कविता – युगको अन्तिम रात

 

मीनकुमार नवोदित

 

अस्ताउनु अघि डाँडामा टुक्रुक्क बसेर
अन्तिम पटक विदाइको हात
हल्लाउनेछ घामले
उड्नु अघि एकैठाउँ भेला भएर
गाउनेछन् चराहरूले दुःख–सुखका गीत
पग्लनु अघि हिउँको शिरमा
बल्नेछ समयको अन्तिम आगो ।

जीवनको पल्लो छेउ पुग्न
हतार हुने छैन बतासलाई
सबै थकाई बिर्सिएर
चौतारीमा निस्केर सुस्ताउनेछ नदी
मन्दिरका ताला तोडेर
सडकमा निस्कनेछन् देउताहरू ।

युगको अन्तिम रातमा–
मौन रहनेछन् केटाकेटीहरू
बन्द हुनेछ वृद्धवृद्धाको खोकी
अनि, रोकिनेछ भ्याउँकिरीका आवाज ।

रोगले ग्रस्त पृथ्वीलाई
छिचिमिराझैं भेला भएर मान्छेले
काखमा राखेर हल्लाउनेछन्
अन्तरीक्षको भ¥याङबाट ओर्लेर
ताराहरूले सुम्सुम्याउनेछन्
र, हतासिंदै
अन्तिम पटक चुम्बन गर्नेछ जूनले
पृथ्वीको मृत्यु हुनु अगावै
आत्महत्या गरिसकेको हुनेछ विज्ञानले ।

छोपेर अवसानको पर्दाले पृथ्वीलाई
काँधमा बोकेर
मलामी जानेछन् मान्छेहरू अन्त्येष्टिमा
र, त्यही रातदेखि हुनेछ खोजी
मान्छेविहीन अर्को पृथ्वीको ।

– बिराटनगर

प्रकाशित मिति २०७४ पुष १४ शुक्रवार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu