किशोर नेपालजी ! पीत बस्त्र धारण गर्ने बेला पीत पत्रकारिता?

-सरगम भट्टराई 

किशोर नेपाललाई मैले एउटा राम्रो पत्रकारको रुपमा चिन्थेँ। सेतै कपाल फूलेका तर राष्ट्रिय भावनाले ओतपोत भएका यी किशोर नाम जस्तै कुनै किशोर भन्दा कम छैनन् भनेर मैले धेरै मित्रहरु संग उनको तारिफ़ गरिरहेको हुन्थेँ।

माओवादी द्वन्दको बेला प्राय: सबै जसो जिल्लामा पुगेर किशोरजीले नेपाल टेलिभिजनमा त्यहाँको वास्तविक चित्र प्रस्तुत गरेको कार्यक्रम मैले नछुटाईकन हेर्थेँ। त्यो कार्यक्रम हेर्दा आफूलाई राम्रो पत्रकार बन्ने शौख जागिरहन्थ्यो।यस्तो मान्छे भएर देशको ऐना जनताको सामु देखाउन पाए हुन्थ्यो भन्ने मैले सोचिरहन्थेँ।

किशोरजीले पत्रकारिता शुरु गर्दा म किशोर मात्र हैन बच्चै हुनुपर्छ। उहाँको सेतो दाह्री कपाल देख्दैमा देखिएको परिपक्वतालाई आज जीवनकै उत्तरार्धमा उहाँ आफैले हताहुंग पारेको देख्दा उहाँ प्रति दया जागेर आयो। रक्सीको सहारामा ज़िन्दगी जसोतसो बिताएका एउटा सेतै फूलेर पीत बस्त्र धारण गर्ने बेला यो हद सम्मको पीत पत्रकारिता गर्न दिने उहाँको ब्रम्ह पनि त्यो दिन सायद रक्सीले टिल्ल हुनुपर्छ।

उहाँ नेपाली कांग्रेसका उमेदवार प्रकाशमान सिंहको प्रचार मण्डलीमा नियुक्त हुनु भएको समाचार सुनेँ। पेशाले पत्रकार भएर कुनै दल बिशेषको उमेदवारको भक्तिगान गाउन वहाँ सम्मिलित हुँदा पनि मलाई गुनासो थिएन। अझ वहाँ त ओत फेरिरहने मान्छे नै हो। न्यायाधीश र राजदूत त दलका कोटामा बन्ने देशमा एउटा पत्रकार एउटा नाथे प्रचार समितिमा बस्दैमा तिललाई पहाड़ बनाउनु पर्ने कुरा थिएन। मैले पनि बनाईन।

वहाँका लेखहरु औसतमा राम्रै लाग्थे, देखे भेटे सम्म पढिरहन्थेँ। सायद एक महिना अघि हुनुपर्छ वहाँले अमेरिकाका नेपालीहरुलाई ब्यंग गर्दै स्टोरमा काम गरेर नेपालको राजनीतिबारे लेख्छन् भनेर लेख्नु भएको कुरालाई पनि नज़रअन्दाज़ गरेँ किनकी मलाई लाग्यो: अमेरिकामा वहाँको भेट त्यस्तै मान्छे संग मात्र भयो होला। तर उनीहरुकै निगाहले दिएको खाएर उनीहरुकै खेदो खन्ने बारे रे कुरा गरौँ र ? तर पनि कामको सम्मान गर्नुपर्छ भन्ने अमेरिकी मान्यताको सायद वहाँलाई हेक्का नै रहेन।

मैले यो लेख लेख्नुको खास कारण चाहिँ वहाँको रवीन्द्र मिश्रको बारेमा लेखेको पछिल्लो लेख प्रतिको तीब्र असहमति हो। निर्वाचन आचार संहिता बिपरित कुनै उमेदवारको नाम नै तोकेर अत्यन्त निराधार आरोप लगाईँरहँदा वहाँले यति बेला सम्म गरेको पत्रकारिताको ईतिहाँसलाई समेत नकारात्मकताको बिल्ला भिराईदिएको सर्वत्र चर्चा चल्दै गर्दा वहाँले आफ्नो संयम पनि थप गुमाउनु भएछ। अल्टरनेटिभ फ़र नेपाल भन्ने लोकप्रिय पेजमा उहाँले गरेको टिप्पणी देख्दा यो स्पष्ट हुन्छ।


रवीन्द्र मिश्र देवता होईनन्, यिनले दुधले नुहाएका छैनन् तर यिनले जुन प्रतिज्ञा लिएका छन् त्यसलाई गलत मान्नु पर्ने कारण के देखे किशोर नेपालले? के किशोर नेपाल पत्रकारिताको आडमा अहिले सम्म टेस्टेड र जनताका अनवाण्डेडहरुको ग़ुलामी गर्न खटिएका पेड पत्रकार हुन्? के भ्रष्टाचारको बिरोध गरी सदाचारको वकालत गर्ने रवीन्द्र मिश्र किशोरजीले पिठ्युमा बोकेका खुम बहादुर र गोविन्दराजहरु भन्दा भ्रष्ट हुन्? कसैको ब्यक्तिगत चरित्रहत्या त्यो पनि तथाकथित बरिष्ठ पत्रकारले बिना प्रमाण दिनु कति सम्म निकृष्टताको पराकाष्ठा हो? वेलायत जस्तो न्याय क्षेत्रमा शून्य सहनशीलता भएको देशमा रवीन्द्रले अपराध गरेर पहिलो कुरा उम्कनै नपाउने र उम्के पनि उल्टो बि.बि.सी. नेपाली सेवाकै प्रमूख बनाएर पठाउँछ? किशोर नेपाल जस्ता स्थापित पत्रकार यति सम्म गिरेर लेख्दा आज समस्त पत्रकारिताको क्षेत्र प्रति शंकाको दृष्टिले हेरिएको छ।

किशोर नेपालमा आफूमा टेलिभिजनमा कार्यक्रम चलाएको घमण्ड होला, पत्रपत्रिकामा लेख लेखेको घमण्ड होला, कुनै बिषयबस्तु अध्ययनको घमण्ड होला। उनलाई लाग्दो हो: नाथे एउटा रेडियोमा समाचार भन्ने रवीन्द्र मिश्रको यत्रो प्रचार छ तर मैले जति मेहनत गर्दा पनि भूईफूट्टा नै भएर बस्नु परेको छ भन्ने हीनताबोध होला तर कसैको बिरुद्द यस्ता अनर्गल आरोप लगाएर आफ्नो उचाई बढ्दैन बरु घट्छ भन्ने सामान्य चेत पनि किन नखुलेको होला? रवीन्द्रको र किशोर नेपालको तुलना नै हुन सक्दैन किनकी रवीन्द्र के हुन् भन्ने कुरा दिउसोको घाम जस्तै छर्लंग छ। रवीन्द्र उनी जस्तो रक्सीमा रल्लिएर लेख्ने मान्छे हैनन् भन्ने कुरा सबै न्याँयप्रेमी जनतालाई थाहा छ।

किशोरजीले जीवनको उत्तरार्धमा सम्मानपूर्ण रिटायर्ड जीवन बिताउने बेलामा बिगतमा एक अर्काको लागि प्रेरणा बनेका सहकर्मीको बदख्वाईँ गर्दा सायद होशमा थिएनन् होला। उनको यो बेहोशीले उनलाई एउटा ईमान बेचेको पत्रकारको रुपमा स्थापित गर्यो जुन् पत्रकारिताको ईतिहाँसमा बेईमानको धब्बा लागेको दिनको रुपमा लेखिने छ। आजका मिति देखि किशोर नेपाल जस्ता पत्रकार मेरो आदर्श हैन देशको परिवर्तनको बाधक बनेको आभास मलाई भएको छ। आर्यघाट जाने बेलामा मेरो शत्रुले पनि यस्तो नगरोस्…

(लेखकका निजि विचारहरु हुन् )

प्रकाशित मिति : २०७४ मंसिर २१,बिहिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu