२४ बर्षीय हार्दिक पटेलले यसरी हल्लाउँदै छन् मोदीलाई

मंसिर १९ –भारतको गुजरात राज्यमा डिसेम्बर ९ मा विधानसभाको चुनाव हुँदैछ । अहिले सत्तारुढ दल भारतीय जनता पार्टी, कांग्रेस लगायतका विभिन्न दलले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । र्‍यालीहरु निस्किएका निस्किएकै छन् ।

भारतका प्रधानमन्त्रीसमेत रहेका नरेन्द्र मोदी आफ्नो पार्टी बिजेपीलाई जिताउन विभिन्न र्‍यालीमा सहभागी भैरहनुभएको छ । तर उहाँका चुनावी सभा तथा र्‍यालीहरुमा विगतको तुलनामा मानिसहरुको सहभागिता कम भएको बताइन्छ । आफ्नो भाषण गर्ने कलाका कारण नै भिड जम्मा गर्न सक्ने नेताका रुपमा परिचित मोदीको सभामा अहिले सहभागिता घट्दै जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अर्कोतर्फ २४ वर्षीय नेता हार्दिक पटेलका भाषण सुन्न आउनेहरुको भिड भने प्रधानमन्त्री नरेन्द्र मोदीको भन्दा बढी भएको बताइन्छ ।

गुजरात राजकोटका पत्रकार कीर्तिसिंह जाला भन्छन्, ‘डिसेम्बर तीनमा राजकोटमा प्रधानमन्त्री नरेन्द्र मोदीको र्‍यालीको आयोजना गरिएको थियो । जुन गुजरातका मुख्यमन्त्री विजय रुपानीको गृहजिल्ला पनि हो । तर गएको हप्ता हार्दिक पटेलको र्‍यालीमा जति मान्छे आएका थिए त्यति मोदीको र्‍यालीमा आएका थिएनन् ।’ पत्रकार जाला दुबै र्‍यालीमा सहभागी हुनुहुन्थ्यो । उनका अनुसार ‘हार्दिकको र्‍यालीमा आउने नागरिक आफ्नै पैसा खर्च गरेर आएका हुन् । तर प्रधानमन्त्रीको र्‍यालीमा सहभागी हुन आउनेहरुलाई आउन जानका लागि खर्च दिनु परेको थियो ।’

जानकारहरुका अनुसार हार्दि पटेल मानिसहरुको जनसरोकारका विषयमा केन्द्रित हुने भएकाले पनि उनको भाषण सुन्न आउनेहरुको संख्या बढी हुन्छ ।

सुरतमा २५ किलोमिटर लामो रोड शो
हार्दिक पटेल तथा प्रधानमन्त्री नरेन्द्र मोदी दुबैको ¥यालीमा उपस्थित भएका वरिष्ठ पत्रकार दर्शन देसाई भन्छन्, ‘हार्दिक किसान तथा नागरिकका समस्या तथा बेरोजगारी जस्ता मुद्धामा केन्द्रित हुन्छन् । हार्दिकलाई ग्रामिण भेगका युवाहरुको ठूलो समर्थन पनि रहेको छ जसले खेतीबाट मुनाफा कमाउन सकेका छैनन् । जो जागिर नपाएर प्रताडित छन् उनीहरुले हार्दिकको समर्थन गरिरहेका छन् ।’

त्यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीको र्‍यालीमा मानिसहरुले चासो देखाउन छाडेको देसाईको भनाई छ । मोदीको र्‍यालीमा हुने रौनकता कम हुँदै गएको जानकारहरु बताउँछन् । आइतबार मात्रै हार्दिकले २५ किलोमिटर लामो रोड शो गरेका छन् । जसमा उनले ६ वटा विधानसभा क्षेत्रको दौडाहा गर्न भ्याए । आइतबार नै भरुचमा भएको चुनावी सभामा मोदी प्रमुख वक्तका रुपमा उपस्थित भए पनि अधिकांश कुर्सीहरु खाली भएको बताइन्छ ।

भारतीय जनता पार्टीका प्रवक्ता यमल व्यासले भने मोदीको लोकप्रियता नघटेको बीबीसी हिन्दीसँगको कुराकानीमा जनाएका छन् । उनी भन्छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदी र हार्दिक पटेलको तुलना नै हुँदैन । नरेन्द्र मोदी भारतका सबैभन्दा ठूला नेता हुनुहुन्छ । उहाँको र्‍यालीमा सहभागी संख्याबाट हामी सन्तुष्ट छौँ ।’ हार्दिक पटेल पाटिदार अनामत आन्दोलन समितिमा अध्यक्ष पनि हुन् । हार्दिक पटेललाई कांग्रेस आईले समर्थन गर्ने जनाएको छ । गुजरातमा लामो समयदेखि पटेल समुदाय विभिन्न मागसहित आन्दोलनरत छन् ।उज्यालो अनलाइनबाट

प्रकाशित मिति : २०७४ मंसिर २१,बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu