बीचमै काम छाडेर आए फेरि कोरिया जान नपाइने

दक्षिण कोरियामा जाने नेपाली कामदारका लागि नयाँ नियम लागू भएको छ । दोस्रोपटक वर्किङ भिसाको अवधि पुरा नगरी बीचैमा काम छाडेर फर्किने कामदारलाई तेस्रोपटक कोरिया जान नदिने नियम कोरिया सरकारले ल्याएको हो ।यसले आफ्नो कार्यकाल पुरा नगरी वर्क पर्मिट क्यान्सिल गरेर आउने कामदार मर्कामा पर्नेछन् । कामदारले बीचमै कोरिया छाडेर आउने क्रम बढेपछि कोरियन सरकारले यस्तो निर्णय गरेको हो । दोस्रो कार्यकाल पुरा नगरी फर्किने कामदारले फेरि जान नपाउने ईपीएस कोरिया शाखाका अधिकृत शोभाकर परजुलीले अनलाइनखबरलाई जानकारी दिए । ‘अब सीभीटी परीक्षा दिएर कोरिया गएकाले बीचमै भिसा क्यान्सिल गरेर आएमा फेरि भाषा परीक्षा दिन पाउँदैनन्,’ उनले भने, ‘विदामा आउनेको हकमा यो नियम छैन । तर, जागिर नै छाडेर फर्किनेलाई कोरियाले अर्को मौका दिँदैनन ।’

कोरियामा पहिलो पटक भाषा परीक्षा पास गरेर गएकाले ४ वर्ष १० महिना काम गर्न पाउँछन् । दास्रोपटक कम्प्युटरमा आधारित भाषा परीक्षा दिएर अर्को ४ वर्ष १० महिनाको लागि जान पाइन्छ । तर, दोस्रोपटक जानेहरु बीचमै विभिन्न कारण देखाउँदै काम छाडेर फर्किने र फेरि भाषा परीक्षा दिएर कोरिया फर्किने गरेको पाइएपछि रोक लगाइएको बुझिएको छ ।

‘कामदार लैजाँदा कम्पनीले त्यहाँको सरकारलाई शुल्क पनि बुझाएको हुन्छ । बीचमै कामदारले छोडेर स्वदेश फर्किँदा कम्पनीमा जनशक्ती अभावले असरहरु देखिन्छ,’ पराजुली भन्छन्, ‘उसले तत्कालै कामदार पनि लिन सक्दैन । त्यसैले कोरियाले बीचमै काम छाडेर फर्किने क्रम रोक्न यस्तो नियम ल्याएको हुनसक्छ ।’

अहिले सम्म ईपीएस भाषा परीक्षा दिएर ५० हजारभन्दा बढी नेपाली त्यहाँ पुगेका छन् ।

प्रकाशित मिति : २०७४ पुष २२, शनिबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu