कविता : चारूमतीको कथा

-मणि भट्टराई 

चारूमती थियो उसको नाम
सबैले ‘फूलमाया’ ‘फूलमाया’ भन्न थालेपछि
के लाग्थ्यो र ऊ एक्लैको !
एकाएक चारूमती हराई -गाऊँबाट
र फूलमाया देखापरी ।

फूलमाया साँच्चिकै फूल जस्तै थिई
सुन्दर, निश्चल, कोमल,
आकर्षक !
तर निरिह
तै पनि,
फूलमाया
फूलमाया हुनुको अर्थमा
फूल जस्तै मुस्कुराई रहन्थी !

फूलमाया,
जाडोमा पनि फुली
गर्मीमा पनि फुली
दिनमा पनि फुली
रातमा पनि फुली
फूलमायाले सोची -‘फुल्नु बाँच्नुको धर्म हो’
र त्यसरी नै बाँचिरही ।

फूलमायालाई
जस्ले जतिखेर पनि छुन सक्थ्यो
टिप्न सक्थ्यो
फूलमायाका पत्रपत्रमा दगुरेर
जस्ले जतिखेर पनि
दौडमा विजय भएको महसुस गर्नसक्थ्यो ।

फूल जस्तै कोमल फूलमायालाई
‘फूलमाया’ हुनुमा कुनै अफसोस लागेन
तर
जुनसुकै बेला
जोसुकैबाट
जतिसुकै बेला लुटिनु पर्दा भने
फूलमाया बेला बेला काँडाको सपना देख्थी !

त्यसो त
गाऊँमा बारूदहरू पड्किंदा
वमहरू विस्फोट हुँदा
गोलीहरू नजिकै भएर जाँदा
फूलमायाले पनि मुक्तिको सपना देखेकी हो
फूलमायाले पनि त्यही धुवाँभित्र
स्वतन्त्रताको गीत गाएकी हो
अरूहरू जस्तै
फूलमाया पनि रातारात भागेर
युद्दमा होमिएकी हो ।
**
युद्द सकियो –
युद्दमा फूलमायाले
फूलका डालीहरू जस्ता हातहरू गुमाएर फर्की
यसपटक
कसैले फूलमायालाई ‘फूलमाया’ भनेनन्
बरू ‘चारूमती’ भनेर बोलाए
लाग्यो-
फूलमाया उतै युद्दमा मरी
र सट्टामा-
एकाएक विकलांग भएर देखापरी
हराएकी चारूमती ।

त्यसो त
युद्द सकिनुसँगै चारूमती
विजयको जुलुससँगै सहर पसी
उसले जुलुसको भीडमा
आफ्ना सपनाहरूको प्रतिच्छाया देखिरही
धेरै पछिसम्म पनि चारूमतीलाई
आफू यो युगको
‘एक योद्धा हुँ’ जस्तो लागिरह्यो
‘एक लडाकू हुँ’ जस्तो लागिरह्यो
न्याय र स्वतन्त्रताको निम्ति बलेको
‘क्रान्तीको एक राँको हुँ’ जस्तो भइरह्यो ।

एकसाँझ चारूमती धेरै बेर रोइरही
उसलाई –
घरी युद्दमा होमिएकोमा पश्चाताप भयो
घरी ‘बरू त युद्दमै मरेको भए हुने’… -भइरह्यो
घरी ऊ
आफू पून: ‘चारूमती’ भएकोमा
रूँदै हाँस्दै -हाँस्दै रूँदै गरिरही
तै पनि –
जब जब ऊ भोको पेट लिएर सडकमा निस्कन्छे
उसलाई फूलमायाको न्यास्रो लागेर आउँछ ।

उसले भर्खर यो बुझेकी छ कि –
उसले जंगलबाट पड्काएका बन्दुकहरूले
उसले बाटामा थापेका एम्बुसहरूले
भत्कनु त के
अलिकति पनि चर्किएका रहेनछन्
यो देशका
कन्क्रिट जस्ता असमानताका पर्खालहरू !

हात पसार्नको निम्ति चारूमतिसँग उसका हातै छैनन्
युद्दले उसलाई दिएको स्वाभिमान भनेको यत्ति हो
उपहार भनौ कि कृपा – बस् यत्ति हो
यो देश पुरै बुझेकी चारूमती
बौलाही जस्तो भएर सडकका रेलिंगहरूमा
उही फूलमायाको थोत्रो छाति बोकेर अडेस लागेकी छ
कृपया !
युद्दमा नमरेर
अझै कोही सग्लो क्रान्तिकारी बँचेको छ भने
हाँकाहाँकी आउन नसके
भूमिगत नै भएर आओस्
र यो मध्येरातको चिसोमा
यो सडकबाट उठाएर लैजाओस्
यो चारूमतीलाई ।

प्रकाशित मिति : २०७४ पुष २३,आइतबार

सम्पर्क

© 2017 पाना सम्बाद मिडिया प्रा. लि.

Designed by appharu