चीनका राष्ट्रपति सीका दोस्रो कृति पनि नेपालीमा अनुवाद हुदै

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका महासचिव तथा चीनका राष्ट्रपति सी चिन फिङका विचारहरुको सँगालोको दोस्रो भाग ‘सी चिन फिङ : चीनको शासन व्यवस्था’ भाग दुई नेपाली भाषामा अनुवाद हुने भएको छ ।

चिनियाँ र अंग्रेजी भाषामा प्रकाशन भइसकेको यो कृतिलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन गर्नका लागि नेपालको चीन अध्ययन केन्द्रलाई जिम्मा दिइएको छ ।

सो पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशनका लागि चीन अध्ययन केन्द्रका कार्यबाहक अध्यक्ष सुन्दरनाथ भट्टराईले हस्ताक्षर गरेका छन् ।

चीनको विदेशी भाषा प्रकाशन एजेन्सीले चिनियाँ र अंग्रेजी भाषामा यो पुस्तकलाई प्रकाशन गरेको छ । सोमबार बेइजिङमा आयोजित समारोहमा विभिन्न १६ देशका प्रतिनिधिसँग सम्बन्धित भाषामा यो पुस्तकलाई अनुवाद गर्ने सम्झौता भएको हो ।

यस अगाडिको ‘सी चिन फिङ : चीनको शासन व्यवस्था’ को पहिलो भाग पनि चीन अध्ययन केन्द्रले नै अनुवाद गरेर प्रकाशन गरेको थियो ।

सो पुस्तकलाई विभिन्न भाषामा अनुवाद गर्नका लागि आयोजित हस्ताक्षर समारोह बेइजिङस्थित त्याउथाई स्टेट गेष्ट हाउसमा सोमबार बिहान आयोजना गरियो । सो समारोहमा चिनियाँ कम्युनिष्ट पार्टीका पोलेटब्युरो सदस्य तथा प्रोपोगाण्डा विभागका प्रमुख हुवाङ खुन्मिङ उपस्थित थिए । उनले चिनियाँ नेता सीका विचारलाई विश्वका सबै जनताले थाहा पाउन् भन्नका लागि यो पुस्तकलाई विभिन्न भाषामा अनुवाद गर्न लागिएको बताए ।

चीन अध्ययन केन्द्रले तङ स्यावो फिङकी छोरी तङ रोङद्वारा लिखित ‘मेरा बा’ पुस्तकलाई पनि नेपाली भाषामा अनुवाद गरेर प्रकाशन गरेको छ । तङ स्यावो फिङ चीनलाई खुला र सुधार थालनी गर्ने महान् नेता मानिन्छन् ।

‘सी चिन फिङ : चीनको शासन व्यवस्था’ को दोस्रो भागमा सन् २०१४ को अगष्ट १८ देखि सन् २०१७ को सेप्टेम्बर २९ तारिखसम्मको अवधिमा सीले गरेका सम्बोधन, मन्तव्य, निर्देशन र शुभकामना सन्देशहरु समावेश गरिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनदेखि सत्ता र शक्तिमा आएका सीले सीपीसी र चिनियाँ जनतालाई नेतृत्व गरेर ऐतिहासिक उपलब्धि प्राप्त भएको चिनियाँ संचारजगतले उल्लेख गरेका छन् । चिनियाँ विशेषतायुक्त समाजवादसँगै चीन नयाँ युगमा प्रवेश उनीहरुले विश्लेषण गरेका छन् । यो पुस्तकको पहिलो भाग अहिलेसम्म दुई दर्जनभन्दा बढी भाषामा अनुवाद भएर एक करोडभन्दा बढीप्रति प्रकाशन भइसकेको छ ।

सीले विभिन्न अवसरमा सन् २०१२ को नोभेम्बरदेखि सन् २०१४ को जुनसम्म दिएका ७९ वटा मन्तव्यहरु ‘सी चिन फिङ : चीनको शासन व्यवस्था’ को पहिलो भागमा संकलन गरिएका छन् ।

पहिलो भागलाई नेपाली पाठकले राम्रो मूल्याङ्कन गरेको र नेपालीहरुलाई छिमेकी मुलुक चिनियाँ नीतिका बारेमा जानकारी दिने सबैभन्दा महत्वपूर्ण सामग्री सावित भएको चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष भट्टराईले  बताए ।

कान्तिपुरबाट

प्रकाशित मिति २०७४ मङ्सिर २१ , बिहिबार

 

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu