राजतन्त्र मास्दा घाटा कसलाई भो ?

-जनकमान डंगोल
२०३६ सालमा नेपालमा निर्दलीय पंचायती ब्यबस्था कि बहुदलीय प्रजातन्त्र भनेर रोज्ने भनेर जनमत संग्रह गराईयो । आधिकारिरुपले पंचायती ब्यबस्था बिजयी भएको घोषणा गरियो । नेपाली कांग्रेसको संस्थापक नेता स्व.बि.पी कोईरालाले जनताको मत भन्दा ठुलो अरु केहि हुन्न भन्दै पराजयलाई स्विकार्नु भयो र नेपालमा दोश्रो पटक प्रजातन्त्रको स्थापना हुन सकेन ।

२०३६ सालको जनमत संग्रह गराउने जिम्मा तत्कालिन प्रधानमन्त्री स्व.सुर्य बहादुर थापाको जिम्मामा थियो । स्व.थापा पनि नेपाली कांग्रेसका उत्पादन हुनुहुन्थ्यो । चाहेको भए मातृ पार्टीको मागलाई पुरा गर्ने ह्याउ राख्ने स्व. थापाले बहुदल नरोजेर किन निरंकुस भनिएको पंचायती ब्यबस्थानै रोजे त्यो समय बुझ्न नसकिने कुरा थियो ।

२०३६ सालको जनमत संग्रहले चम्केका स्व. थापालाई टक्कर दिन सुदुर पश्चिमबाट लोकेन्द्र बहादुर चन्दको उदय भयो । झट्ट हेर्दा नेपालमा भन्ने गरिएको एकदलीय निरंकुस पंचायती शासन ब्यबस्था भए पनि जनताले जिताएका पंचायती माननीयहरु स्व.थापा र चन्द गुट गरेर दुई खेमामा बाडिएको थियो र नेपालको राजनीतिमा गुटबन्दी को जन्म पनि २०३६ साल पछी नै हो भनेर भन्न सकिन्छ ।
जनताले बहुदललाई नभएर निर्दलीय शासन ब्यबस्थालाई मत दिएको हो भनेर संस्थापक नेताले स्वीकारे पछी पनि नेपाली कांग्रेसले बिभिन्न किसिमको आन्दोलन गर्न भने छाडेको थिएन । यदि जनमतको कदर गर्थे भने १० बर्ष नपुग्दै बामपन्थी संग मिलेर देसमा आन्दोलनको आगो सल्काउदैन थिए । बामपन्थी संगको घांटी जोड़ाई कति सम्मको अफापकारी हुने रैछ अहिले आएर कांग्रेसी नेताहरुले पक्कै पनि बुझेको हुनु पर्दछ ।

पंचायती शासनमा नै दुई खेमा भएको थापा र चन्द गुटले २०४६ साल पछी रास्ट्रिय प्रजातन्त्र पार्टी नाम राखेर नाम एकै तर कोस्ट भित्र थापा र चन्द चुनाव चिन्ह गाई र हलोको स्थापना गरे । दुई अलग पार्टीले बहुदलीय राजनीतिमा पकड जमाउन नसके पछी एकीकरण गरे । नतिजा छि भन्ने खालको थिएन । प्रजातन्त्र स्थापना भएको ५ बर्ष नपुग्दै दुवै महापन्च अर्थात् पंचायतकालका हस्ती तथा पुर्व प्रधानमन्त्रिहरु स्व.सुर्य बहादुर थापा देखि लोकेन्द्र बहादुर चन्दले प्रधानमन्त्रिको कुर्चिमा बस्ने मौका जुर्नु भनेको एकताको नै बल हो भन्ने सन्देस थियो भने कांग्रेस पार्टी फुट्दा घाटा कसलाई हुने रैछ भन्ने आर्को उदाहरण पनि थियो ।

२०६४ सालको कथित जन-आन्दोलन पछी नेपालमा राजतन्त्रको अन्त्य भएको घोषणा गरियो । बामपन्थी संग कुम जोडेर नेपाली कांग्रेसको नेता स्व.गिरिजा प्रसाद कोईराला र तिनका प्यादाहरुले गरेको यो दुत्सित कार्यले सिंगो पार्टी एकदिन धरासायी हुन्छ भन्ने सोचेनन । संस्थापक नेताहरु स्व.बि.पी., गणेशमान, भटराई देखि महेन्द्र नारायण निधिहरु आज बाचिरहेका भए यो दुर्दिन देख्नु पर्दैन थियो । कम्युनिस्ट भनेको गणतन्त्रको ठेकेदार हो र नेपालमा कम्युनिस्ट शासन हुनुहुन्न भनेर स्व.बि.पी ले पटक पटक भन्नु भएको पनि हो र नेपालमा राजा सहितको प्रजातन्त्र चाहिन्छ भन्ने आफ्नै दाज्युको भनाईलाई हठी नेता स्व.गिरिजाले कुल्चेर बामपन्थी संगको लगनगाँठो जोड्दा आजको दिनमा नेपाली कांग्रेसको स्थिति रा.प्र.पा पार्टीको हैसियतमा पुगेको छ ।

नेपालको राजनीतिमा स्व.सुर्य बहादुर थापाले आफु बाचुन्जेल सकुनिको भूमिका निर्वाह गरे । बडो दुखले एकीकरण भएको पार्टीमा अभिभावकको भूमिका लिनु छाडेर छुट्टै जनशक्ति पार्टीको स्थापना गरेर अरुलाई पनि पार्टीमा बिद्रोह गर्न सिकाए । नतिजा एक भएको पार्टी तिन हुन पुग्यो । सिगो पार्टी थापा, चन्द, राणा खेमा हुँदै पछी लोहनी देखि लावती खेमामा बाडिन पुग्यो ।

अहिलेको चुनावमा रा.प्र.पा को दुर्गति हुनुमा अन्य कोहि नभएर पशुपति राणा देखि प्रकास चन्द्र लोहनिहरु जिम्मेवार छन । को कसको ईसारामा २०७३ साउनमा एकीकरण भएको पार्टीलाई पुन: कम्युनिस्ट पार्टी जस्तो टुक्रा टुक्रा बनाउन तम्सिए तिनै पार्टी फोडूवाहरु जानून तर पार्टी फुट्दा त्यसको नतिजा कस्तो हुने रैछ आज राणा देखि लोहनीहरुले पक्कै पनि बुझेको हुनु पर्दछ ।

बामपन्थीहरु आंधी जस्तो आउछन र तुफान मच्चायेर जान्छन । संसारमा देखिएको यहि नै हो । नेपालमा बामपन्थी छैनन भनेर पनि भन्ने गरिएको छ तर आर्काको ट्रेडमार्क बोकेर राजनीति गर्न लाज मान्दैनन । हँसिया हथौडा चिन्ह देखि मार्क्स, लेनिन हुँदै माओ नेपाली पहिचान पनि हैन । बिदेसी बाद र संस्कृति अंगाल्दा भोलि नेपाल र नेपाली रहन्छ कि रहदैन भनेर सोच्नु पर्ने बेला आएको छ ।

पश्चिमाहरू धुर्त छन । उचाल्न र पछार्नमा पनि माहिर छन । जाति देखि धर्मको नाउँमा जनता लडाउन खप्पिस छन । २०४६ साल पछी नेपालको मौलिक संस्कृति मास्न र ईसाई धर्म फैलाउन कुन कुन पार्टीलाई हातमा लिए र त्यसको नतिजाले देस आज कुन स्थितिमा पुगेको छ भन्ने दिब्यज्ञान कांग्रेस देखि पुर्व पन्चहरुले पाएका छन भने भोलिका दिनमा फुटेर हैन जुटेर अगाडी बढ्नु पर्छ भने त्यसको लागी अब खुल्ला मैदानमा युवाहरुलाई उतारेर बृद्ध नेताहरुले अभिभावकको भूमिका निभाउन सक्नु पर्छ । यदि त्यसो नगरेर स्व.गिरिजा देखि सुसिल कोईरालाले जस्तो गरि बाचुन्जेल पद ओगटेर बस्ने गल्ति गर्छन भने भने नेपालबाट कांग्रेस देखि रा.प्र.पा को राजनीति एकादेसको कथामा नरहला भनेर भन्न सकिदैन ।
प्रकाशित मिति: २०७४/०८/२७ गते

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu