ पर्वहरू भएका थिए । यी पर्वहरूमा परी सयौँ मान्छे मारिएका थिए । पाँडेहरूको त वंशनाश नै गरिएको थियो । राजालाई खोरमा नहालेको रानीलाई निर्वासित नगरेको भए अझ अरू पनि पर्व पर्ने थिए भन्ने जंगबहादुरको भनाइको तात्पर्य थियो । राज्यका उच्च ओहोदामा पुग्ने अभीष्ट लिएका, मुख्य मन्त्री वा प्रधानमन्त्री वा मन्त्री बनेका र बन्न चाहनेले मुख्यतः लोभ भन्ने कुरा गर्नै हुन्न । शासकले जनता रिझाउने काम गर्नुपर्छ भन्दै उनले उदाहरणसाथ यी उक्ति प्रकट गरेका हुन् । उनले मुखैले मात्र यो परिपाठ पारेका हुन् कि आफ्नै कामैले गरी पु¥याएका छन् छैनन् त यो पनि अलिकति विचारणीय छ । मुखले मात्र होइन्, कामले पनि उनी जनता रिझाउने नै काम गर्थे । केही उदाहरण हेरौँ ः

सर्वप्रथम आफ्नै मावली बाबु जर्नेल भीमसेन थापाले अलोकप्रिय काम गरेर बिर्ता हरण गरेका थिए । ती हरिएका बिर्ता गूठ किपटको सट्टामा पाहाड मधेसका सरकारी ऐलानी जग्गा सट्टा दिइनेछ, पायक पर्ने ठाउँ हेरी गई विराई आवाद गुल्जार गरी खानू भन्ने आदेश जंगबहादुरले जारी गराए । यद्यपि आफू बसेको ठाउँ छोडी जान कोही अघि सरेन, जान सम्भव पनि भएन । यसो भए पनि यसले दुनियाँमा एउटा आशा जगाइदियो जंगबहादुरप्रति र उनलाई पर्याप्त सहानुभूति पनि प्राप्त भयो ।

स्वयं जंगबहादुर रैती दुनियाँले मलाई कस्तो शासक मान्दा रहेछन् मैले गरेका काम कारबाहीमा के भन्दा रहेछन् भनी बुझ्न भेस बदलेर काने टोपी लाएर गाउँ सहर टोलमा राति राति पनि घुम्दथे । जंगबहादुरले कमिसन खुवाउन पल्केकाले आफूलाई पनि लोभ देखाएर लोभ्याएको कुरा कहेका छन् । काजी हेमदल थापा र अमिन सुब्बा सिद्धिमानसिंह राजभण्डारीले तराईका सात जिल्ला पाँचसालका लागि इजारा (ठेक्कामा) दिए बेलायत जाँदा लागेको जहाज खर्च ५२ हजार चढाउँछौँ र थिति थामी रैती राजी राखी दाम काम पु¥याउँछौ भन्दा जंगबहादुरले त्यो कुरा मानेनन् र दिएनन् । बही बुझाएर फार्खत नलिउन्जेल पुराना आफ्नै नाता पर्ने, मिहिनेती, काम गर्ने सेवकै भए पनि ती लुच्चा हाकिमलाई जागिर दिएनन् । उनी श्री ५ सरकारले हामीलाई जनताको पालना गर्नका लागि खटाई पढाएको हो, सास्ती दिन होइन भन्थे । जनरलदेखि पिपासम्मका जागीरदारहरू मेरा मान्छे भए पनि मेरा भाइका मान्छे भए पनि बत्तीस लक्षण युक्त भएका भए पनि १७ थोक काम गर्न जान्ने भए पनि वही नबुझाउने, हरहिसाब गोलमाल गरी खानेलाई खोस्नू भनी उनी भन्दथे । आर्थिक मामलामा लालच गर्ने प्रशासकमाथि उनको शून्य सहनशीलता यी पंक्तिबाट स्पष्ट देखिन्छ ।

जंगबहादुरले सरकारी जागिरदार वा आफ्ना भाइभारदारले समेत कसैले पनि आम मानिसमाथि अन्याय गयो भने अन्यायमा परेका जनता हुल उठेर त्यस्ता व्यक्तिलाई सजाय दिन मिल्ने गरी आदेश दिएका थिए । त्यस्तो आदेश दिइएको व्यहोराको जंगबहादुरले नवलपरासी जिल्लाकोे नवलपुरका स्थानीय व्यक्तिहरूलाई सम्बोधन गरी लेखिएको पत्रबाट उधृत गरिएका तलका अंश हेरौँ ः

हात्तीसारका सुब्बा दरोगा राउत माहुत फनैत पछुवा वहीदार हुद्दा सिपाहीहरूले तिमीहरूका तर्फका भरमौजेमौजेमा हात्ती लगीहिर्काई भत्काई काठ बोकाउन्या खेतको गदरा (कलिलोमकै) बारीको फलफूल सागपात टिपी दिन्या सिधा सरजाम खसी बोका हास कुखुरा घिउ तेल दुध दही रक्सी नदी हँुदैन भनी कर लगाइ घरपकड गरी लिने डेरा बनाइदे भनी कर लगाउने, चुलाचौका तयार गर भनी टंटा गर्ने, बेगारीमा (सित्तैमा) भारी बोकाइ ज्याला नदिने सवालमा लेखिएको मोल नदिने हातीसारका नाउमा कसैले फिराद ग¥यो भने उसै कुराको ईख ली उनका वखत प¥याका बेलामा २।३ वर्ष पछि पनि गदराको निहु गरी तेस मौजे भरको स्वारा खेतीमा धान कटाइदिने गर्छन्, उनले भनेका वेलामा तुरुन्त नदिए कुटपिट गरी गोर्खैलौरी कस्छन्, एस्तै रित गरी हातीसारमा बस्ने मानिसले तिमीहरूलाई सारै विजाइविद्युत गर्न लाग्या भन्ने वेहोरा हाम्रा हजुरमा जाहेर भयो, तसर्थ श्री ५ सरकारको र हाम्रा भाइ छोराहरूका समेत जुन हातीसारका मानिसले गाउगाउमा पसी हात्ती लगी विजाइविद्युत गर्छन्, तिनीहरूलाई तेस मौजे भरका सबै रैती जम्मा भई ज्यान नमर्ने जिउ जखमनहुने गरी हतियार बाहेक लठ्ठी डल्लाढुंगा जेले हुन्छ हानी हातीबाट खसाई पक्री कुटी बाधी छादी छेकीथुनी जो सजाय गर्न मन लाग्छ सो गर्नु ।

रमाइलो कुरा त के छ भने अन्याय गर्ने हात्तीसारे तथा सरकारी कर्मचारीलाई जनताले पक्रेर बाँधेपछि हात्ती त फुक्काफाल हुने भयो । माहुते विनाको हात्ती जंगल पस्ने भयो । हात्ती हराउँदा सरकारलाई हुने नोक्सानीको बिगो हात्तीसारेको मेसबाट असुल उपर गर्ने । पछिपछि अड्डाका हाकिम तथा कारिन्दाहरूले उनीहरूलाई कुटपिट गरेको कसुरमा जनतालाई फौज्दारी अभियोग लगाउन सक्ने भएकाले त्यसको पनि निराकरण गर्न उनले मुलुकी ऐनको तोकिएको दफा लगाउने व्यवस्था समेत सोही आदेशबाट गरेका छन् । हात्तीसारे तथा सरकारी कर्मचारीले त यस्तो सजाय उपर कहीँ कतै उजुर वाजुर पनि गर्न नपाउने गरी बन्देज गरिदिएको छ ।

हातीबाट माउतेलाई खसाउँदा हाती भाग्यो भने त्यो हातीको मोल तेस हातीसारका दरोगालगायत त्यस हातीसारमा रहने जवानहरूका खान्कीका दामासाहीका हिसाबले हातीसारमा रहने सबै जवानबाट उठाइ लिउला, तिमीहरूले तिर्नुपर्ने छैन । हातीसारका मानिसलाई ज्यू नमर्ने जखम नहुने गरी तिनीहरूले सजाय गरेको कुरामा १ जना माथि धेरै रैती उठी जाइलागे भने हुल गरेको ठहर्छ, भन्ने ऐनमा लगी तिमीहरूलाई पक्राउ हुनेछैन । कुटपिट गर्दा रगत आए पनि तिमीहरूलाई खतबात लाग्नेछैन । एस कुरामा हातीसारको फिराद सदर मोफसल कुनै अड्डा अदालत ठाना पुलिस कसैले नसुन्नु सुन्यो भने अड्डा लाई भारी सजाय होला ।( यी प्रसंग जंगबहादुर राणाले आफ्नो कार्यकालको अन्त्यतिर विसं १८३२ को पुस महिनामा बुटवलतर्फ नवलपुरका चौधरी, जिम्मावाल तथा रैतीहरूलाई सम्बोधन गरी पठाएको रुक्का (पत्र) बाट लिइएको हो । यो रुक्का ‘जंग गीता’मा संग्रहित छ ।)

राणा शासनका संस्थापक सर जंगबहादुर प्रामइमिनिस्टरका उक्ति उपदेश मात्र होइन, त्यस अनुरूपका काम कारबाहीलाई पनि प्रकट गर्ने यी केही उद्धरण यहाँ प्रस्तुत गरेको हुँ । यद्यपि यो व्यवस्था आजका दिनमा उपयुक्त नमानिएला तर आजभन्दा झन्डै १५० वर्ष पहिलेको नेपालमा मुलुकभित्र शासन व्यस्था सञ्चालनका लागि उनले गरेका आदेश र व्यवस्था साँच्चिकै मननयोग्य छन् । सफल शासकहरूले जनताका पीर मार्कालाई कसरी सम्बोधन गर्नुपर्ने रहेछ भन्ने कुराको राम्रो उदाहरण प्रदान गर्छन् ।

निर्वाचनको परिणाम आउँदै जाँदा अब मुलुकले विभिन्न तहहरूमा नयाँ नयाँ नेतृत्व पाउनेछ । अबको पाँच वर्ष केन्द्र तथा प्रदेशको शासन व्यवस्था उनीहरूले नै सम्हाल्नेछन् । त्यसैले नयाँ नेताहरूले पुराना शासकलाई चिन्ने उनीहरूको सफल कार्यशैलीलाई मनन गर्ने यो उपयुक्त बेला हो । उस बेलाका निरंकुश जमानाका शासक पनि जनताका पक्षमा यति संवेदनशील हुँदा रहेछन् भन्ने कुरा उल्लिखित प्रसंगबाट देखिन्छ । आजको दिनमा गणतन्त्र कालका नेता तथा शासकले जनताका पक्षमा कसरी काम गर्नुपर्ने रहेछ भनेर आफैँलाई परीक्षण गर्न पनि यस घटना र आदेशले उत्प्रेरणा प्रदान गर्छ । त्यस्तै आर्थिक मामलामा लालच गर्ने भएकाले जंगबहादुरका आफ्नै ज्वाइँ नाता पर्ने भए तापनि हेमदल थापा र सिद्धिमानसिंह राजभण्डारीको टोलीलाई तराईका सात जिल्ला इजारामा दिन मानेका थिएनन् । उनीहरूले श्री ३ जंगको बेलायत यात्रामा भएको जहाज खर्च ५२ हजार रुपियाँ बराबरको रकम पनि दिन्छु भनेका थिए । तर उनीहरूको विगत राम्रो थिएन, वही बुझाएका थिएनन् र सरकारी हरहिसाब गोलमाल गरी खाने गरेको उनीहरूको पृष्ठभूमि थियो । त्यसैले जंगले इन्कारी गरे ।

विगतको निरंकुश जमानामा समेत सुशासनका पक्षमा रहेका, राष्ट्रको ढुकुटीको मुनासिब ढंगले उपयोग गर्ने, जनताको पक्षमा रहेर कार्य गर्न खुबी भएका शासकहरू मात्र राष्ट्रको इतिहासमा लामो कालखण्डसम्म स्मरणीय हुने रहेछन् भन्ने थोरै भए पनि बुझ पलाएमा भविष्यमा मुलुकले सुशासनको अनुभव गर्ने र देशको शासन व्यवस्था जनताको पक्षमा केन्द्रित हुन सक्ने अपेक्षा गर्न सकिन्छ ।

नागरिकन्युजबाट

प्रकाशित मिति : २० मङ्सिर २०७४ बुधबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu