इमान्दार,सकृय र निष्ठावान व्यक्तित्व लालबाबु पण्डित गृहमन्त्री हुन योग्य छन्

-राम ढुंगाना 

यतिबेला नेपाली राजनितीमा अत्यन्तै चर्चित र प्रिय नेता लालबाबु पण्डित हुन् भन्दा अतिशयोक्ति नहोला !

२०७१ सालमा सामान्य प्रसाशन मन्त्री भएपछि नेपाली राजनितीमा पण्डित अत्याधिक चर्चामा आए र उनको बारेमा सारा नेपालीहरुले जान्ने बुझ्ने मौका पाए।पहिलो पटक मन्त्री भएका उनले नेपाल सरकारका कर्मचारीहरु कसैले पनि विदेशको डिभी-पिआर (स्थायी- अस्थायी बसोबास) लिन नपाउने कानुन बनाए साथैं सामान्य प्रसाशन मन्त्रायलमा अन्य  बिभिन्न सुधारका कामहरु गरे।

मन्त्री भएदेखी नै पण्डितले सरकारी सेवाका कर्मचारीले डिभी- पिआर लिन नपाउने मुद्धा चर्को रुपमा उठाएका थिए। त्यस क्रममा उनलाई मन्त्रिपरिषदको बैठकमै र बाहिरबाट विभिन्न शक्ति केन्द्रले पनि डिभी- पिआरको मुद्धा नउठाउन थेग्न नसकिने दबाब दिएको  पण्डित आफैले सार्वजानिक गरेका थिए।

देशको हितमा काम गर्दा जोसुकैबाट- जस्तोसुकै दबाब र धम्की आओस् त्यसको सामना गरेरै छोड्ने तर देश र जनताको हितको सवालमा आफू आफ्नो अडानबाट एक इन्छ पनि पछाडी नहट्ने लालबाबु बताउँछन्।

प्रतिनिधी सभाको निर्वाचनमा मोरंग क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई हराएपछि पण्डित यतिबेला फेरी चर्चामा छन्। अहंकार नबोकेका सरल र सबैसँग सजिलै घुलमिल हुन सक्ने,निष्ठावान व्यक्तित्व र इमान्दार राजनीतिज्ञको रुपमा ख्याति कमाएका र भ्रष्टचारलाई घृणा गर्ने,जातिय र क्षेत्रीय होइन समग्र देश र जनताको लागी राजनीति गर्ने भएकाले पण्डितले निर्वाचन जिते।

निष्ठावान राजनीति गर्नेहरुका लागी प्रेरक,उदाहरणीय र विवादरहित राजनितीज्ञको रुपमा परिचित छन् लालबाबु पण्डित।

केहि स्थान बाहेक निर्वाचनको लगभग सबै परिणाम आइसकेको छ,त्यसैले यतिबेला सबैको ध्यान कस्ता मन्त्रीहरु सरकारमा आउने हुन् र कसले कुन मन्त्रालय सम्हाल्ने हुन् भन्नेमा छ।

२०४६ सालपछि मन्त्री भएकाहरु औलामा गन्न सकिने बाहेक अरु सबै विवादीत नै रहे। हरेक पटक उनीहरुको नाम भ्रष्टचार, मनोमानी र नियम- कानुन भन्दा बाहिर रहेर आफ्नो स्वार्थको लागी काम गरेकोमा मुछिरह्यो।थुप्रै नेताहरु पटक- पटक मन्त्री बने तर एक पटक पनि निष्कलंक भने बन्न सकेनन्। भ्रष्टाचार र गलत क्रियाकलाप उनीहरुको छाँया बनेर जहाँपनि सँगसंगै हिडिरह्यो।

अब बन्ने सरकारले विकास,सुशासन,स्थिरता र समृद्दिमा ध्यान देओस् र भ्रष्टचार देशबाटै निर्मुल होस् भन्ने जनचाहना छ। त्यसको लागी सरकारमा जाने नेताहरु असल,देशप्रेमी र जनचाहना अनुरुप काम गर्ने हुनपर्यो।

त्यसैले लालबाबु पण्डितलाई धेरैले यसपटक मन्त्रीको रुपमा हेर्न चाहेका छन्।

केहिदिन अघि नागरिकन्युज सँग कुराकानी गर्दै पण्डितले आफूले गृहमन्त्रीको जिम्मेवारी पाए ६ महिनामा ५० प्रतिशत अपराध घटाइदिने दाबी गरे।

लालबाबु पण्डितले बोलेका कुराहरु अरु नेताहरुले बोले झैँ हावादारी हुँदैनन्। उनको दाबी पत्याउने आधार पनि छ-उनले सामान्य प्रसाशन मन्त्री हुँदा जुन काम गरे त्यसको आधारमा पण्डितले गृहमन्त्रीको जिम्मेवारी पाए काम गरेरै देखाइदिन्छु भनेर गरेका दाबीलाई शंकाको नजरले हेर्न पर्दैन।

अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गर्ने लगभग निश्चित नै भईसकेको अवस्था छ।ओलीले विकाश,सुशासन र समृद्धिको मुद्धा शसक्त रुपमा उठाएका छन्।
त्यसैले ओलीको नेतृत्वमा सरकार बनेमा उनलाई सफल बनाउन पनि पण्डितलाई गृहमन्त्री बनाउदा राम्रो हुन्छ।पण्डितमा गज्जबको निर्णय गर्न सक्ने क्षमता छ।उनी हरेक कुरामा आफैं सक्रिय हुने गरेका छन्। शान-मानको भोका छैनन्,गृहमन्त्रालय अन्तर्गत पर्ने सरकारको महत्वपूर्ण सुरक्षा अंग सशस्त्र र जनपद प्रहरीमा पण्डितले जथाभावी हस्तक्षेप गर्दैनन्। आर्थिक चलखेलमा लागेर सरुवा बढुवामा पक्षपाती काम गर्दैनन्। यी दुई सुरक्षा निकाय मात्रै चुस्त र दुरुस्त राख्न सकेमा देशको थुप्रै समस्याहरु समाधान हुने,राजस्व चुहावट नियन्त्रण,शान्ति सुरक्षा र भ्रष्टचार नियन्त्रण लगायतका थुप्रै कुरामा सकारात्मक असर पर्छ र त्यसको प्रत्यक्ष लाभ तल्लो स्तरका जनताले पाउनेछन्।

गृह धेरै भ्रष्टचार हुने मन्त्रालयको रुपमा पनि बद्नाम छ। अपवाद बाहेक यसअघिका सबैजसो गृहमन्त्रीहरु कुनै न कुनै बिबादास्पद काण्डमा मुछिएका र प्रहरी संगठन भित्र अनावश्यक राजनीति गर्ने र आर्थिक चलखेलमा मात्रै ध्यान दिने गरेका भनेर आरोप लाग्ने गरेको छ पण्डितले गृहमन्त्रालय सम्हाल्ने मौका पाएमा बेथिति र भ्रष्टचारको दाग लाग्न दिने छैनन्,यति कुरा ढुक्क सँग विश्वास गर्न सकिन्छ।

प्रहरी संगठनमा सरुवा,बढुवाको लागी ठूलो आर्थिक चलखेल हुने, त्यस्तै गृह मन्त्रालय मातहतमा रहेका अन्य महत्वपूर्ण निकायहरुमा पनि पैसा,पावर र पहुँच प्रयोग गरेर जाने हँदा यसले प्रत्यक्ष रुपमा देशलाई ठूलो घाटा पुराइरहेको छ।सादा जिवन बिताउने,,पैसा र प्रतिष्ठालाई महत्व नदिने पण्डित जस्ता त्यागी र इमान्दार नेता गृहमा पठाउँदा उनको कामबाट पक्कै पनि जनताहरु निराश हुने छैनन्। जनताले सुशासन, शान्ति,सुरक्षा लगायतका कुरामा राहत पाउनेछन् भन्नेमा विश्वस्त हुन सकिन्छ।

ओलीले यदि भित्री मनदेखि नै नेपाली जनताको मुहारमा खुशी देख्न खोजेका हुन् र एउटा सफल देश  बनाउने उनको दृढ अठोट छ भने पण्डितलाई आँखा चिम्लेर गृहमन्त्री बनाए फरक पर्दैन तर  उनलाई स्वतन्त्र रुपमा काम गर्न भने दिनपर्छ।

प्रकाशित मिति : २०७४ मंसिर २६,मंगलबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu